रक्त संकलनमा लगानी बढाउन सरकारलाई रेडक्रसको आग्रह

हेल्थपोस्ट नेपाल

 

नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रले आफ्नो ५५ औं स्थापना दिवस मनाइरहेको छ।

केन्द्रले विगत ५५ वर्षदेखि रगतको आवश्यकता पूर्ति गर्दै आएको छ।

अब भने केन्द्रले आर्थिक समस्या पर्न थालेको भन्दै रक्त संकलनमा सरकारको सहयोगको अपेक्षा गरेको छ।

उसले आर्थिक समस्या पर्न थालेको र रगत संकलनमा पनि कमी आउन थालेपछि सरकारलाई गुहारेको छ।

रक्त संकलन तथा भण्डारणमा सरकारको लगानी कम रहेको केन्द्रले बताएको छ।

केन्द्रका निर्देशक दिव्यराज पौडेलले हाल आर्थिक समस्याका कारण रक्त संकलन कार्यक्रम प्रभावित हुन थालेको बताए।

उनले हालसम्म स्वास्थ्य विज्ञानमा शरीरका विभिन्न अंगहरुको कृतिम अंग बनाइ त्यसलाई बदल्न सक्षम भएपनि रगतलाई बदल्न कृतिम रगत नबनेको भन्दै उपचारका लागि मानिसकै रगत आवश्यक भएकाले सरकारले यसमा ध्यान दिनुपर्ने बताए।

सरकारले रेडक्रसलाई आवश्यक पर्ने समाग्रीहरुमा कुनैमा पनि सहुल्यत नदिएको उनको गुनासो छ।

‘रगत वितरण नि:शुल्क भएपनि त्यसलाई चाहिने समाग्रीहरु राख्न ठूलो लगानी चाहिन्छ। तर, स्वास्थ्य मन्त्रालयले हालसम्म यस विषयमा कुनै बजेट छुट्याएको छनै,’ पौडेलले भने।

‘समुदायस्तर सजग भएकै कारण रक्त संकलन गर्ने कार्यक्रममा सक्रियता देखाइरहेका छन् तर सरकारको पनि सक्रियमता आवश्यक देखिएको छ।’, उनले भने।

हालसम्म रेडक्रससँग २ लाख ४२ हजार रक्तदाता आवद्ध रहेको जनाइएको छ। ‘हामीले यस वर्ष ३ लाख ३१ हजार पिन्ट मात्र रगत वितरण गर्न सम्भव भएका छौं। नियमित रक्तदान गर्ने व्यक्तिहरुमा कमी आउँदा रगत वितरणमा पनि कमी आएको छ,’ पौडेलले भने।

उनका अनुसार महिला र युवा वर्गहरुले कमै मात्र रक्तदान गर्ने गरेका छन्।

‘जम्मा १६ प्रतिशत महिला रक्तदाता रहेका छन्। महिला र युवाहरुलाई नियमित रक्तदान गर्न जनचेतना जगाउनुपर्ने आवश्यक देखिन्छ,’ पौडेलले भने।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी पाँच स्थानमा प्रदेश रक्त सञ्चार सेवा संचालन गरिरहेको छ।

यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिरहेको छ।

विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ। नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा इकाइहरू क्रियासिल छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *