बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप आउँदै

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स) सुविधाअन्तर्गत फाइजरको कम्पनीको ६० लाख डोज कोरोना खोप उपलब्ध हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार असोज देखि चैत्र सम्ममा कोभ्याक्सबाट नि:शुल्क २० प्रतिशत नागरिकका लागि १ करोड १३ लाख डोज खोप उपलब्ध हुने छ।

त्यसैगरी, बालबालिकाको लागि फाइजर कम्पनीको ६० लाख डोज खोप सहयोग प्राप्त हुने मन्त्रालयका अधिकारीले बताएका छन्।

मन्त्रालयले आगामी चैतसम्म चार करोड खोप प्राप्त गर्ने प्रक्षेपण गरेको छ ।

सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले चैतसम्म चार करोड बढी खोप प्राप्त गर्ने प्रक्षेपण गरेका हुन्।

असोजसम्म १ करोड ५ लाख ४८ हजार र असोजदेखि चैतसम्म ३ करोड २३ लाख खोप नेपालाई प्राप्त हुने मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए।

कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १५ लाख र १२ वर्षदेखि १८ वर्षसम्मका ४९ लाख गरी २ करोड ६५ लाख नागरिकलाई खोप ल्याउने लक्ष्य सरकारको छ । १२ वषदेखि १८ वर्षमाथिकालाई पनि खोप ल्याउने प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

कति खोप आयो?

कोभ्याक्समार्फत १८ लाख ८२ हजार ८ सय ५० डोज खोप नेपाल आएको छ । जसमा कोभिसिल्ड ३ लाख ४८ हजार, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८ सय ५० डोज खोप प्राप्त भएको छ ।

वैदेशिक अनुदानबाट २९ लाख डोज खोप प्राप्त भएको छ । जसमध्ये चीनबाट १८ लाख र भारतबाट ११ लाख डोज खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

खरिदबाट ५० लाख डोज खोप आएको छ । भारतबाट कोभिसिल्ड खोप १० लाख डोज र चीनबाट भेरोसेल खोप ३२ लाख आएको छ । चीनबाट ४० लाख खरिद गरेकोमा अब ८ लाख डोज खोप शुक्रबार नेपाल आइपुग्ने कार्यतालिका छ ।

मन्त्रालयका अनुसार जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज खोप भदौभित्र प्राप्त हुनेछ ।

कोभ्याक्समार्फत नै भदौ अन्तिममा थप ३ लख ४८ हजार खोप प्राप्त हुने अनुमान मन्त्रालयको छ । साउनको अन्तिम साता चीनले अनुदानमा दिएको १६ लाख डोज खोप प्राप्त हुनेछ ।

सिरमसँग खरिद गरेको २० लाखमध्ये आउन बाँकी १० लाख डोज खोप भदौको दोस्रो साता आउने मन्त्रालयले जनाएको छ । भदौ मसान्तसम्म चीनबाट खरिद गरेर थप ६० लाख डोज खोप ल्याउने मन्त्रालयले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *