राज्यमन्त्री श्रेष्ठले गरेका प्रमुख स्वास्थ्य अधिकारीको नियुक्ती रोक्न प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेका प्रमुख चार स्वास्थ्य अधिकारीको सरूवा रोकिएको छ।
मन्त्रालय स्रोतका अनुसार राज्यमन्त्री श्रेष्ठले गरेका नियुक्तीमा विवादमा आएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले सरूवा रोक गरेका हुन्।
अहिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी देउवाले लिएका छन्।
श्रेष्ठले कुनै पनि परामर्श बिना नियुक्ती गरेकाले तत्काललाई सरुवा कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन समेत दिइसकेको मन्त्रालय स्रोतले जनाएको छ।
‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मैले नै समालिरहेको छु। त्यसकारण हाल भएका निर्णयहरू कार्यान्वयन नगर्नुहोस् भन्ने निर्देशन आएको छ,’ मन्त्रालय स्रोतले भन्यो।
कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी (वीर) डा. जागेश्वर गौतमलाई प्रसुती गृहमा सरूवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यारत डा. रुद्र मरासिनीलाई मन्त्री श्रेष्ठले नियुक्त गरेका थिए।
मन्त्रीले सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई दुई महिना देखि खाली रहेको मन्त्रालयको समन्वय शाखामा तानेका थिए।
त्यसैगरी, ११ महिना देखि फाजिलमा रहेकी रिता जोशीलाई सार्क क्षयरोग केन्द्रमा पठाइएको थियो।