अमेरिकी खोप लगाएका एक वृद्धको तीन घण्टा नबित्दै मृत्यु

हेल्थपोस्ट नेपाल

 

धादिङमा कोभिड–१९ विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन लगाएका एक वृद्धको मृत्यु भएको छ। तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको केही घन्टाभित्रै मृत्यु भएको हो।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले मृत्युको बिषयमा थप अनुसन्धानका लागि टोली पठाइसकिएको जानकारी दिए।

‘उहाँले बिहान ११ बजेतिर खोप लगाउनु भएको रहेछ। केही समय आराम गरेर बसेपछि घर जानुभएको रहेछ,’ डा पोखरेलले भने, ‘स्वास्थ्य समस्या आएपछि थप उपचार लागि स्वास्थ्य संस्था लैजाँदा बाटोमा मृत्यु भएको खबर आएको छ।’ उनकाे २ बजेतिर मृत्यु भएकाे जनाइएकाे छ।

वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही थप अनुसन्धान लागि टोली पठाइसकिएको उनले जानकारी दिए।

‘अन्य के रोग थियो, कस्तो अवस्था थियो भन्ने विषयमा जानकारी लिन त्यहाँको स्वास्थ्य कार्यालयसँग खबर गरेका छौं। सम्भव भएसम्म पोस्मार्टम गर्ने तयारीमा छौं,’ डा पोखरेलले भने।

खोपसँग सम्बन्धित वा स्वास्थ्यको कारणले हो भन्ने पत्ता लगाउन टिम परिचालन भइसकेको जनाइएको छ। उनका अनुसार आवश्यक प्रमाण संकलन गर्ने र अध्ययन गर्ने काम सुरू भइसकेको छ।

तर, अहिले सम्म जोन्सन एण्ड जोन्सन खोपले मृत्यु भएको कुनै प्रमाणित नभएको भन्दै उनले सबैलाई नआत्तिकन खोप लगाउन अनुरोध गरे। ‘अहिले सम्म यो खोपका कारणले मृत्यु भएको प्रमाणित भएको छैन। तर, केही साइड इफेक्ट भने देखिएको पाइएको छ। यसलाई गहिरोसँग अध्ययन गर्दै छौं,’ उनले भने।

यसअघि कोभिसिल्ड र भेरोसेल खोप लगाएका ३० जनाको मृत्यु भएको उजुरी स्वास्थ्य मन्त्रालयमा परेको छ। तर, अनुसन्धानको क्रममा खोपको कारणले मृत्यु भएको पुष्टि नभएको डा पोखरेलले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *