अस्पताल सञ्चालक श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको साँचो, कहाँ–कहाँ छ लगानी ?

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद् उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएका छन्। उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन्।

उनी अस्पताल, विद्यालय तथा कलेज सञ्चालक हुन्। उनी व्यवसाय हुँदै राजनीतिमा होमिएका हुन्।

कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चर्को दबाब भइरहेका बेला प्रधानमन्त्री देउवाले राज्यमन्त्री नियुक्त गरेका हुन्। मन्त्रिको जिम्मेवारी भने प्रधानमन्त्री आफैले राखेका छन्।

प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत दिएको थियो। तर उनलाई भने सिंहदरबारमै प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

यसअघि प्रधानमन्त्रीले नियुक्त गरेका मन्त्री तथा राज्यमन्त्रीहरूलाई राष्ट्रपति कार्यालयमै सपथ खुवाउने परम्परा थियो।

कहाँ–कहाँ छ लगानी ?

श्रेष्ठले केही समयअघि ‘हस्पिटल चेन’ बनाउने योजनामा अघि सारेका थिए। ललितपुरको एकान्तकुनामा हेलोइस नामक ‘बुटिक अस्पताल’ खोल्ने अभियानको नेतृत्व पनि श्रेष्ठले गरेका छन्।

५० करोडको लगानीमा ५ वटा अस्पताल चेन बनाउने श्रेष्ठको योजना छ। कीर्तिपुरको ल्याबोरेटोरी स्कुल पनि उनको लगानी छ।

होटल, कृषि, जलविद्युत लगायतमा उनको ठूलो लगानी छ। कोभिड १९ को संक्रमण सुरु भएपछि उनले स्वास्थ्य क्षेत्रमा पनि लगानी बढाएका छन्।

निजी अस्पताल सञ्चालनको अनुमतिदेखि नियमनसम्म स्वास्थ्य मन्त्रालयले गर्ने भएकाले श्रेष्ठको स्वास्थ्य रोजाइमा परेको बुझिएको छ।

जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पतालमा पनि श्रेष्ठको नेतृत्व छ। श्रेष्ठले महेन्द्र नारायण निधी अस्पताल ट्रष्टको अध्यक्षता पनि गरिरहेका छन्।

श्रेष्ठको लगानीमा नर्सिङ कलेज पनि छ। पर्यटनका क्षेत्रमा उनले चितवनमा सिराइचुली, सेन्ट्रल पार्क लगायत होटल, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्ट एण्ड वेलनेस सेन्टरमा लगानी गरेका छन्।

पोखरामा उनको नयाँ होटल परियोजना सुरू भएको छ। कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ।

पछिल्लोपटक पनि उनी संलग्न समिति विवादमा परेको थियो। मेडिकल कलेजहरुको छानविनका लागि प्रतिनिधि सभाको शिक्षा समितिले गठन गरेको समितिको प्रतिवेदन विवादमा परेको थियो।

दोस्रो कार्यकालमा शिक्षा समितिमा राखिएकोमा ठूलो विरोध भएको थियो। निजी विद्यालयको व्यवसाय गरेको व्यक्तिलाई सोही क्षेत्रको समितिमा राखेको भन्दै आलोचना भएको थियो।

श्रेष्ठ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पूर्वअध्यक्ष समेत हुन्।

उनी लिटिल एन्जल्स बोर्डिङ स्कुलका पनि लगानीकर्ता हुन्।

खोप पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

नवनियुक्त राज्यमन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै कोरोना खोपलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

‘गरिब जनताले कसरी स्वास्थ्य सुविधा पाउन सक्छन्। पहिलो प्राथमिकता खोप व्यवस्थापनमा प्राथमिकता दिनेछ। अहिलेको प्राथमिकता खोप नै हो,’ उनले भने।

उनले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि विज्ञहरुसँग छलफल गरेर दीर्घकालीन र अल्पकालीन रणनीतिसहित काम गर्ने पनि बताए।

‘थर्ड वेभलाई लाग्न नदिन प्रिभेन्सनका लागि विज्ञहरुसँग बसेर सर्ट टर्म र लङ टर्मको स्टाटिजी बनाएर काम गर्छु,’ राज्यमन्त्री श्रेष्ठले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *