स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. रुपाखेतीलाई कुशल व्यवस्थापक सम्मान

हेल्थपोस्ट नेपाल

कोरोना महामारीमा कुशल व्यवस्थापन गरेको मूल्यांकन गर्दै बारबरा फाउन्डेशनले १४ अस्पतालका व्यवस्थापक तथा उपचारमा खटिएका  कर्मचारीलाई विशिष्ट सम्मान गरेको छ।

कोरोना महामारीमा उल्लेखनीय काम गरेवापत विभिन्न समूह तथा विधाका व्यक्ति एवं संस्था सम्मानित भएका हुन्। जसमा दुई निजी अस्पताल/व्यवस्थापक परेका छन्।

निजी तर्फ सुरुदेखि नै कोरोनाको पिसिआर परीक्षण गर्न अनुमति पाएको र पहिलो लहरदेखि नै संक्रमितको उपचार व्यवस्थापनमा सक्रियतापूर्वक काम गरी नमूना संस्था बन्न सफल स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रूपाखेतीलाई सम्मान प्रदान गरिएको हो।

फाउन्डेशनले पुरस्कृत गरेका विभिन्न विधामध्ये डा. रूपाखेती व्यवस्थापन तथा सार्वजनिक नीति बिधामा सम्मानीत भएका हुन्।

कोरोना नियन्त्रण र उपचारमा निजी क्षेत्रका अस्पतालले समेत उल्लेखनीय काम गरेका थिए। तर सरकारी तबरबाट‌ यसको प्रशंसा हुन नसकेको अवस्थामा फाउन्डेसनले सम्मानमा निजी क्षेत्रलाई समेत समेटेको हो।

शनिबार राष्ट्रियसभा गृहमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा ‘फ्रन्टलाइन’ मा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीलाई सम्मान प्रदान गरिएको थियो।

शुक्रबार फाउन्डेशनले सम्मानित हुने व्यक्ति र संस्थाको नाम सार्वजनिक गरेको थियो ।

फाउन्डेसनले गरेको सम्मानले आगामी दिनमा अझै राम्रो गर्न प्रेरणा दिएको डा. रूपाखेतीले बताए।

‘फाउन्डेशनले निजी क्षेत्रले गरेको कामलाई मूल्यांकन गर्दै उच्च कदर गरेकाे छ। हाम्रो लागि पहिलो सम्मान हो ,’ रूपाखेतीले हेल्थपोस्टसँग भने, ‘यो सम्मान पाउनुमा प्रमुख श्रेय अस्पतालको कोभिड टिमलाई जान्छ।’

 

सम्मान स्वरूप पाएको २ लाख  रुपैयाँ कोभिडलगायत अन्य उपचारका लागि आउने अन्य विपन्न वर्गका बिरामीको उपचार सहायता कोषमा राखिदिने डा. रूपाखेतीले बताए।

कार्यक्रममा राष्ट्रपति डा. यादवले महामारीमा खटिएका स्वास्थ्यकर्मीका कामको उच्च प्रशंसा गरे। ८० जना तथा सातवटा संस्थालाई बारबरा फाउन्डेशनले विशेष सम्मान प्रदान गरेको छ।

फाउन्डेशनले संस्थागत विधातर्फ भरतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवासहित सातवटा संस्थाका कर्मचारीलाई सम्मान गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *