कोरोना खोपः नलगाए रोगको डर, लगाउन गए पनि रोगको डर

हेल्थपोस्ट नेपाल

काठमाडौँको कागेश्वरी नगरपालिका ८ नवीन टोलमा बस्ने रिता श्रेष्ठ राति ३ नै बजे खोप लगाउन सिभिल अस्पताल पुगिन्। उनीभन्दा पहिल्यै पुगेर लाइन बस्नेहरुको भीड भइसकेको थियो। टोकन लिइन् र पट्यारलाग्दो पखाईमा बसिन्।

अपरान्ह साढ १ बजे बल्ल खोप लगाउने ठाउँनजिक पुग्दै थिइन् उनी।

१० घण्टासम्म खोपको पालो पर्खिसकेकी थिइन्। झन् त्यसमाथि भीडभाड र ठेलमठेल। उनलाई रिस उठिसकेको थियो।

‘खोप लगाउने ठाउँमा यस्तो फितलो व्यवस्थापन त मैले कहीँ पनि देखेको थिइन्,’ उनले आक्रोशमिश्रित स्वरमा भनिन्, ‘खोप सबैलाई चाहिन्छ, यसलाई कम्तीमा व्यवस्थित त बनाउनुपर्‍यो नि।’

लाईनका कारण संक्रमण होला भन्ने डर पनि लाग्यो उनलाई।

बानेश्वरका उमेश ताम्राकारले पनि २ बजिसक्दा पनि पालो पाएका थिएनन्। यतिन्जले खाना पनि खाएका थिएनन्।

घण्टौंसम्म चर्को घाममा लाईनमा बस्दा पनि पालो नआएपछि आक्रोशित भएका उनले सरकार आफैंले भीडभाड गराउने गरेको र व्यवस्थापन नगर्दा कोरोना सर्ने डर भएको बताउँछन्।

‘निकै ठूलो हुुल छ, लगाउँ भने यहीँबाट कोरोना सर्ला भन्ने डर छ नलगाउँ भने घण्टौंसम्म लाईनमा बसेको छु,’ उनले आयोमेलसँग भने, ‘लगाउने कि नलगाउने बडो दुविधामा पो परियो त।’

कागेश्वरीमनोहरा नगरपालिका मुुलपानीका कमल चापागाईं पनि ५ घण्टादेखि लाईन बस्दा खोप लगाउन नपाइएला कि भन्ने चिन्तामा रहे। खोप लगाउन बिहीबार दिनभर लाइन बस्दा पनि नपाएका उनी शुक्रबार पनि लाइन बसेका थिए। बिहीबार बिनाटोकन खोप लगाए पनि शुक्रबार टोकन चाहिने हल्ला भएको गुुनासो गर्छन् उनी। ५ घण्टादेखि लाइनमा बसेका उनले शुक्रबार टोकनसमेत पाएका थिएनन्।

‘दिनैपिच्छे फरक–फरक नियम बनाइएको छ, खै कस्तो हो व्यवस्थापन,’ उनलेभने।

कोरोनाको तेस्रो लहर आउने विज्ञको चेतावनीपछि खोप लगाउन सर्वसाधारणको भीडभाड अझै बढेको छ। स्वास्थ्य अधिकारीले पनि खोप केन्द्रमा भएका अव्यवस्थाले संक्रमण अझै बढाउने बताउँदै आएका छन्।

काठमाडौँमा बिहीबार ३० हजार ७०८ जनाले कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएका थिए । उपत्यकामा ६६ वटा खोप केन्द्रहरुबाट उनीहरुले लगाएका हुुन्। ललितपुुर महानगरले शुक्रबारदेखि तीन दिन सम्म ४५ वर्ष माथिका उमेर समूहलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *