कोभिड-१९ खोपसम्बन्धी आममानिसका जिज्ञासा र समाधान

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम बढ्दै गएको छ। हालसम्म अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको छ भने ६४ लाख डोज खोप केही दिनमा नै भित्रिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा २७ लाख बढीले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। २७ लाख ६५ हजार ७०९ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ। हालसम्म ११ लाख २० हजार २८२ जनाले दुबै डोज लगाएका छन्।

पक्कै पनि कोरोना रोकथामको लागि अब हामीसँग तीनवटा विकल्प मात्र बाँकी छन्। ति हुन् पहिलो – भ्याक्सिन, दोस्रो – भ्याक्सिन र तेस्रो पनि भ्याक्सिन अथवा भ्याक्सिन निरपेक्ष हो भने अरु सापेक्ष हुन्।

भ्याक्सिन गाउँगाउँमा पुग्न थालेपछि हामीले लगाउने भ्याक्सिन कस्तो खाले हो, प्रभावकारिता कति छ, कति पटक लगाउनु पर्ने, असरहरु के–के हुन्, कस्ता व्यक्तिले लगाउन हुने तथा कस्ता व्यक्तिले लगाउन नहुने भन्ने प्रश्नहरु आम मानिसका मनमा उब्जिएका छन्। यो लेख अन्र्तगत यी सबै प्रश्नहरुको उत्तर दिने कोसिस गर्ने छु।

कोभिड १९ खोपको सामान्य जानकारी

यो खोपको मात्रा ०.५ मिलि हो र कोभिसिल्ड र भेरोसेल खोप दुई पटक लगाइन्छ भने जोन्सन एण्ड जोन्सन खोप एक पटक मात्रै लगाइन्छ ।

कोभिसिल्ड खोपको प्रभावकारिता ७०%, भेरोसेल खोपको प्रभावकारिता ७९% रहेको छ भने जोन्सन एण्ड जोन्सन खोपको प्रभावकारिता ६६% रहेको विभिन्न अध्ययनले देखाएको छ।

यो खोपहरु १८ वर्षमाथि उमेर समूह भित्रको नागरिकहरुले लगाउन मिल्छ भने १३ देखि १८ वर्ष सम्मको उमेर समूह भित्रका बालबच्चा हरुको लागि फाइजर खोप ल्याउने तैयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो खोप लिएपछि केही व्यक्तिहरुमा पुनः संक्रमण हुन त सक्छ तर, खोप लिइसकेपछि संक्रमण भए पनि गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ। पूर्णरुपले सुरक्षित हुन पहिलो मात्रा लगाएपछि दोस्रो मात्रा पनि लगाउनै पर्दछ।

कोभिसिल्ड खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तापछि दोस्रो डोज लगाउनु पर्दछ। भेरोसेल खोपको पहिलो डोज लगाएको ४ हप्तापछि दोस्रो डोज लगाउनु पर्दछ भने जोन्सन एण्ड जोन्सन खोपको पहिलो डोजमात्र लगाए पुग्छ।

पहिलो खोपको डोज जुन नाम वा कम्पनीको लगाएको छ दोस्रो डोज पनि उही नाम वा कम्पनीको लगाउनु आवश्यक हुन्छ यसको मतलब यदी पहिलो डोज कोभिसिल्ड लगाएको छ भने दोस्रो डोज भेरोसेल लगाएर कुनै अर्थ रहँदैन कोभिसिल्ड नै लगाउनु पर्छ।

कोभिड १९ खोप लगाउन हुने अवस्थाहरु

१. मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह, शिकलशेलजस्ता समस्या भयका बिरामीलाई कोभिड संक्रमण हुने सम्भावना बढी हुने भएकाले खोप लिनु झनै अनिवार्य हुन्छ।

२. रगत पातलो बनाउने औषधी, क्यान्सर सम्बन्धी औषधीलगायत अन्य औषधी सेवन गरेका बिरामीलेसमेत यी खोप लगाउन मिल्छ।

३. महिनावारी भएको समयमा, गर्भवती महिला, गर्भवती हुन प्लान गरेका महिला तथा स्तनपान गराइरहेका महिलाहरुलाईसमेत यो खोप लगाउन मिल्छ।

कोभिड १९ खोप दिन नहुने अवस्था

१. १८ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप र १३ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई फाइजर खोप दिन हुँदैन।

२. छारे रोग (Epilepsy) ,Guillain-Barré syndrome जस्ता मस्तिष्क सम्बन्धी रोग भएको व्यक्ति।

३. Immunoglobulins/ monoclonal antibody/ Convalescent plasma लिएको व्यक्ति तर, यस प्रकारको थेरापी लिएको व्यक्तिले ३० दिनपछि यो खोप लगाउन मिल्छ।

४. हाल कोभिड–१९ संक्रमण भएको तर, संक्रमणमुक्त भएको ३० दिनपछि भने खोपको तालिका अनुसार लगाउन मिल्छ।

५. यो खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिकृया भएको।

६. कुनै पनि कारणले गम्भीर बिरामी भएको वा उच्च ज्वरो भएको तर, यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन मिल्छ।

कोभिड १९ खोप लगाएपछि हुनसक्ने अवाञ्छित घटनाहरु

क) सामान्य असरहरु

१. खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, चिलाउने, केही रातो हुने।

२. टाउको दुख्ने, जीउ दुख्ने र ज्वरो आउने।

३. मांशपेशीहरु दुख्ने र जोर्नीहरु दुख्ने।

४. थकाइ लाग्ने, आलस्य लाग्ने, कमजोरी भएको महसुस हुने र रिङ्गटा लाग्ने।

५. भोक नलाग्ने, वाकवाकी लाग्ने र वान्ता हुने।

माथिका समस्याहरु समाधान गर्नको लागि १ ग्राम पारासिटामोल प्रयोग गर्न सकिन्छ भने सामान्य लक्षणहरु १–२ दिनपछि आफै ठीक भएर जान्छन्। त्यसैले आत्तिहाल्नु पर्दैन।

ख) गम्भीर असरहरु

१. गम्भीर किसिमका असरहरु हुँदैनन् तर, विरलै देखिने एलर्जी वा एनाफाइलेक्सिस प्रतिकृया हुनसक्छ। यस प्रकारको असर खोप लगाएको ५ मिनेटदेखि आधा घन्टाभित्र हुनसक्छ।

तर, खोप सेन्टरहरुमा खोप लगाउनेहरुको भिड निकै चिन्ताजनक छ भने पछिल्ला दिनहरुमा कोरोना संक्रमण पुनः उकालो लाग्ने क्रममा छ।

यसका लागि नेपाल सरकारले खोप केन्द्रहरु थप गरी भिड व्यवस्थापन गर्नु अत्यन्तै आवश्यक छ भने खोप लगाउनेहरुलेसमेत सामाजिक दूरी कायम गरी लाइन बस्ने, मास्कको प्रयोग गर्ने, नियमित हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, भिडभाड नगर्नेजस्ता आचरण पालना गर्नु निकै अनिवार्य छ। स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार, पूर्ण खोप नेपाल कोभिड–१९ स्वयं सेवाको CVS सरोकार।

CVS टिम मेम्बर



Leave a Reply

Your email address will not be published. Required fields are marked *