नेपाल सरकारले दन्त चिकित्सा क्षेत्रलाई अझै प्राथमिकताका साथ हेरेको छैन

हेल्थपोस्ट नेपाल
डा. बुद्धिमान श्रेष्ठ

सन् २००७ देखि नेपालमा नै उच्चस्तरीय दन्त शिक्षा तथा दन्त सेवा प्रदान गर्ने अभिप्रायले स्थापना गरिएको यस कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले पछिल्लो समय करिब ५०० भन्दा बढी कोरोनाका बिरामीको सफल उपचार गरेको छ।

नेपालमा दन्त शिक्षालाई प्राय नेपालीहरुले खासै चासो नदिइरहेको अवस्थामा विगत १४ वर्षदेखि संस्थाले करिब ४०० दन्त चिकित्सकहरु उत्पादन गरिसकेको छ। दन्त शिक्षालगायत अन्य विषयमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका एक संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठसँग  गरिएकाे कुराकानी :

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको १४ वर्षे यात्रालाई कसरी सम्झिनुहुन्छ?

म १४ वर्षदेखि कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको एक संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशकको रुपमा रहँदै आएको छु। यसको स्थापना हुनुपूर्व हामीले कान्तिपुर स्कुल अफ डेन्टिस्ट्रीलाई सम्झनुपर्ने हुन्छ। सन् १९९७ मा चक्रपथको कपनमार्गमा कान्तिपुर स्कुल अफ डेन्टिस्ट्रीको स्थापना भएको थियो। यसै समयमा कान्तिपुर डेन्टल हस्पिटल प्रा.लि. भनेर पनि सुरु भएको थियो।

यसको करिब १० वर्ष पश्चात आफ्नै भवनमा काठमाडौं विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी नेपाल मेडिकल काउन्सिल तथा नेपाल सरकारको स्वीकृतिमा ब्याचलर अफ डेन्टल सर्जरी भन्ने विधामा पठनपाठन गराउन सुरु गर्‍यौं। यसै समयदेखि नै यस संस्थाको नाम कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर राखियो।

दन्त क्षेत्रकै अवस्था १४ वर्षअघिसम्म कस्तो थियो र अहिले कस्तो छ?

वि.सं. २०५४ तिरको समयलाई हेर्ने हो भने काठमाडौं उपत्यकामा करिब ७० जना मात्र दन्त चिकित्सकहरु थिए। तर, हालको समयलाई नियालेर हेर्दा करिब ३५–३६ सय दन्त चिकित्सक तथा विशेषज्ञ छन्। यसबाट पनि के अनुमान लगाउन सकिन्छ भने, नेपालमा धेरै भन्दा धेरै मानिसले दाँत तथा मुख सम्बन्धी शिक्षालाई सकारात्मक

तरिकाले हेर्न थाल्नु भएको छ। जुन एकदमै अपरिहार्य छ।
पहिलेको समयमा दाँत दुख्दा वा किराले खाँदा पूरै दाँत नै उखालेर फाल्ने परिपाटि थियो भने हाल त्यस्तो छैन। समय–समयमा दाँतलाई सफा गर्ने पद्धति पनि विकास भइसकेको छ। नेपालमा आजको समयमा मुहारको सौन्दर्यतालाई विशेष प्राथमिकता दिने व्यक्तिहरु निकै देखिन थालेका छन्।

दाँत दुख्दा वा किराले खाँदा मात्र उपचार गराउने नभई त्यस्ता बिरामी हुनुपूर्व के–कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषयमा पनि धैरै मानिसहरु सचेत भइसक्नु भएको छ। नेपालमै पनि विश्वका विभिन्न देशमा गरिने उपचार पद्धति जस्तै गर्न सकिने हुनाले मुख स्वास्थ्यको क्षेत्रमा नेपालले निकै ठूलो फड्को मारिसकेको छ।

दन्त चिकित्सामा नेपालमा उपलब्ध सबै सेवा कान्तिपुर डेन्टलमा उपलब्ध छन् त?

यो एउटा शिक्षण अस्पताल हो। यसमा सामान्य दन्त विधामा लागेका मानिसहरुले दिने उपचारभन्दा फरक खालको हुन्छ। यसमा दन्त चिकित्सक मात्र नभई दन्त विशेषज्ञहरु (लेक्चरर, एसिस्टेन्ट, एसोसिएट तथा प्रोफेसर), डेन्टल हाइजिनिस्ट, ट्रेन्ड डेन्टल एसिस्टेन्ट, ट्रेन्ड डेन्टल ल्याब टेक्निसियनद्वारा सेवा उपलब्ध गराइन्छ। दन्त चिकित्सामा जम्मा नौवटा विधाहरु हुन्छन्। हामी सबै विधामा उपचार गराउँछौं र विद्यार्थीलाई उपचार गर्न सिकाउँछौं। नौ विधाहरु यसप्रकार छन –

(क) ओरोल मेडिसिन एण्ड रेडियोलोजी

यो भनेको सर्वप्रथम बिरामीहरुले आफ्नो मुख, दाँत र गिजा परीक्षण गराउने ठाउँ हो। यहाँ आएर बिरामीहरुको रोगको परीक्षण, निदान तथा बिरामीलाई परामर्श गरिन्छ।

(ख) कम्युनिटी एण्ड पब्लिक हेल्थ डेन्टिस्ट्री

यसले व्यक्तिलाई मात्र नभई देशका विभिन्न ठाउँहरुमा गएर सामुदायिक दन्त कार्यक्रम, विद्यालय स्तरमा दाँत तथा मुखसँग सम्बन्धित सचेतनामुलक कार्यक्रम, क्याम्पहरु, स्वास्थ्य चिकित्सकहरुलाई दाँत तथा मुखसँग सम्बन्धित तालिमहरु आयोजना गर्ने काम गर्दछ। यसका लागि हामीहरुबाट दन्त विधाका चिकित्सक, विशेषज्ञ तथा अन्य सहयोगी व्यक्तिहरु रहँदै आउनुु भएको छ।

(ग) पेडोडोन्टिक्स
यसमा १३ वर्ष उमेर समूहभित्रका बालबालिकाहरुको सुरक्षात्मक तथा उपचारात्मक हिसाबले बाल दन्त विशेषज्ञद्वारा दाँत, मुख तथा गिजाको उपचार गरिन्छ।

(घ) अर्थाेडोन्टिक्स
यसले बिग्रिएको दाँत तथा बंगारामा हुनसक्ने रोकथाम, अवरोध र सुधारका बारेमा उपचार गर्न सहयोग पुर्‍याउँछ। यसमा दाँतको अनियमित आकारअनुसार ब्रासेसहरु हाल्न तथा हालिसकेकालाई निकाल्न विभिन्न नविनतमा प्रविधिहरु प्रयोग गरिन्छ।

(ङ) प्रोस्थोडोन्टिक्स
यसमा कृत्रिम विधिद्वारा मानिसहरुको दाँतको प्रतिस्थापन गरिन्छ। यसले पूर्णदाँत, आंशिक डेन्चर, क्राउन, ब्रिज, म्याक्सिलो–फेसियल प्रोस्थेसिस, इम्प्लान्ट आदिसहित विभिन्न उपचार विधिहरु प्रदान गरिन्छ।

(च) कन्जर्भेटिभ डेन्टिस्ट्री एण्ड इन्डोडोन्टिक्स
यसले दाँतको बनावट तथा संरचनालाई कुन तरिकाले संरक्षण गर्न सकिन्छ भन्ने कुरामा जोड दिन्छ। यसमा दाँतको पुनस्र्थापना, दाँतको कस्मेटिक मेक (ओभर, दाँत सेतो पार्ने, रूट क्यानल ट्र्टिमेन्ट, आरसीटी), एन्डोडोन्टिक सर्जरी आदीको उपचार गरिन्छ।

(छ) पेरियोडोन्टिक्स एण्ड इम्प्लान्टोलोजी
यस विधामा दाँतको गिजासँग सम्बन्धित रोगहरुको उपचार गरिन्छ। यसका अतिरिक्त मौखिक स्वच्छता मर्मत, मौखिक रोग निवारण, पेरियोडेन्टल सर्जरी आदी क्षेत्रमा उपचार गरिन्छ।

(ज) ओरल एण्ड म्याक्जिलो फेसिएल सर्जरी/ प्याथोलोजी
यस विधामा दाँतको मात्र नभई अनुहार तथा मुखमा लागेको घाउ तथा चोटपटकको शल्यक्रिया गरिन्छ। यतिमात्र नभई मुखको क्यान्सर छ कि छैन भनेर पनि जाँच गरिन्छ।

(झ) ओरल प्याथोलोजी

यसले मुख तथा दाँतमा लागेका विभिन्न किसिमका रोगहरुको परीक्षण गर्नमा सहयोग पुर्‍याउँछ। यसमा मुख तथा दाँतमा आइपरेका विभिन्न समस्याहरुको प्रयोगशालाको माध्यमद्वारा परीक्षण गरिन्छ। जसअन्र्तगत माइक्रोबायोलोजिकल, बायोकेमिकल, हेमेटोलोजिकल, हिस्टोपाथोलिक परीक्षण पर्दछन्। यसमा बायोप्सी, साइटोलोजी इत्यादी प्रक्रियामार्फत रोगको परीक्षण तथा निदान गरिन्छ।

विस्तारै यो अस्पतालको यात्रा केही वर्षदेखि एउटा जनरल हस्पिटलको रुपमा पनि अगाडि बढिरहेको छ, यसको विशेष कारण?

यो कलेज स्थापना गर्ने समयमा वि.डि.एस कार्यक्रम अन्र्तगतको तेस्रो वर्षमा जनरल मेडिसिन र जनरल सर्जरी पढाउँदा अन्य कुनै हस्पिटलसँग सम्बन्धन प्राप्त गरे हुन्छ भन्ने एउटा नियम थियो। यसरी ७ वर्षसम्म हामीले अन्य शिक्षण अस्पतालसँग सहकार्य गर्दै आएका थियौँ। तर, त्यसपश्चात नेपाल सरकार, काठमाडौं विश्वविद्यालय तथा नेपाल मेडिकल काउन्सिलद्वारा जुन कलेजले वि.डि.एस प्रोग्राम संचालन गर्ने हो उसैसँग जेनेरल हस्पिटल पनि हुनुपर्छ भन्ने नियम आएपश्चात हामीले विगत ७ वर्षदेखि जनरल हस्पिटलको सुरुवात गरेका हौं। अहिले हामीले न्युरो सर्जरी र कार्डियो सर्जरीबाहेक अन्य सम्पूर्ण चिकित्सा सेवाहरु प्रदान गर्दै आइरहेका छौँ।

नेपालको परिप्रक्ष्येमा हेर्दा दन्त सेवा तथा शिक्षाका प्रमुख चुनौतीहरु के–के हुन?

विदेश कै तुलना गर्ने हो भने ओरल केयरलाई एकदमै बढी प्राथमिकतामा राखिएको हुन्छ। यस अन्र्तगत पर्ने सम्पूर्ण कुराहरुमा वच्चादेखि वृद्धसम्मका व्यक्तिहरुलाई राम्रो ज्ञान हुन्छ। तर, नेपालको सन्दर्भमा भन्ने हो भने यो क्षेत्रलाई एकदमै न्यून व्यक्तिहरुले मात्र नजिकबाट बुझ्नुभएको छ।

यद्यपि, दन्त सेवा संसारको चौथो धेरै महङ्गो सेवा हो। तर, विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार मानिसलाई लाग्ने रोगहरुमध्ये सबैभन्दा धेरै रोग मुख तथा दाँतसँग सम्बन्धित हुन्छन्। नेपालमा अझै दन्त विज्ञानलाई एउटा व्यक्तिले मात्र नभई संगठनहरु तथा नेपाल सरकारले नै चासो नदिएको क्षेत्र मानिन्छ।

उदाहरणकै रुपमा हेर्ने हो भने एम.वि.वि.एस र वि.डि.एस मा पढ्दा हरेक कुराहरु एकै किसिमका हुन्छन्। स्रोतसाधनको जरुरी, वित्तिय आवश्यकता, भर्ना हुन लाग्ने योग्यता, विद्यार्थीहरु पासआउट भइसकेपछिको काम गर्ने श्रेणी, उनीहरुले पाउने सेवासुविधा सबै एउटै हुन्छन् तर, नेपाल सरकारकाअनुसार एम.वि.वि.एस पढाउने शैक्षिक संस्थाले ४२ लाख तर वि.डि.एस पढाउने शैक्षिक संस्थाले २० लाख मात्र लिन पाउने व्यवस्था छ। यहाँबाट पनि के बुझ्न सकिन्छ भने नेपाल सरकारले दन्त शिक्षालाई अझै प्राथमिकताका साथ हेरेको छैन।

अन्त्यमा के भन्न चाहानुहुन्छ?

कान्तिपुर डेन्टल हस्पिटल स्थापना कालदेखि नै दन्त शिक्षा तथा सेवा प्रदायकको हिसाबले चिनिएको एक संस्था हो। यसका साथसाथै पनि हामीले जनरल हस्पिटलको स्थापनापश्चात जनतालाई विश्वसनीय सुविधा प्रदान गर्न सफल भइरहेका छौँ। आजको दिनमा हामीसँग १०० वटा बेड, १७ वटा आइसियु, अत्याधुनिक ल्याबको व्यवस्था, स्मार्ट डाक्टरहरुको टिम छ। कोरोनाको प्रथम लहरमा करिब ५०० जना र साथै दोस्रो लहरमा करिब ३०० भन्दा बढी कोरोना संक्रमितहरुको उपचार गर्न सफल भएका छौँ। यसका लागि आमजनमानसले हामीहरुप्रति गर्नुभएको एउटा विश्वासको हार्दिक कदर गर्दछु। धन्यवाद।



Leave a Reply

Your email address will not be published. Required fields are marked *