‘ब्राह्मण’ केटीसँग बिहे गर्दा मारिएका एक ‘दलित’ यु्वकको कथा

हेल्थपोस्ट नेपाल

 

भारतमा एकजना ब्राह्मण केटीसँग प्रेम विवाह गरेका दलित युवक अनिसकुमार चौधरीको २४ जुलाइमा हत्या भयो। अनिसका आफन्तहरूले हत्यामा उनको ससुरा पक्षको हात रहेको आरोप लगाएका छन्।

अनिसकी पत्नी दिप्ती मिश्रका आफन्तहरु यो बिहेबाट खुसी थिएनन्।

यता दिप्तीकी आमाले अनिस हत्यामा उनीहरूको संलग्नता नरहेको दाबी गरेकी छिन्।

अनिसको हत्यामा १७ जनालाई आरोपी बनाइएको छ, जसमध्ये केहीलाई स्थानीय प्रहरीले पक्राउ गरिसकेको छ।

अनिस र दिप्ती एकसाथ पण्डित दीनदयाल उपाध्याय विश्वविद्यालय, गोरखपुरबाट स्नातकोत्तर गरेका थिए। यद्यपि उनीहरू पढ्ने विषय भने फरक थियो। अनिसले प्राचिन इतिहास र दिप्तीले समाज शास्त्रबाट स्नातकोत्तर गरेकी थिइन्।

विश्वविद्यालयमा भेटघाटकै बीच अनिस र दिप्ती ग्राम पञ्चायत अधिकारी पदमा जागिर पाएका थिए।

जागिर पाइसकेपछि अनिससँग पहिलोपटक ९ फेब्रुअरी २०१७ मा गोरखपुरस्थित विकास भवनमा दुईजनाको भेट भएको दिप्ती बताउँछिन्।

एकै पदमा जागिर पाएपछि विश्वविद्यालयबाट सुरूको भेटघाटका सिलसिला बढ्दै गयो। सँगै हुने प्रशिक्षण र तालिमका क्रममा उनीहरू थप नजिक भए।

दिप्ती भन्छिन्, ‘हाम्रो सम्बन्धबारे जानकारी पाउनासाथ परिवारका सदस्यहरूले अनेक यातना दिन सुरू गरे। त्यसपछि हामीले बिहे गर्ने निर्णय ग¥यौं। बिहे गरिसकेपछि परिवारले अरू ठाउँमा मेरो बिहे गराउन पाउँदैनन् भनेर हामीले यो निर्णय गरेका थियौं।’

अनिस र दिप्तीले अदालतमा बिवाह गरे। विहेका कागजातहरूका अनुसार उनीहरूले १२ मे २०१९ मा गोरखपुरमा विहे गरेका थिए। उनीहरूको विहेलाई अदालतले ९ डिसेम्बर २०१९ मा मान्यता दिएको थियो।

दिप्ती भन्छिन्, ‘हामी दुबैजना बालिग थियौं। र, सरकारी जागिरे पनि। त्यसैले हाम्रो विहेलाई लिएर परिवारबाट विरोध हुँदैन लागेको थियो। विरोध गरे पनि सम्झाइ बुझाइ गरिहाल्ने सोचेका थियौं। मैले आफ्नो परिवारलाई सम्झाउने बुझाउने धेरै प्रयास गरेँ। तर, उनीहरूले मानेनन्।’

अनिससँग विहे गरिसकेको जानकारी पाएसँगै परिवारका सदस्यहरूले प्रताडित गर्न सुरू गरेको उनको भनाइ छ।

‘अनिससँग विहे गरेको थाहा पाउनासाथ परिवारका सदस्यहरूले मलाई मानसिक रूपमा प्रताडित गर्न थाले। कहिले बुबा बिरामी भइहाल्ने त कहिले आमा। बुबा भन्नुहुन्थ्यो–मलाई अट्याक आउँछ र म मर्छु। तर पनि मैले नमान्दा परिवारका सदस्यहरू अनिसको हत्या गरिदिने धम्की दिने गर्दथे। अनिसको सुरक्षाका लागि मैले कैयौंपटक परिवारको कुरा मानिरहेँ। म अनिसलाई कुनै पनि हालतमा बचाउन चाहन्थे।’

दिप्ती गोखरपुर जिल्लाको गगंहा थाना क्षेत्रको देवकली धर्मसेन गाउँका नलिनकुमार मिश्रकी छोरी हुन्। उनी चार भाइ–बहिनीमा सबैभन्दा कान्छी हुन््। उनका एक भाइ उत्तर प्रदेश प्रहरीमा जागिरे छन्।

यति ठूलो परिवारमा कसैले साथ दिएनन्, यस प्रश्नको जवाफमा दिप्ती भन्छिन्, ‘होइन। परिवारका कुनै पनि सदस्यले उनको साथ दिएनन्।’

दिप्तीका बुबा नलिन कैयौं वर्षसम्म दुबइमा काम गरेर फर्किएका हुन्।

अगस्त २०१६ देखि उनी आफ्नो गाउँ नजिक रेडिमेड सामानको पसल चलाउँदै आइरहेका छन्। उनका पिताले अनिसविरुद्ध मुद्दा दायर गरेका थिए। जसमा उनले दिप्तीको बलात्कार गरेको आरोप लगाएका थिए।

दिप्ती भन्छिन्, ‘परिवारको दबाबमा मैले अनिसविरुद्ध बयान दिएकी थिएँ। किनभने उनीहरू अनिसको हत्या गरिदिने धम्की दिइरहेका थिए।’
‘बुबा, काका र भाइहरू सबै ठाउँमा निगरानी गर्ने गरेका थिए। अफिस जानेबेला उनीहरू सँगै हुन्थे। कैयौंपटक काका मेरो बुबाको अनुमतिप्राप्त राइफल बोकेरै जान्थे,’ उनी भन्छिन्।

अनिस जेल जाने अवस्था सिर्जना भइसकेपछि २० फेब्रुअरीमा दिप्ती उनीसँगै बस्न गएकी थिइन्।

‘जब अनिस जेल जाने अवस्था सिर्जना भयो म उ सँगै बस्न गइदिएँ। त्यसपछि मेरो बुबाले अनिसमाथि मेरो अपहरण गरेको भन्दै मुद्दा दर्ता गराए। तर, मैले सामाजिक सञ्जालमा एक भिडियो बनाएर–मेरो अपहरण भएको छैन। आफूखुसी अनिससँग आएको छु र हामी दुबैजनाले विहे गरिसकेका छौं भनेर सार्वजनिक गरेँ,’ दिप्ती भन्छिन्।

अनिसको परिवारले गत २० मेमा गोरखपुरको महादेव झारखन्डी मन्दिरमा दुबैजनाको विहे गर्न लगाएको थियो। त्यही दिन गारेखपुरकै एक होटलमा रिसेप्सन पनि भयो। तर, विहे र रिसेप्सनमा अनिसका परिवारमात्रै आएका थिए।

दिप्ती भन्छिन्,‘विहेपछि अनिस केही लापारवाह भइसकेका थिए। आफ्नो क्षेत्रमा कसैसँग कुनै जोखिम नहुने उनलाई लागेको थियो। तर, उनको त्यो लापरबाही भारी प¥यो।’

अनिसका परिवार
अनिसका परिवार गोरखपुरको गोला थाना क्षेत्रको दुबौली गाउँमा बस्छन्।

यो दलित र पिछडा वर्गमध्ये धेरै जनसंख्या भएको गाउँ हो। त्यसैकारण अनिसका जेठो दाइ अनिल चौधरी १० वर्षसम्म गाउँको प्रधान पनि बने।
२०१५ पछि प्रधानका पद अनुसूचित जातिकी महिलाका लागि आरक्षित भएपछि उनकी पत्नी गीता देवी चुनाव जित्दै आएकी छिन्।

अनिसको परिवार सम्पन्न छ। उनका पिता र काका बैंकक र सिंगापुरमा बसेर काम गरेका छन्। तर, अनिस सरकारी जागिर खाने परिवारका पहिला सदस्य थिए।

दिप्तीले परिवारलाई सम्झाइ बुझाइ गरिहाल्ने अनिसका दाइ अनिल बताउँछन्।

अनिल भन्छन्, ‘मैले कैयौंपटक दिप्तीका परिवारलाई भेटेर विहेलाई मान्यता दिन आग्रह गरेँ। तर, उनीहरूले यो कुरा मानेनन्। उल्टै घरमा पुगेर धम्की दिन थाले। उनीहरूले २४ जुलाइका दिन मेरो भाइको हत्या गरिदिए।’

अनिलले सरकारसँग परिवार र दिप्तीको सुरक्षा, आरोपीलाई कारबाही, आर्थिक सहायता र परिवारका एक सदस्यलाई सरकारी जागिरको माग गरेका छन्।

उनको घरमा प्रहरी खटाइएको छ। तर, बाँकी मागबारे सरकारको तर्फबाट कुनै पहल भएको छैन।

घटनाको दिन के भएको थियो?

घटनाका दिन अनिस आफ्नो काका र सँगै काम गर्ने देवी दयाल भन्ने एक अधिकारीसँग कुनै कामका लागि अफिस बाहिर निस्केका थिए। दुबैजना बजारमा एक हार्डवेयर पसलमा पुगेका थिए। त्यहाँबाट निस्किएलगत्तै घटना भयो। घटनामा देवी दयाल पनि घाइते भए।

देवी दयाल भन्छन्, ‘पसल बाहिर निस्केर अनिस फोनमा कुरा गरिरहेका थिए। त्यतिकैमा अनुहार छोपेर आएका हतियारधारी समूहले उनीमाथि आक्रमण गर्‍यो। म बचाउन जाँदा ममाथि पनि आक्रमण भयो। मानिसहरू आउन थालेपछि आक्रमणकारी भागे।’

अस्पतालमा उपचार गराइरहेका देवी दयाललाई सुरक्षा उपलब्ध नगराइएकोप्रति अनिसका आफन्तहरूले आपत्ति जनाएका छन्।

घटनामा दिप्तीले बुबा नलिन, भाइ अभिनवका साथै मणिकान्त, विनय मिश्रलगायतका आरोपी बनाएर मुद्दा दर्ता गरेकी छिन्।

बिबिसीकाे सहयाेगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *