दाँत खिइने समस्या र उपचार

हेल्थपोस्ट नेपाल

मानिसहरु खानपान र शारीरिक सरसफाईमा ध्यान दिए पनि मुख स्वास्थ्यको सवालमा भने कमैले ध्यान दिइरहेका हुन्छन्।

खानेकुराहरु खाँदा दाँतहरुमा खाना अड्किएर बस्ने गर्दछ।

मुख स्वास्थ्यमा ध्यान नदिँदा र दाँतको सरसफाईमा वेवास्ता गर्दा किटाणुहरुले दाँत बिगार्न थाल्दछ।

दाँत मात्र नभई ती किटाणुहरुले गिजामा समेत असर गरी भित्री नसाहरुलाई पनि असर गर्दछ।

हामीले खाएका खानेकुराहरु दाँतमा अड्केर बस्दा, आफ्नै शरीरमा रहेका ब्याक्टेरियाहरुले त्यस खानालाई आक्रमण गर्ने गर्दछन्।

किटाणुहरुले आक्रमण गरेर दाँतमा एसिड बनाउने गर्दछ। सोही एसिडले दाँतमा भएको इनामेललाई बिगार्ने काम गर्छ। यसै कारण दाँत खिइने वा कुहिने, सडन भएर दाँत कालो हुँदै जाने गर्दछ, जसलाई दाँतमा किरा लागेको भन्ने गरिन्छ–यसलाई चिकित्सकीए भाषामा ‘डेन्टल केरिज’ पनि भनिन्छ।

शुरुमा दाँत किराले खान थालेपछि खैरो हुन थाल्दछ। बिस्तारै यही खैरो रङ कालो हुँदै जान्छ। दाँत र गिजाको बीचमा लामो समयसम्म खानेकुराहरु हुँदा लेउ जस्तो लाग्ने भएकै कारण दाँत कालो हुन पुग्दछ।

कालो भएको दाँतलाई पहिचान गरेर उपचारमा जादाँ चिकित्सकहरुले यसको सफाइ गर्ने गर्दछन्।

किरा भएको दाँतमा सफा गरेर रङगले फिलिङ गर्ने, चाँदी भर्ने वा सिमेन्ट भरिदिने गरिन्छ।

दाँतको सरसफाईको अभावकै कारण गिजामा पनि समस्या देखिन थाल्दछ। यसले गिजा सुन्निने, रगत आउने, दाँत माझ्दा पनि रगत आउने समस्या आउने गर्दछ। यस्तो समयमा दाँत एकमै संवेदनशील भइराखेको हुन्छ, त्यसैले थोरै चलाउँदा पनि रगत आउने गर्दछ।

दाँतमा फोहोर मइिला जम्मा भएकै कारण श्वास गन्हाउने समस्या पनि हुन्छ। यो पनि गिजाको समस्याकै कारण हुने गर्दछ। कतिपय केशरुमा पेटमा समस्या हुँदा पनि श्वास गन्हाउने गर्दछ।

यस्तो समस्या लिएर आउने विरामीहरुलाई मेसिनबाट दाँत र गिजा वरिपरि जमेको फोहोरहरुलाई सफा गर्ने गरिन्छ।

शुरुमा दाँतमा दागहरु जस्तै देखिने वा किरा लागेको जस्तै देखिन्छ। बेलैमा उपचार तथा चिकित्सकसँग सल्लाह लिएनौं भने किरा लागेको ठाउँमा गहिरो असर हुँदै जान्छ। दाँत भन्दा पनि भित्र किरा लाग्दै जान्छ।

दाँतमा तीन तह हुन्छ, इनामेल, डेन्टिन र पल्प।

इनामेलमा किरा लाग्दा मानिसहरुलाई थाहा पनि हुँदैन। किरा लागेको देखिँदैन र नदेखेसम्म मानिसहरुले याद पनि गर्दैनन्।

दाँतको दोस्रो तह ‘डेन्टिन’ सम्म पुग्दा दाँतमा सिरिङ सिरिङ हुन थाल्छ। तातो चिसो खाँँदा पनि समस्या आउन थाल्दछ।

यो बेलामा पनि उपचार गरेन वा किरा लाग्नबाट रोकिएन भने दाँत भित्र भएको नसा ‘पल्प’ सम्म पुग्दछ। पल्पको तहमा पुगिसकेपछि दाँत एकदम दुख्न थाल्ने गर्दछ। यस्तो अवस्थालाई ‘पल्पाइटिस’ पल्पमा संक्रमण भएको भनिन्छ।

यो अवस्थामा आइपुगेर उपचार गराउँदा पनि दाँतलाई बचाउन सकिन्छ। ‘रुट कनाल’, पल्पको शल्यक्रिया गरेर पनि उपचार गराउन सकिन्छ।

तर यति हुँदा पनि दुखाई सहेर बसिरहे वा फामेर्सीबाट दुखाईको औषधी खाँदै बसिरहे संक्रमण झनै बढ्दै जाने गर्दछ, जसका कारण कहिलेकाँही गाला सुन्निने, पाक्ने हुन सक्दछ भने दाँतलाई झिक्नै पर्ने अवस्था पनि आउन सक्छ। दाँतको जराहरुलाई संक्रमण भएर ठूलै घाउ हुने, हड्डहरुमा पनि समस्या आउन सक्दछ।

पछिल्लो समयमा दाँतको समस्या लिएर आउने मानिसहरुको संख्या बढ्दै जान थालेको छ। ओपिडिमा दाँतको समस्या भएकाहरुको भिड लाग्न थालेको छ।
कोरोना संक्रमणका कारण बीचमा मानिसहरु अस्पतालमा उपचारकालागि कमै आउने गरेका थिए। निषेधाज्ञा खुकुलो भएसँगै पुन मानिसहरु बढ्न थालेका छन्। हरेक दिन ४० जना मानिसहरु अस्पताल आउने गरेका छन्।

कारणः

हाम्रो खानपानकै कराण दाँतका समस्या लिएर मानिसहरु अस्पताल आउने संख्या बढ्न थालेको हो।

पहिले जस्तो ताजा खानेकुराहरु खाँदा दाँत सफा भइराख्ने गर्दथ्यो, तर आजभोली फास्टफुड, तारेको, पोलेका खानेकुरा, प्याकेटका बढी खान थालिएको छ। चाउचाउ, चक्लेटहरु बढि खाँदा दाँतमा धेरै अड्कीने गर्दछ।

ताजा खानेकुरा, फलफुल, काँचो तरकारीहरु खाँदा दाँतलाई पनि अभ्यास हुने र सफा गर्ने गर्दछ।

रोकथाम

सरसफाई नै यसको रोकथाम हो। दिनमा दुईपटक दाँत माझ्ने गर्नुपर्छ। खाना खाएपछि मुख कुल्ला गर्ने गर्नुपर्छ।

राती खाना खाएपछि पनि दाँत माभ्नुपर्छ भने, दाँत माझेपछि केही पनि खानु हुँदैन।

फलफुल तथा तरकारीहरु दाँत सफा राख्न मद्धत भएका कारण यस्ता खोकुराहरु खानु उपयुक्त हुन्छ। खस्रो खालको वा काँचो सलादहरुले यसमा मद्धत गर्छ।

समयमै उपचार गर्नु राम्रो हुन्छ भने हरेक ६÷६ महिनामा दाँतको सफाई र उपचार गर्नुपर्छ। मानिसहरु नदुखेसम्म दाँतको उपचार गर्न आउँदैनन्। यो बानीलाई हटाउनुपर्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *