सेवासुविधाको माग गर्दा वीर अस्पतालका कर्मचारीमाथि कुटपिट (भिडियोसहित)

हेल्थपोस्ट नेपाल

सेवासुविधाको माग गर्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। मागका विषयमा स्वास्थ्यकर्मी र कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमबीच वार्ता भइरहेकै बेला हातपात भएको हो।

८ महिनादेखि कोभिड जोखिम भत्ता तथा सेवा सुविधा नदिइएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनरत थिए। वार्ताका क्रममा स्वास्थ्यकर्मी र डा. गौतमबीच भनाभन चल्यो।

त्यसैबीच डा. गौतमले प्रहरी बोलाएर कर्मचारीलाई कुटपिट गर्न लगाएको स्वास्थ्यकर्मीको आरोप छ।

‘हामी विभिन्न सेवा सुविधा नपाएको विषयलाई लिएर वार्तामा बसेका थियौं। बोल्ने क्रममा चर्काचर्की हुन गयो,’ अस्पतालका कर्मचारी टिका पनेरूले भने, ‘अस्पताल प्रशासनले प्रहरी लगाएर हामीमाथि कुटपिट गर्‍यो।’

उनका अनुसार डा. गौतमले पहिला सिभिल प्रहरी बोलाएका थिए भने पछि भीड नियन्त्रण गर्ने प्रहरीलाई समेत बोलाएर लाठीचार्ज गर्न लगाएका थिए। त्यसक्रममा ५ स्वास्थ्यकर्मी घाइते भएको उनले बताए।

आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले बताएका छन् ।

झडपको क्रममा गंगादेवी दंगाल, गोमा सुवेदी, अस्मिता थपलिया र निर्मला महत्तो घाइते भएका छन्। अस्पतालमा अहिले नाराबाजी चलिरहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *