आजदेखि मनसुन थप सक्रिय, वर्षा कहिलेसम्म?

हेल्थपोस्ट नेपाल

 

आजदेखि मनसुन थप सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक विस्तारै आउने क्रम सुरु भएकाले आजदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद वरुण पौडेलले बताए।

‘उक्त रेखा नेपालको तराई भू-भागसम्म आइपुग्ने भएकाले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो’, मौसमविद् पौडेलले भने।

सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा, मंगलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ भने बुधबार देशैभरी धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भई थोरै स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले देशभर अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा अहिले जारी रहेको महाशाखाले जनाएको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको हुनाले पहाडी भू-भूगमा भू-क्षय, तथा पहिरो र गेग्रान बहावको जोखिम रहेको बताएका छ। विभागले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *