नेपाललगायतका गरिब मुलुकलाई तत्काल खोप उपलब्ध गराउन एम्नेस्टी र अभिनेता पेलिनको आग्रह

हेल्थपोस्ट नेपाल

जोखिममा रहेका देशलाई खोप सहायता प्रदान गर्न बेलायत सरकारलाई एम्नेस्टी इन्टरनेसनल र अभिनेता माइकल पेलिनले आग्रह गरेका छन्।

नेपाललगायत विश्वका अधिकांश देश कोरोना महामारीको संकटसँग जुधिरहेका भन्दै उनीहरुले खोप सहयोगका लागि बेलायती सरकारलाई आग्रह गरेका हुन्।

नेपालमा १४ लाख भन्दा बढी जोखिममा रहेका व्यक्तिहरूले मार्चमा अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका थिए र उनीहरूले जुन महिनाको अन्त्यतिर दोस्रो डोज लगाउनु पर्ने थियो। तर, खोपको विश्वव्यापी अभावले नेपालमा खोपको अपेक्षित आपूर्ति हुन सकेन र उक्त खोपको दोस्रो मात्रा लगाउने समयसीमा जुलाईसम्मका लागि लम्ब्याइयो।

अन्तर्राष्ट्रिय समुदायसँग गरिएको आह्वानपश्चात जापानले यस अभावलाई पूर्ति गर्ने प्रतिबद्धता जनाएको छ।

तर, पर्याप्त सहयोग नपाएसम्म कोभिड–१९ खोपको अभावले नेपाल र अन्य धेरै देशहरू कोभिडविरुद्धको लडाईंमा पछाडि पर्ने निश्चितप्राय: छ।

माइकल पेलिनको भनाईः

मैले नेपाल भ्रमण गरेको छु र त्यहाँका धेरै मानिसहरूलाई भेटेको छु। नेपालमा १० लाखभन्दा बढीको ज्यान जोखिममा रहेको कुरा थाहा पाउँदा म विक्षिप्त भएको छु।

सबैभन्दा जोखिममा रहेकाहरूले अझै पनि कोभिड-१९ विरुद्धको खोपमा पहुँच पाउन नसकिरहेको नेपाल र अन्य देशहरूमा आफ्नो खोप तुरुन्तै आपूर्ति गर्न म बेलायती सरकारलाई आह्वान गर्दछु।

पेरूदेखि ट्युनिसिया वा इन्डोनेसियादेखि पपुवा न्युगिनीसम्ममा कोभिड-१९ ले लाखौंको ज्यान ध्वस्त पारेको छ र अझै विध्वंस मच्चाइरहेको छ।

विश्वभरि अहिले ४० लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ। स्वास्थ्य सेवा प्रणालीहरूले चाप थेग्न सकिरहेका छैनन् र विशेषगरी खोपको चरम अभाव भएको संसारको धेरै स्थानमा आशाको दीप अझै देख्न सकिएको छैन।

अहिलेकै गतिमा सबै देशहरूलाई पूर्ण खोप लगाउन ५७ वर्ष लाग्नेछ भनेर आङ्कलनहरूले देखाएका छन् र पछिल्लो तथ्याङ्कले देखाएअनुसार धनी राष्ट्रहरूमा ८५ प्रतिशतले खोप लगाइसकेका छन् जबकी न्यून आय भएका देशहरूमा भने ०.३ प्रतिशतले मात्र खोप पाएका छन्।

आफ्नो पूरै जनसंख्यालाई तीन पटकभन्दा बढी खोप लगाउन पर्याप्त हुने खोपको मात्रा उत्पादनका लागि माग गरेको बेलायतजस्ता देशहरूले अहिले देखिएको विश्वव्यापी खोप असमानतालाई समाधान गर्न आफ्नो भूमिका खेल्नुपर्छ।

एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारः

लगभग ६ महिनामा बेलायतले आफ्नो जनसंख्याको ५० प्रतिशत भन्दा बढीलाई पूर्ण खोप लगाइसकेको छ। जबकी नेपालले आफ्नो जनसंख्याको ३.९७ प्रतिशत मात्रलाई पूर्ण खोप लगाउन सकेको छ र संक्रमणको अर्को घातक लहरकाबीच निर्धारित समयअनुसार प्राप्त गर्नुपर्ने कोभिड-१९ विरुद्धको खोपसमेत प्राप्त गरेको छैन।

यी तथ्यांकहरूले अक्षम्य असमानताको स्पष्ट चित्रण गर्दछन्।

आफ्नो छिमेकीको घर जलिरहँदा धनी राष्ट्रहरूले केवल आँखा चिम्लिए बस्न मिल्दैन। हामी भावमा कुरा गरिरहेका छैनौं। हामी मानिसको जीवनको अधिकारको बारेमा कुरा गरिरहेका छौँ।

जापानले आगामी केही हप्ताहरूमा १६ लाख डोज खोप नेपाल पठाउने प्रतिबद्धता जनाएको छ जुन स्वागतयोग्य कदम हो। तर दुःखको कुरा के भने यो केवल घाउमा मलम मात्र हो, विश्वव्यापी समाधान होइन।

नेताहरूले चाँडोभन्दा चाँडो के महसुस गर्नु पर्दछ भने, भाइरसले सीमाको मतलब राख्दैन।

खपत हुन नसकेर कुनै पनि समयमा खोपको मिति गुज्रिने अवस्था भएका अन्तर्राष्ट्रिय समुदाय विशेषगरी यूके, युरोपियन युनियन, क्यानडा र संयुक्त राज्य अमेरिकाजस्ता धनी देशहरूबाट साहसिक कार्यहरू हुनु आवश्यक छ।

उनीहरूले सही कुरा गर्नुपर्दछ र यी खोपहरूको विश्वव्यापी रूपमा न्यायोचित पुनः वितरणका लागि तुरून्तै एउटा विस्तृत कार्य योजना ल्याउनु पर्छ।

अगाडि बढ्ने क्रममा बेलायत र अन्य देशहरूले पनि खोप उत्पादनको अधिकारलाई तुरुन्तै हटाउनुपर्छ जसले विश्वव्यापी माग पूरा गर्न उत्पादनमा गुणात्मक वृद्धि सुनिश्चित गर्ने छ।

खोपको चरम अभाव भोगिरहेका धेरै देशहरूमध्ये नेपाल केवल एउटा मात्र देश हो। औषधी कम्पनीहरूलाई खोपसम्बन्धी ज्ञान र प्रविधि बाँडफाँट गर्न लगाउने तथा बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारले बढ्दो विश्वव्यापी उत्पादनलाई अवरोध नपुर्याएको सुनिश्चित गर्ने लगायतका खोप असमानतालाई सम्बोधन गर्नका लागि महत्त्वपूर्ण कदम चालेर मात्रै खोप आपूर्तिको संकटलाई दीर्घकालीन हिसाबमा समाधान गर्न सकिन्छ।

प्रयोगमा नआएका खोपहरू तत्काल बाँड्न र विश्वव्यापी खोप असमानतालाई गम्भीरतापूर्वक संबोधन गर्न अन्य ठोस उपायहरू चाल्न एम्नेस्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय समुदाय विशेषगरी बेलायतजस्ता धनी देशहरूलाई आह्वान गरिरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *