खोप केन्द्रबाट कोराेना फैलिँदै, व्यवस्थापनमा चुक्यो सरकार

हेल्थपोस्ट नेपाल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)को परिसरमा मानिसहरूको भीडभाड देख्दा कुनै जात्रा मनाईरहेको जस्तो भान हुन्छ।

पछिल्लो समयमा कोरोना महामारीका कारण टेकु अस्पताललाई कोरोना अस्पतालका रुपमा सञ्चालनमा ल्याइयो। तर, अहिले उपचार, परीक्षण सँगै खोप कार्ड प्रमाणिकरण गर्न टेकुमा लाइन छ।

कोरोना महामारीले संसार नै आक्रान्त पारिरहेका बेलामा देश विदेश भ्रमण तथा श्रम गर्न जनेहरूका लागि पश्चिममा मूलुक देखि खाडी मूलुकमा पनि खोप लगाउनुपर्ने र खोप लगाएका प्रमाणिकरण गरेको कागजात भएपछि मात्र प्रवेश गर्न दिने नियम छ।

यदि नियमका कारण हरेक दिन हजारौंको संख्यामा विदेशी तथा नेपाली नागरिकको भिड टेकू परिसरमा खचाखच भरिएको छ।

खोप कार्ड प्रमाणिकरण गर्नका लागि देशका कुना काप्चाबाट नागरिकहरू रातको समयमा पनि अस्पताल नै पालोका लागि लाइनमा बस्ने गरेका छन्। उनीहरू खोप प्रमाणिकरणका लागि भोकै बस्न बाध्य छन्।

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतवनी पटक–पटक स्वास्थ्य मन्त्रालयले दिएको छ। तर त्यहाँ पुग्दा कोरोना भन्ने भाइरस नै छैन भन्ने दृश्य टेकु परिसरमा देख्न सकिन्छ।

भीड उभिल्दै गर्दा उनीहरूमा कोरोनाको डर छैन । छ त केवल विदेश जाने अनुमति पत्रको।
त्यही भीडमा भेटिए। दाङमा बसोबास गर्ने ४१ वर्षिय राम थारू।

उनले खोप लिन र प्रमाणिकरण का दुई दिन देखि अस्पतालमा लाइन बसेको गुनासो हामीलाई सुनाए।

साउदी अरब जान तयारी गरिरहेका उनलाई कोरोना भन्दा पनि घरमा छोराछोरी र श्रीमति भोकै हुन्छन् कि भन्ने डर छ।

झण्डै ५११ किलोमिटर पार गरेर काठमाडौं आइपुगेका उनी खोप लगाउन भनेरै आइपुगे।सरकारले खाडी मूलुक जाने व्यक्तिहरुलाई पनि जोनसन एण्ड जोनसन खोप लगाउन अनुमति दिएपछि हतारिँदै आएको उनी सुनाउँछन्।

तर, उनले सजिलैसँग लगाउन पाए तर प्रमाणिकारण गर्न धौ धौ प¥यो। पहिलो दिन बिहान ४ बजे नै लाइन बस्न पुग्दा पनि उनले अस्पतालले बाँडेको कुपन पाउन सकेनन्।

दोस्रो दिन बल्ल कुपन पाए, तर छिटै पालो आएन।‘खाना पनि नखाई लाइनमा कुरेर बसेँ। पानी बहेक केही नखाई बस्दा पनि पालो आएन। तीन टाइमको खाना राती एकै पटक खाएँ,’ उनले भने।

उनी मात्र होइन खचाखच भरिएको अस्पतालको प्रांगणमा अधिकाशं युवा वर्ग थिए। होटेल वा अस्पताल प्राङगणमै रात बिताएर प्रमाणिकरण गर्न लाइनमा उभिएका छन्।

‘के गर्नु काम नगरी खान पाइन्नँ। देशमा रोजगार पाइएन। रोजगार छैन भनेर बस्न पेटले मान्दैन,’ उनले भने।

धेरैजसो जोनसन एण्ड जोनसन लगाउने संख्या विदेश जाने समूह नै रहेका छन्। लाखौं मानिसहरुले यो खोप लगाएर प्रमाणिकरण गर्न एकैचोटी आउँदा भीड बडेको बताउँछन् अस्पतालका प्रशासन प्रमुख नवराज गौतम।

‘हामीले मापदण्ड पालना गर्नका लागि पटक पटक भनिरहेका छौं। त्यस्तै, त्यहाँ व्यवस्थापन गर्न नेपाल प्रहरीसँग पनि सम्झौता गरेका छौं। तर मानिसहरु आफै अटेर गरी भीड गरिरहेका छन,’ उनले भने।

अस्पतालमा भीड नियन्त्रण गर्न खटाइएका नेपाल प्रहरीले पनि कसैगरी नियन्त्रण गर्न सकिरहेको छन्।

‘यति धेरै भीड छ विदेश जानेहरुको, कोरोना संक्रमण हुन्छ भन्ने डर छ। तर उनीहरुलाई जति सम्झाउँदा पनि नमानेपछि हामीले यतिकै छाडेका हौं,’ हवलदार विष्णु अधिकारीले बताए।

अस्पतालले ४८ घण्टा भित्र उडान भएका व्यक्तिहरुको प्राथमिकता अनुसार प्रमाणिकरण गरिरहेको छ भने हतार नभएका लाई कुपन दिएर काम गरिरहेको छ।

‘टाढाबाट आउने भएका कारण मानिसहरु एकैपटक काम सकाएर जाने विचारमा लाइन बस्छन्। आवश्यक परेको समयमा आउँदा हामीले सहजरुपमा काम गर्न सक्थ्यौं,’ अस्पतालका निर्देशक अनुप बाँस्तोलाले बताए।

विदेशमा पुगेपछि मात्र प्रमाणिकरण गरेको कागजात देखाए पुग्नेमा म्यानपावर कम्पनी, एम्बेसीहरुले पनि यसको माग गर्न थालेपपछि भीड बढ्न थालेको बताउँछन् बाँस्तोला।

खोप केन्द्रबाट नै कोरोना संक्रमण भइरहेको भन्दै खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् ।

खोप केन्द्रमा खोप लगाउन पुगेकाहरु संक्रमित भई अस्पताल आउनेक्रम बढेकाले सावधानी अपनाउन डा. बाँस्तोला सुझाव दिन्छन्।

स्वास्थ्य सुरक्षा नअपनाउँदा खोप लगाएको एक हप्ताभित्रै संक्रमित भएर अस्पताल आउने बढेको उनले जानकारी दिए।

‘अहिले खोप केन्द्र भीडभाड हुँदा त्यहीबाट कोरोना फैलिरहेको छ। कोरोना खोप लगाएको ५–६ दिनमा कोरोना लक्षण लिएर मानिसहरू आइरहेका छन्,’ डा. बाँस्तोलाले भने, ‘ केही मानिसलाई त आइसियूमा राखेर उपचार गरिराख्नुपरेको छ।’

विश्व स्वास्थ्य संगठनले खोप केन्द्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न निर्देशिका बनाएको भए पनि नेपालमा त्यसको कार्यान्वयन हुन सकेको छैन।

अहिले सरकारले खोप केन्द्रलाई राम्रो सँग व्यवस्थापन गर्न नसकेको विषयलाई लिएर व्यापक आलोचना भइरहेको छ।

भीड बढ्न थालेपछि मन्त्रलायले निजामति कर्मचारी अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल, बलक्बु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रमाणिकरणको लागि केन्द्र तोकिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *