केएमसी सञ्चालक सुनिल कुमार शर्मा विरुद्ध उजुरी, सुविधा कटौती गरेको भन्दै कर्मचारी आन्दोलित

हेल्थपोस्ट नेपाल

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

७ बुँदे माग राख्दै तीन दिनदेखि उनीहरू अस्पताल गेट बाहिर आन्दोलनसँगसँगै रिले अनसन पनि बसिरहेका छन्।

अस्पताल प्रशासनले ‘कर्मचारी सेवा सर्त विनियम २०७७’ ल्याएपछि उक्त व्यवस्था खारेज गर्न माग राख्दा उनीहरु आन्दोलित बनेका हुन्।

काठमाडौं मेडिकल कलेज स्वास्थ्य कर्मचारी यूनियनका महासचिव प्रेम सुवालले नयाँ व्यवस्थापक सुनिल कुमार शर्माले अस्पतालको सेयर खरिद गरेसँगै कर्मचारीहरुलाई मर्कामा पार्नेगरी आफूखुसी कर्मचारी सेवा सर्त विनियम २०७७ लागू गरेको बताए।

‘हामीले २०६७ सालमा माग गरे अनुसार विनियम लागू भएको थियो जसमा कर्मचारीदेखि कर्मचारीका परिवारलाई ९५ प्रतिशत उपचार छुट, स्थाई कर्मचारीहरुलाई सेवा प्रवाह गरे अनुसार सेवा सुविधा दिने व्यवस्था गरिएको थियो। तर नयाँ व्यवस्थापन आउने वित्तिकै सबै सेवाहरु कटौती गरेको छ,’ सुवालले बताए।

 

त्यस्तै, स्वास्थ्य कर्मचारीहरु, पारामेडिक्स,नर्सहरुलाई अस्पतालबाट निकाल्ने, सरुवा गर्ने तथा अस्पतालमा पस्न नदिने जस्ता गतिविधिहरु भइरहेको उनी गुनासो गर्छन्।

कर्मचारी तथा टेडयूनियन पदाधिकारीलाइ अनाश्यक दुख दिने कार्य बन्द गर्न, गत आर्थिक बर्षमा वृद्धि भएको तलव तथा कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन, स्थायी प्रकृतिको काममा ठेक्का प्रथा द्दारा कर्मचारी नियुक्ती बन्द गर्ने लगायतका माग राखेका छन्।

सुवालका अनुसार श्रम मन्त्रालयमा अस्पतालका व्यवस्थापक विरुद्ध उजुरी दर्ता गराएकै कारण युनियनका अध्यक्ष मदनलाल श्रेष्ठलाई काभ्रे स्थित सामुदायिक अस्पतालमा सरुवा गरेको छ।
‘त्यहाँ गएर काम गर्न नसक्ने बताएपछि उहाँलाई कार्यालय आउन पनि दिएन भने गेटबाट छिर्न पनि निषेध गरिएको छ,’ उनले भने।

त्यस्तै, अस्पतालका स्थाई कर्मचारीहरुलाई कन्ट्रयाक्ट बेसिसमा काम गर्न र अस्थाई कर्मचारीलाई धमाधम निकाल्न खोजिरहेको उनीहरूको गुनासो छ। अस्पतालमा झण्डै ११ सय स्थाई कर्मचारीहरु छन् भने करिब १५० अस्थाई कर्मचारीहरु रहेका छन्। कर्मचारीहरुले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने जनाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *