स्तनपान नगराउँदा शिशुमा कुपोषणको खतरा, विज्ञ भन्छन् – आमाको दूध पहिलो खोप

हेल्थपोस्ट नेपाल

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । तर, पछिल्लो समयको तथ्यांकले स्तनपान गराउने आमाको संख्या घट्दै गएका कारण सो लक्ष्य प्राप्तिमा चुनौतीको ठूलो पहाड खडा भएको देखिएको छ ।

प्रतिवर्ष १ देखि ७ अगस्टसम्म विश्वभर स्तनपान सप्ताह मनाइन्छ ।

यसवर्ष ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ नेपालमा पनि आइतबारदेखि स्तनपान सप्ताह मनाउन सुरू भएको छ।

स्वास्थ्यसेवा विभागको परिवारकल्याण महाशाखाको सन २०११ को तथ्यांकलाई हेर्ने हो भने ६९.९ प्रतिशत आमाले स्तनपान गराउने गरेकोमा सन २०१६ मा आइपुग्दा सो संख्या घटेर ६६.१ मा आइपुगेको छ । सन् २०३० सम्म्म ९० प्रतिशत पुर्याउने दिगो विकासको लक्ष्य र त्यसका लागि चलाइएका नीति तथा कार्यक्रमको तालमेल नमिलेको भने विगतको उल्टो गतिमा हिँडिरहेको तथ्यांकले नै स्पष्ट पार्छ ।

देशको स्तनपानको दर ६२ प्रतिशत

नेपाल मल्टि इन्डिकेटर क्लष्टर सर्वे (मिक्स) २०१९ अनुसार शिशु जन्मेको १ घन्टामा भित्रै स्तनपानको सुरूवात गर्नेको संख्या ४२ प्रतिशत र पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत छ।

त्यसै, २ बर्षसम्म स्तनपान गराउनेको संख्या ८७.६ प्रतिशत छ।

जब कि, सन् २०१६ मा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत थियो। शिशु जन्मेदेखि २ बर्षसम्म स्तनपान निरन्तरता दिने संख्या ८९ प्रतिशत रहेको नेपाल जनसांख्यीक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ।

काठमाडौं उपत्यकाभित्रका अस्पतालमा स्तनपानको अवस्था हेर्ने हो भने दयनीय नै देखिन्छ। अध्ययनका अनुसार मुलुकको उपचारको केन्द्र, अस्पतालै अस्पतालले भरिएको काठमाडौंमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर केवल ४१ प्रतिशत मात्र छ ।

उपत्यकाको अस्पतालमा गरिएको एक अध्ययनले फर्मुला दुधहरूको बढ्दो प्रयोग अप्रशेन गरेर जन्मेका शिशुहरूमा बढि भएको पाइएको छ।

जन्मनासाथ स्तनपान गराउनु अघि १० जना नवजात शिशुहरूले मध्ये ३ जनाले ध्यू, मह, चिनी चटाउने गरेको छन्।

अझै पनि कतिपय महिलाले पूर्ण स्तपानको महत्व नबुझेको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदार पराजुलीले बताए।

‘पूर्ण स्तनपानको महत्त्व अझै पनि बुझेको अवस्था छैन,’ पराजुली भन्छन् ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको विक्री–वितरण बढिरहेको छ, जसले बच्चाको पोषण स्थितिमा नकारात्मक प्रभाव पारिहेको छ।’

स्वास्थ्य सर्वेक्षण २०१६ नेपालमा ५ बर्ष मूनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपना, २७ प्रतिशतमा कम तौल र ५३ प्रतिशतमा रत्तअल्पताबाट ग्रसित छन्। नेपालमा हुने बाल मृत्युदरको ५३ प्रतिश कारक कुपोषण रहेको पाइएको छ। यी सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तपानको मह्तवपूर्ण भूमिका रहेको विज्ञ बताउँछन्।

शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेंलो विगौति दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ,’ पराजुली भन्छन्।

उनका अनुसार स्तनपानले शिशुको लागि सम्पुर्ण आहारको काम गर्दछ।

‘हर्मोन विकसित भएपछि दुध आउने भएकोले मानसिक रुपमा आउँदैन भनेर सोचेपछि त्यसको असर पर्छ। आमाले जति चुसायो दुध त्यति आउने हो। त्यसलाई रोक्न दिनुहुँदैन,’ पराजुली भन्छन्।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्री–वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । यससम्बन्धी ऐन २०४९ र नियमावली २०५१ लागू नै छ । तर, दूधको प्रतिस्थापमा बिक्री हुने गरेका पाउडर दूधलगायत भने अझैसम्म पनि प्रतिबन्धित हुन सकेका छैनन् ।

पछिल्लो समय खासगरी नयाँ आमाहरूले दुध नआएको भन्दै बट्टाको दुध वा लिटो खुवाउने प्रवृत्ति बढेको बाल रोग विशेषज्ञ डा. कृष्ण पौडेलले बताए।

‘आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बट्टाको दूध सेवन गर्ने शिशुहरु भन्दा स्तनपान गर्ने शिशुहरुको बौद्धिक शक्तिको विकास राम्रो भएको पाइन्छ,’ उनले भने।

‘स्तनपान गराउन सकिएन भने बच्चालाई चाहिने पोषणतत्त्व अन्य वस्तुबाट पुग्दैन । अन्य वस्तु खुवाएको खण्डमा बच्चाले पचाउन सक्दैन, खाए पनि पोषणतत्त्वहरू शरीरले लिन सक्दैन,’ डा. पौडेल भन्छन्, ‘जुन बच्चाले स्तनपान गरेका हुँदैनन, त्यस्ता बच्चालाई संक्रामक रोग लाग्ने बढी सम्भावना हुन्छ।’

‘दुध पुगेन भनेर एक वा दुई महिनादेखि नै लिटो खुवाइदिने गरेको एकदमै धेरै पाइन्छ जुन एकदमै हानिकारक हो,’ पराजुली थप्छन्।

राम्रोसँग स्तनपान नगराएको बच्चालाई निमोनिया, झाडापखाला, कुपोषणलगायत समस्या निम्तिने हुन्छन। बच्चा २ वर्षको हुँदा ८० प्रतिशतसम्म दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सकियो, त्यति नै मानसिक विकास हुने डा. पौडेलले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *