व्यापारीलाई स्वास्थ्य राज्यमन्त्री बनाउनु गल्ती भयो, देउवाले भने– ख्याल नै गरिएन, अब यस्तो हुँदैन

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि गठबन्धनभित्रै असन्तुष्टि चुलिएको छ।

मन्त्री तोक्नबारे छलफल नै गरी प्रधानमन्त्री देउवाले शिक्षा एवं स्वास्थ्य व्यवसायी श्रेष्ठलाई राज्यमन्त्री बनाएपछि गठबन्धनआवद्ध दलभित्र असन्तुष्टि चुलिएको हो।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले सल्लाह नै नगरी व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको आपत्ति जनाएका छन्।

गठबन्धनआवद्ध कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चालगायतका दलका नेताहरूले प्रधानमन्त्री देउवालाई ‘श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको’ भनेर प्रश्न गरेका थिए।

मन्त्री नियुक्त गर्नअघि गठबन्धनभित्र सल्लाह गर्नुपर्ने उनीहरूको भनाइ थियो। श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्दा गठबन्धनभित्र सल्लाह गर्न नपाए पनि आगामी दिनमा यस्तो नहुने देउवाले बताएका थिए।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरू सरकारमा सहभागी नहुने प्रष्ट पारिसकेको बताउँदै मन्त्री अथावा राजनीतिक नियुक्त गर्दा गठबन्धनभित्र सल्लाह गरेरमात्र गर्न सुझाव दिएका थिए।

केसीको भनाइप्रति अन्य राजनीतिक दलका नेताहरूले पनि समर्थन जनाएका थिए।

गठबन्धनमा आवद्ध रहे पनि सरकारको ठीक कुराको समर्थन र गलत कुराको विरोध गर्ने केसीले बताएका थिए।

‘यसपटक भइलहाल्यो, अबदेखि हुँदैन। विरोध होला भनेर ख्याल नै गरिएन,’ देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘आइन्दा यस्तो हुँदैन, सल्लाहबाटै सबै थोक हुन्छ।’

गठबन्धनको बैठकमा चाँडै मन्त्रिपरिषद विस्तार गर्ने दलहरू सहमत भएका छन्। बैठकमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालतर्फबाट सहभागी विजय पौडेलले आफूहरू सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ।

एमाले माधव पक्ष र राष्ट्रिय जनमोचर्ना सरकारमा सहभागी नहुने भएपनि प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र जसपालाई चाँडै मन्त्रीहरूको नाम उपलब्ध गराउन आग्रह गरेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम चाँडै उपलब्ध गराउने देउवालाई बताएका छन्।

बैठकमा न्यूनतम साझा कार्यक्रमलाई चाँडै टुंग्याउनुका साथै छिटोभन्दा छिटो मन्त्रिपरिषद विस्तार गर्न सैद्धान्तिक सहमति भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

यसैगरी संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल अगाडि बढाउनुका साथै कोरोना खोपलाई व्यापक रूपमा विस्तार गर्ने विषयमा कुराकानी भएको उनले बताए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *