तेस्रो लहरका संभावित पथहरु

पहिलो पटक चीन सरकारबाट खोप (भेरोसेल) सहयोगमा प्राप्त गर्दै गर्दा कोरोनाले भने दोस्रो लहरको ‘श्री गणेश’ गर्दै थियो। खोप केन्द्रहरुमा देखिएका अव्यवस्थित दृष्यले कोरोना फैलने सक्ने चेतावनी विज्ञहरुले दिइरहेका थिए।

सो समयमा खोप लगाउन गएको ८–१० दिनमा संक्रमित भयो भन्दै परामर्श लिन आउनेहरु हिजै जस्तो लाग्छ। मसँग मात्र नभई अरु समकक्षी चिकित्सकहरुसँग पनि यस्ता अनुभव छन् होला।

हाल अमेरिकी तथा चीन सरकारबाट खोप अनुदानमा वा खरिद गरेर खोप अभियानलाई निरन्तरता दिने योजनामा सरकार देखिन्छ। तर, खोप केन्द्रहरुमा देखिएको अस्तव्यस्तताले निरन्तरता पाए कोरोना फैलने क्रमले निरन्तरता पाउने भने निश्चित प्रायः छ।

अस्पताल वा वडाका कुनै पनि खोप केन्द्रहरुमा लामबद्ध हुँदा दूरी कायम गरेको देखिँदैन। अस्पतालमा खोप लगाउन आउनेहरुलाई दूरी कायम गर्न अनुरोध–प्रयासहरु गरिएका भए पनि सफल भएको छैन।

नागरिक खोप पाउन हतारमा देखिनु, आफ्नो स्थान अरुले ओगट्ने डर देखिनुले भिड निकै बढेको छ।

कोरोना संक्रमण रोक्न कम्तीमा एकअर्कासँग एक मिटरको दूरी कायम गर्नुपर्छ। यसमा नागरिकले मात्र नभई खोप केन्द्रहरुले पनि खोप लगाउने मात्र आफ्नो जिम्मेवारी हो भनेर व्यवस्थापनलाई बेवास्ता गर्नु हुँदैन अर्थात् व्यवस्थापनमा पनि चुस्तता देखाउनु पर्दछ।

खोप केन्द्रहरुमा धेरै मानिसहरु मास्कमा त देखिन्छन् तर, सही तरिकाले लगाएको भने पाइँदैन। सही तरिकाले मास्क नलगाउनु भनेको मास्क नै नलगाउनु सरह हो। लामबद्ध रहँदा एकअर्कासँग संवाद गर्ने र संवाद गर्दा मास्क चिउँडो वा नाकमूनी राख्ने सामान्यजस्तो देखिन्छ। जसले संक्रमण फैलने सम्भावना बढाउँछ।

मसँग पनि आफन्तले खोप केन्द्रमा जाँदा कोरोना संक्रमित हुनु परेको, परिवारमा फैलिएको र अन्तत्वगत्वा मृत्युवरण गर्नु परेको तितो सम्झना छ।

केही दिनयता पूर्णखोप लगाएकाहरुले खोपको प्रभावकारिता हेर्न एन्टिबडीको परीक्षण गर्दै मसँग राय माग्ने गरेका छन्। तीमध्ये केहीमा एन्टिबडीको स्तर सन्तोषजनक देखिएन÷थिएन।

यसरी पूर्णखोप लगाएका कतिपयमा एन्टिबडी विकास नभएको हुनसक्छ। खोप लगाएकाहरुले आफू सुरक्षित छु भन्ने ठान्नु हुँदैन। खोप लगाएका व्यक्ति पनि संक्रमित भई जटिल अवस्थामा जान सक्छन्।

पूर्णखोप लगाएकामा एन्टिबडी विकसित नभए के गर्ने भन्नेमा सम्बन्धित निकाय पनि मौन देखिन्छ। पूर्णखोप लगाएर एन्टिबडीको स्तर सन्तोषजनक देखिए पनि संक्रमण हुनसक्छ। यस्तो अवस्थालाई ‘ब्रेक थ्रु इन्फेकसन वा केश’ भनिन्छ। नेपालमा यस्ता ‘ब्रेक थ्रु केश’ कति छन् भन्ने यकिन तथ्यांक छैन तर, यस्ता मानिसहरुसँग मेरो सम्पर्क भने नियमित जस्तो भैरहेको हुन्छ। जुन राम्रो संकेत भने होइन।

खोप लिएकाहरुमा नगन्य मात्रामा भाइरस हुने तर, सामान्यतः स्वास्थ्य जटिलता भने हुँदैन। हाल टोकियो (जापान) मा भइरहेको ओलम्पिकमा पनि केही खेलाडी–डेलिगेटहरुमा यस्तै ‘ब्रेक थ्रु केश’ देखिएको छ।

‘ब्रेक थ्रु केश’ नयाँ भेरियन्टसँगै देखिने गरेको पनि गरेको छ। तर, यसमा भाइरसको मात्रा कम हुनाले संक्रमण फैलाउने सम्भावना कम त हुन्छ तर, पूर्णरुपमा फैलाउँदैन भन्न सकिँदैन। हाल अमेरिकामा तीव्र गतिमा फैलिरहेको ‘डेल्टा’ भेरियन्ट ‘ब्रेक थ्रु केश’ मार्फत फैलिरहेको अनुमान गरिएको छ। तसर्थ समुदायमा धेरैभन्दा धेरैले खोप नलगाएसम्म जनास्वस्थ्का मापदण्डलाई निरन्तरता दिनु आवश्यक छ।

अन्तमा, खोप केन्द्रहरु अव्यवस्थित हुनु, नागरिकले जनस्वास्थको मापदण्डलाई व्यवहारमा लागू गर्न नसक्नु, सबै खोप प्रापकहरुमा एन्टिबडीको स्तर सन्तोषजनक नहुनु, र नयाँ–नयाँ भेरियन्ट देखिँदै गर्दा ‘ब्रेक थ्रु केश’ हरु पनि बढ्दै जाँदा भाइरस समुदायमा फैलने क्रम जारी रहेको देखिन्छ।

आगामी दिनहरुमा हालसम्म संक्रमित नभएका तथा खोप लगाउन नपाएकाहरु बढी जोखिममा हुनेछन्। केही दिनको विश्रामपछि मसँग फेरि परामर्श लिने संक्रमितहरुहरुको संख्या बढ्दै गएको छ। यसले तेस्रो लहरको संभावनाको आशंका थापिदिँदा फैलने कारणहरुलाई सम्बोधन गर्न सकेमात्र दोस्रो लहरमा देखिए जस्तो अवस्था–भवितव्यता फेरि बेहोर्नु पर्ने छैन।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *