नेपालीलाई स्वास्थ्य मन्त्रालयभन्दा डाक्टर र धार्मिक गुरुहरुको विश्वास बढी

हेल्थपोस्ट नेपाल

कोरोना कहरको दोस्रो वर्ष टेक्नै लाग्दा नेपालमात्र नभई विश्व नै खोपको पछि दगुरिरहेको छ।

पहिलो वर्ष मास्क, स्यानिटाइजर तथा सुरक्षा सामग्रीहरु जुटाउन लागिपरेको विश्व हाल खोपमा टक्क रोकिएको छ। विज्ञहरुका अनुसार खोप नै महामारीको अन्तिम विकल्प र कोरोनाको अन्त्य हो।

यही कुरालाई प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठनदेखि हरेक राष्ट्रका सरकारले खोपलाई प्राथमिकतामा राख्दै आएका छन्।

हालसम्म विश्वभरि २३ वटा खोपले अनुसन्धानको तेस्रो चरण पार गरिसकेका छन् भने कैयौं मुलुकमा ती खोप लगाउन पनि सुुरु भइसकेका छन्। जस्तैः फाइजरको खोपले ९० वटा देशमा अनुमति पाइसकेको छ भने एस्ट्राजेनेकाले ११५ वटा देशमा अनुमति पाएको छ।

कति देशले आधाभन्दा बढी जनसंख्यालाई खोप लगाइसकेका छन् भने कतिले लगाउन पनि पाएका छैनन्। खोप उपलब्ध हुनुमात्र ठूलो कुरा रहेन, मानिसहरुले यसमा गर्ने विश्वास पनि महत्वपूर्ण देखिन्छ। भारतबाट अनुदानमा आएको कोभिशिल्ड खोप लगाउन शुरुमा धेरै मानिसहरु अनकनाएका थिए, विषेशगरी जेष्ठ नागरिक।

सरकारले प्राथमिकता अनुसार चिकित्सक, सुरक्षाकर्मी तथा सफाइकर्मीहरुलाई लगाएपछि जेष्ठ नागरिकहरुलाई खोपप्रति विश्वास जागेको थियो। शुरुमा कोरोना खोपको प्रभावकारिता र यसको असरबारे सुनेर केही डराएका व्यक्तिहरुले अर्को खोप उपलब्ध हुनेवित्तिकै लाम लागेर लगाउन आएका थिए। यो कुरालाई भर्खरै प्रकाशित भएको एक अध्ययनले पुष्टि गरेको छ।

‘नेचर’ नामक एक जर्नलमा प्रकाशित ‘निम्न तथा मध्य आय भएका देशहरुमा कोभिड–१९ खोपको स्वीकृति तथा हिच्किचावट’ शीर्षकमा भएको अध्ययनमा झण्डै ९७ प्रतिशत नेपालीले कोरोना खोप सजिलै लगाउने धारणा राखेका छन्।

अफ्रिका, दक्षिण एसिया र ल्याटिन अमेरिका गरि १२ वटा देशमा सर्वेक्षण गरिएको थियो। बुर्किना फासो, मोजाम्बिक, रुवाण्डा, सियरालिओन, युगान्डा, भारत, नेपाल, नाइजेरिया, पाकिस्तान, कोलम्बीया, रसिया र अमेरिकामा उक्त अध्ययन गरिएको थियो।

याले विश्वविद्यालय र सेन्टर फर स्टडी एण्ड मोबिलिटि मिलेर गरेको अध्ययनमा नेपालमा खोप उपलब्ध भएमा कुनै हिचकिचाहट नगरी लगाउने विचार रहेको देखाएको छ।

यसमा १८ देखि ५५ माथिका उमेर समूहका सबै महिला, पुरुष निर्धक्कसँग खोप लगाउन राजी भएको देखिएको छ।

उक्त अध्ययन नेपालको कैलाली र कन्चनपुर जिल्लामा गरिएको थियो जहाँ ९७ वटा गाउँलाई समेटिएको थियो।

अध्ययन अनुसार नेपालीहरु खोपको विषयमा धेरैजसोले चिकित्सक, परिवार र धार्मिक गुरु, धामीझाँक्रीलाई विश्वास गर्ने गरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले पटक–पटक सूचना जारी गरे पनि मन्त्रालयको विश्वास भने कसैले नगरेको अध्ययनले देखाएको छ।

अध्ययनमा झण्डै ४० प्रतिशत मानिसहरुले खोप लगाउने विषयमा स्वास्थ्यकर्मीहरुको विश्वास गर्ने बताएका थिए भने ३५ प्रतिशतले परिवार र १६ प्रतिशतले धर्म गुरु, धामी झाँक्री, प्रसिद्ध नेताहरुको विश्वास गर्ने गरेको बताएका थिए।

मन्त्रालयको तथ्याङक अनुसार हालसम्म ३५ लाख ८८ हजार ४०६ जनाले कोभिडविरुद्धको खोप लगाइसकेका छन्। यसमध्ये १३ लाख ६६ हजार ४६ ले मात्र पूर्णमात्रामा खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *