यसकारण तेस्रो लहरमा बढि जाेखिम बालबालिका, कसरी जाेगाउने यस्ता छन् डाक्टरका सुझाव

हेल्थपोस्ट नेपाल

हालसम्म भएका अध्ययनहरुले कोभिड–१९ को खोप लगाएका व्यक्तिहरुलाई संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने वा मृत्यु हुने जोखिम निकै कम हुन्छ भन्ने कुरा देखाएका छन्।

कतिपय विकसित मुलुकमा बालबालिका मात्र खोप लगाउन बाँकी भएकाले उनीहरु बढी प्रभावित हुन सक्ने भनिएको छ तर नेपालमा अहिलेसम्म पनि अधिकांशले खोप नपाएकाले गम्भीर संक्रमण हुने जोखिम बालबालिकासहित खोप नलगाएका सबै व्यक्तिहरुलाई उत्तिकै छ।

त्यसैले जस्तोसुकै अवस्थामा पनि हामी सबै उमेर समूहकाले जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न छाड्नु हुँदैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजपछि नेपालमा तेस्रो लहरको आउने अनुमान गरेको छ।

तेस्रो लहरको चपेटामा बालबालिका पर्ने भन्दै त्यसका लागि अस्पताललाई बेड छुट्याउन निर्देशन दिइसकेको छ।

कोभिडको पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम थिए । हालको दोस्रो लहरमा कुल संक्रमितमा बालबालिकाको हिस्सा करिब १० प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समेत कोभिडको तेस्रो लहर आउन सक्ने र यसले बालबालिकालगायत खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्ने बताए ।

अहिलेको नेपालमा फैलिरहेको कोरोना भाइरसको भेरियन्ट धेरै संक्रामक छ।

सबै उमेर समूहमा यसले प्रभाव पार्न सक्ने देखिएको छ।

‘घरपरिवारमा एकजना संक्रमित भएपछि सबैजना संक्रमित भइरहेको देखिएको छ। यसले अहिलेको भाइरस धेरै व्यक्तिमा फैलिएको र भोलिका दिनमा समुदायमा फैलिँदै गएर बालबालिकाहरु पनि संक्रमित हुने देखिन्छ,’ डा. अधिकारीले भने।

पहिलो लहरमा बालबालिकामा संक्रमणको फैलावट तुलनात्मक रुपमा दोस्रो लहरमा अलि बढी देखियो। तेस्रो लहरमा बढ्ने सम्भावना रहने विज्ञको अनुमान छ।

अमेरिकामा फाइजरको खोप १२ देखि १५ वर्ष उमेरसम्मका लागि सुरु भयो तर त्यो तत्काल यहाँ आउने सम्भावना देखिँदैन ।  सरकारले बालबालिका लागि फाइजरको ६० लाख डोज बुक गरेको छ। तर, सो खोप चैत्र सम्म आइपुग्ने जानकारी आएको छ।

‘हाम्रो बानी परिवर्तन गर्ने कुरा, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरा, मास्कको सही प्रयोग, दुरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने विषयमा यो कुरा पालना बालबालिकाबाट राम्रोसँग नहुन सक्छ,’ डा. अधिकारीले भने, ‘अहिले नेपालमा १८ वर्षभन्दा मुनिका बालबालिकाले खोप लगाउन मिल्दैन। त्यसकारण पनि बढी जोखिममा बालबालिका छन्।’

उनका अनुसार व्यवहार परिवर्तनका कुरा र खोपको कारणले पनि बालबालिकाभन्दा युवा वर्ग बढी सुरक्षित रहनसक्ने देखिन्छ। त्यसैले बालबालिकामा बढी संक्रमण बढी हुनसक्छ।

‘बालबालिका बाहेकका उमेर समूह सुरक्षित छ भन्ने होइन। कोरोना विरुद्धको खोप लगाइसकेकाहरुमा पनि रोग प्रतिरोधात्मक क्षमता विकास हुन अझै बाँकी छ। केही समय अझै लाग्छ,’ उनले भने।

बालबालिका धेरै संक्रमित हुँदा बढी तयारी गर्नुपर्ने र बालबालिकालाई केन्द्रमा राखेर व्यवहार परिवर्तनसँगै अस्पतालहरुमा तयारी भइरहेको उनले बताए।

‘बालबालिकालाई संक्रमण नसार्न गर्नुपर्ने व्यवहार हामीले गर्नुपर्छ। यो अवस्था अरु देशहरुमा पनि छ। त्यसैले नेपालमा पनि यस्तो तयारी गर्नुपर्छ,’ उनी भन्छन्।

बालबालिकाहरु नै संक्रमित भएमा के गर्ने ?

भाइरस संक्रमणको सम्भावनाका हिसाबले बालबालिकाहरु वयस्क जत्तिकै जोखिममा हुन्छन् । तथापि कोभिड १९ संक्रमित बालबालिकाहरु साधारणतया लक्षण विनाका वा कम गम्भीर खाले लक्षण भएका हुने गरका छन् । बालबालिकाहरुमा भाइरसको असर कम हुनुको कारण चाहीँ भाइरस संक्रमण हुने तरिकाका साथै बालबालिकाको रोग प्रतिरोधी प्रणालीका कारणले हुनसक्छ ।

खासगरी १ वर्षमुनिका र १० देखि १४ वर्षसम्मका बालबालिकाहरु कडा लक्षण सहितको कोभिड १९ संक्रमण हुने उच्च जोखिम समूहमा पर्दछन् । शिशुहरु संक्रमित भएमा गम्भीर विरामी पनि पर्न सक्दछन् । त्यस्तै १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुमा २ देखि ६ हस्तासम्मको लक्षणवीहिन वा लक्षणयुक्त कोभिड संक्रमणपछि मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम देखिन सक्छ ।

के बालबालिकामा देखिने लक्षणहरु वयस्क व्यक्तिहरुमा देखिने लक्षण भन्दा फरक हुन्छन् ?

सबैभन्दा आम लक्षणहरु भनेका ज्वरो (६३ प्रतिशत), खोकी (३४ प्रतिशत) र त्योसँगै वाकवाकी तथा वान्ता (२० प्रतिशत) र झाडापखाला (२० प्रतिशत) रहेका छन् । वयस्क मानिसहरुमा जस्तै बालबालिकाहरुमा पनि कोभिडका मुख्य लक्षणमा ज्वरो र खोकी नै पर्दछ । तर बालबालिकामा त्यस्तो लक्षण देखिने दर वयस्कमा भन्दा निकै कम हुन्छ ।

अधिकांस बालबालिकामा न्यून तथा मध्यम खालको लक्षण देखिन्छ र केवल ४ प्रतिशतमा मात्रै कडा खालको विमारी हुन्छ । त्यस्तै वयस्कहरुमा छिटो छिटो स्वास फर्ने, अक्सिजन लेवल घट्ने तथा थुक उत्पादन जस्ता लक्षणहरु देखिन्छन् । वयस्कमा जस्तै झाडापखाला तथा वान्ता हुने जस्ता लक्षणहरु बालबालिकामा पनि देखा पर्दछन् । र कहिलेकाहीँ त कोभिड १९ संक्रमणको एकमात्र लक्षणको रुपमा झाडावान्ता लाग्ने गरेको पनि पाइन्छ । समग्रमा सुरुमा स्वासप्रस्वासजन्य र बढी पाचन प्रणालीजन्य लक्षणहरु बालबालिका र वयस्क दुबैमा कोभिडका लक्षणको रुपमा रहने गरेका छन् ।

संक्रमित बालबालिकाहरुमा यस्ता कडा लक्षण देखिएमा सचेत हुनु पर्दछः

  •  सास फेर्न गाह्रो हुनु, घ्यारघ्यार हुनु र दुध चुस्न नसक्नु
  •  किशोरावस्थाका बालबालिकामा छाति दुख्नु र दबाब महसुस हुनु
  • अनुहार तथा ओठ निलो बन्दै जानु
  •  पिसाब कम लाग्नु, सरीर चिसो बन्नु तथा छालामा धब्बाहरु बन्नु
  •  बालबालिकामा द्धिविधा तथा अलमल बढ्नु, लोसे बन्दै जानु
  • आइसोलेसनको अवधि : लक्षण देखिएका विरामीका लागि लक्षण देखिएको दिनबाट १० दिनसम्म र लक्षण देखिन छाडेको थप ३ दिनसम्म ।
  • लक्षण नदेखिएका विरामीका लागि कोरोना परीक्षणबाट संक्रमण देखिएको दिनदेखि १० दिनसम्म ।

मास्क लगाउन नसक्ने शिशु तथा साना बालबालिकाहरुलाई संक्रमणबाट जोगाउनका लागि के गर्ने ?

भारतीय बालचिकित्सा प्रतिष्ठानले २ वर्ष माथिका सबै बालबालिकाले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने सुझाव दिएको छ । मास्कको साटो फेस सिल्ड लगाउने भएमा पुरै अनुहार छोप्ने गरी लगाउनु पर्दछ । फेस सिल्डले अनुहारको दुबैपट्टि ढाकेको हुनुपर्दछ भने चिउँडो भन्दा तलसम्म आएको हुनुपर्दछ । फेस सिल्ड लगाउँदा त्यो फुटेर अनुहार तथा आँखा लगायतमा हुनसक्ने घाउचोटका विषयमा सचेत हुनु पर्दछ ।

  • आफु, आफ्नो सानो शिशु तथा अन्य सन्तानहरुलाई अरु मानिसहरुभन्दा ६ फिट टाढै राख्नुहोस् । बालबालिकालाई घरमै राखेर आफु बाहिर निस्किनुपर्ने भएमा सकेसम्म छिटै घर फर्किनुहोस् ।
  •  आफ्नो सानो बच्चालाई लिएर सार्वजनिक ठाउँहरुमा जानुपर्ने भएमा बच्चा बोक्ने स्ट्रोलरलाई पातलो ब्लांकेटले छोप्ने गर्नुहोस्, तर बच्चालाई छोप्ने होइन ।
  •  आफ्नो बच्चालाई एक्लै नछाड्नुहोस्
  •  आफ्नो हात सधे सफा राख्ने । घर आउने बित्तिकै आफु तथा आफ्ना अन्य बच्चाको हात धुन नबिर्सिने । हात धोएर मात्रै शिशुलाई छुने।
  •  घरमा प्रायः छोइरहने सतहहरु दिनमा नियमित रुपमा डिसइनफेक्टेन्ट स्प्रे तथा वाइपरले सफा गरिरहने ।
  •  कुरा बुझ्ने उमेरका बालबालिकालाई हातले अनुहार छुने बानीलाई छाड्न लगाउने ।

इण्डियन एक्सप्रेसकाे सहयाेगमा ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *