खोपकाण्डः फोकलपर्सन खड्कालाई निलम्बनको सिफारिस

हेल्थपोस्ट नेपाल

होटलमा लगेर कोभिडविरुद्धको खोप लुकाउने बिर्तामोड नगरपालिका कोभिड फोकलपर्सन ओम खड्कालाई निलम्बन गर्ने सिफारिस गरिएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडमा साँझ सम्पन्न सर्वदलीय, सर्वपक्षीय छलफलमा उनलाई निलम्बन गर्न केन्द्रमा लेखिपठाउने सहमति जुटेको हो।

नगरपालिकालाई निजामती कर्मचारी निलम्बन गर्ने अधिकार नभएकाले प्रमुख प्रशासकीय अधिकृतले केन्द्रमा तत्काल निलम्बनको सिफारिस पठाउने सहमति भएको हो। सर्वदलीय, सर्वपक्षीय छलफलले खड्कालाई दोषी ठहर गरेको छ। खड्कालाई निलम्बन गर्ने सहमतिसँगै नगरपालिकामा शनिबार लगाइएको ताला खुल्ने भएको छ। ताला लगाउने पक्ष सो सहमतिपछि ताला खोल्न तयार भएको हो।

सो छलफलमा खड्कालाई निलम्बन गर्ने प्रक्रिया तत्काल अघि बढाउन प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाललाई भन्ने नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले लिखित सहमति गरेपछि ताला खुल्ने भएको हो। छलफलमा नेपाली कांग्रेसका जिल्ला सदस्य जलकुमार गुरुङ, प्रदेश सांसद एकराज कार्की, नेपाली कांग्रेस झापा २ का क्षेत्रीय उपसभापति धर्म लक्सम्बा, नगर सभापति भोजराज सिटौला, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मोहन सुब्बा, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, ओलीपक्षीय एमाले नगर कमिटी अध्यक्ष उमानाथ ओली, नेविसंघ झापा सभापति राजेन्द्र उप्रेती, सचिव पोसराज कटुवाल, अखिल क्रान्तिकारीका झापा अध्यक्ष अनिल सुवेदी लगायत सहभागी थिए।

छलफलमा अर्का फोकलपर्सन तत्काल तोक्ने, उमेर समूह निश्चित गरेर खोप व्यवस्थित संचालन गर्ने, खोप कार्यक्रम संचालन गर्न युवासम्मिलित संयन्त्र निर्माण गर्ने, अहिलेसम्म बिर्तामोडमा खोपको विवरण र खर्च सार्वजनिक गर्ने र सो घटना छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल संयोजकत्वको समितिलाई सहयोग गर्ने सहमति भएको नगरपालिकाका नायब सुब्बा मेघराज बाँस्तोलाले बताए।

शुक्रबार १०३ भाइल खोप स्थानीय टाइमलेस होटलमा लुकाउँदै गर्दा फोकलपर्सन खड्कालाई नेविसंघ, तरुण दल, अखिल क्रान्तिकारीका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। सोही साँझ खड्कालाई बिनाकारबाही प्रहरीले छाडेपछि शनिबार विद्यार्थी तथा स्थानीय युवा नगरपालिकामा ताला लगाएर आन्दोलित बनेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *