नेपालमा तीन भेरियन्टको रजाईं

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहर आउने चेतावनी दिँदै आइरहेका बेला नयाँ भेरियन्टहरु पनि देखिन थालेका छन्।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै नेपालमा पुन: डेल्टा भेरियन्ट र नयाँ भेरियन्ट कप्पा पनि भेटिएको पुष्टि गरेको छ। मन्त्रालयकाअनुसार हालसम्म नेपालमा तीनवटा भेरियन्ट पुष्टि भएको छ।

अल्फा (बि.१.१.७), डेल्टा भेरियन्ट (बि.१.६१७.२) र कप्पा भेरियन्ट (बि.१.६१७.१)। यी तीनै वटा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न र भेरियन्ट अफ इन्ट्रेस्टको उपमा दिएको छ। यी भाइरसहरु छिटो फैलिने तथा सबै समूहमा जोखिम निम्त्याउन सक्दछ।

नेपालमा कोरोना भाइरस भेरियन्टको जीन सिक्वेन्सिङ गर्ने कुनै उपकरण छैन। हरेक पटक संकलन गरिएका नमुनालाई सिक्वेन्सिङ गर्नका लागि भारतकै भर पर्नु परेको छ।

गत जेष्ठ र असार मसान्तसम्म संकलन गरिएको नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी’ मा पठाएको थियो।

असार ३० गते परीक्षण गर्न पठाएको ४७ वटा नमुनाको परीक्षण भई असार १२ गते मात्र आइपुगेको थियो। नेपाल सरकारले जीन सिक्वेन्सिङ गर्ने उपकरण खरिद गर्ने प्रकृया सुरु गरेको एक वर्ष भन्दा बढी बितिसक्दा पनि हालसम्म नेपाल आइपुग्न सकेको छैन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डाइरेक्टर डा. रुना झाले अबको एक महिनामा परीक्षण हुने गरी उपकरण खरिदको तयारी गरिएको बताइन्।

‘खरिद प्रकृयामा विभिन्न काम हुन्छ, समय लाग्छ। त्यस्तै, जनशक्तिलाई उपकरण प्रयोगबारे तालिम पनि दिन बाँकी छ। यी सबै प्रक्रिया मिलाउनुपर्ने भएका कारण ढिला भएको हो,’ उनले भनिन्।

उपकरण खरिदमा ढिलाइ भएका कारण कति जनामा कुन भाइरस फैलिइरहेको छ भन्ने सरकारसँग यकिन तथ्याङ्क छैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *