१०३ भाइल खोप लुकाउने फोकल पर्सन खड्कालाई प्रहरीले बिनाकारबाही छाड्यो

हेल्थपोस्ट नेपाल

 

कोरोनाविरुद्धको १०३ भाइल खोप लुकाउने झापाको बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओम खड्कालाई प्रहरीले बिनाकारबाही छोडेको छ। खोप लुकाउँदै गर्दा स्थानीय होटल ‘टाइमलेस मोमेन्ट्स’ मा खड्का शुक्रबार दिउँसो पक्राउ परेका थिए।

नेविसंघ र तरुण दलका कार्यकर्ताले उनलाई नियन्त्रणमा लिएर बिर्तामोड प्रहरीमा बुझाएका थिए।

प्रहरीले उनलाई छाडेपछि अहिले स्थानीयले कारबाहीको माग गर्दै नगरपालिकालाई दबाब दिइरहेका छन्। तर, नगरप्रमुख ध्रुवकुमारी शिवाकोटी खड्काको बचाउ गरिरहेकी छन्। बिहानै नगरपालिका पुगेकी प्रमुख शिवाकोटीले स्वास्थ्य शाखाका कर्मचारीलाई खड्काले खोप लुकाउने प्रयास नगरेको ब्रिफिङ गरेकी एक कर्मचारीले बताए। ती कर्मचारीले भने, ‘उहाँले (नगरप्रमुख) नबोल्न निर्देशन दिनुभयो।’

अहिले नगरपालिका आसपासमा आक्रोसित स्थानीय जम्मा भएका छन्। नगरपालिका घेराउ गर्ने बुझेपछि प्रमुख शिवाकोटीको पहलमा बिहानैदेखि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ। फोकल पर्सन खड्कालाई जोगाउने प्रयास गरे नगरपालिका र प्रहरीकाविरुद्ध आन्दोलन गर्ने नेविसंघ झापा सचिव पोषराज कटुवालले बताए।

बिर्तामोड नगरपालिकाले चार दिनदेखि खोप कार्यक्रम सञ्चालन गरिरहेको थियो। बिहीबार र शुक्रबार खोप लगाउनेको थामिनसक्नु भीड लागेको थियो।

बिनाजानकारी नगरपालिकाले देवी माविको खोप केन्द्र बन्द गरेर महेन्द्ररत्न मावि खोप केन्द्र मात्रै कायम गरेको थियो। नगरपालिकाले खोप सकिएको दाबी गरेको थियो। सोही समयमा खड्काले होटलमा खोप लुकाएको सार्वजनिक भएको थियो। त्यसको पिछा गरेका नेविसंघ र तरुण दलका कार्यकर्ताले खड्कालाई खोपसहित नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले खड्कालाई कारबाही गर्ने प्रतिक्रिया दिएका थिए। प्रवक्ता थापाले कुन कानुन आकर्षित हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताए पनि खड्कालाई छाडिएपछि स्थानीय आक्रोसित बनेका हुन्। खड्काले खोपमा चलखेल गरेको बुझेपछि नेविसंघ, तरुण दल र माओवादी केन्द्रका कार्यकर्ता दुई दिनदेखि नियमित निगरानीमा थिए।

स्वास्थ्य कार्यालय झापामा प्रमुख योगराज घिमिरे पनि खड्काको बचाउमा लागेका छन्। उनले बिर्तामोडमा खोप लुकाइएको भन्ने आरोप गलत भएको बताएर गैरजिम्मेवारी प्रदर्शन गरेको आक्रोसित युवाको भनाइ छ।

खोप अभाव भएर बिर्तामोडले माग गरेपछि प्रक्रिया पूरा गरेर १०३ भाइल खोप पठाएको बताए। ‘खोप लिएर गएका कर्मचारीलाई ओमजीले होटलमा छु, यही ल्याइदिनु भनेपछि कर्मचारीले त्यहीँ पुर्याइदिएका हुन्’, उनले भने। आफू पनि सो काण्डमा मुछिने भएपछि प्रमुख घिमिरे खड्काको बचाउमा लागेको स्वास्थ्य सम्बद्ध कर्मचारीहरुको बुझाइ छ।

बिर्तामोडको खोप काण्डका दोषीलाई उन्मुक्ति दिन स्वास्थ्य कार्यालय झापाले बिर्तामोडलाई खोप पठाएको इमेल सार्वजनिक गर्न लागि परेको स्रोतले बतायो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *