फाइजर-बायोएनटेकको खोप : दुई डोजबीचको लामो अन्तर बढी प्रभावकारी

हेल्थपोस्ट नेपाल
 

कोरोनाविरुद्धको फाइजर-बायोएनटेक खोपको पहिलो र दोस्रो डोजबीचको लामो अन्तर अझै बढी प्रभावकारी पाइएको छ। बेलायतका शोधकर्ताले गरेको एक अनुसन्धानमा दुई डोजबीचको लामो अन्तरले शरीरको प्रतिरक्षा प्रणालीले अधिक संक्रामक भाइरसविरुद्ध लड्ने एन्टिबडी उत्पादन गर्ने देखाएको छ।

सरकारद्वारा सञ्चालित उक्त अनुसन्धानको प्राथमिक नतिजा सार्वजनिक भएपनि अझै पुनरावलोकन गर्न बाँकी रहेको छ। अनुसन्धानमा संलग्न अधिकारीले दुई डोजबीचको अन्तर बढी राख्ने बेलायतको निर्णय अनुसन्धानले सही सावित गरेको जनाएका छन्।

बेलायतमा पछिल्लो समय फैलिइरहेको डेल्टा भेरियन्टका लागि यो अन्तर आठ साताको उपयुक्त हुने उनीहरुले बताएका छन्।

सुरुमा फाइजर-बायोएनटेकको पहिलो र दोस्रो डोजबीचको अन्तर तीनदेखि चार साता हुनुपर्ने बताइएको थियो। तर, बेलायतले सन् २०२० को अन्त्यतिर यसलाई बढाएर १२ साता बनाएको थियो। बेलायत सरकारले कम्तिमा एक डोज भएपनि सबैलाई दिन सकियोस् भन्ने उद्देश्यका साथ दोस्रो डोज दिने अन्तर बढाएको थियो। तर, उक्त कदम अनुसन्धानबाट सफल देखिएको छ।

दोस्रो लहरसँग जुधिरहेको बेलायतका लागि यसले खुसीको खबर दिएको छ। किनकि उसँग तत्काल दुई डोज खोप सबैलाई लगाउन पर्याप्त मात्रामा छैन।

अनुसन्धानका लागि ५०३ जना जसले फरक-फरक समयमा खोप लगाएका थिए, उनीहरुलाई लिइएको थियो। उनीहरुमा इम्युन रेस्पोन्सको तुलनात्मक अध्ययन गरिएको थियो। उनीहरुमा दोस्रो डोज लगाएको एक महिनापछि रगतमा रहेको एन्टिबडी लेभल मापन गरिएको थियो।

जोन हप्किन्सका अनुसार बेलायतमा हालसम्म ५६ लाख २६ हजार ३११ संक्रमित भेटिएका छन् भने संक्रमणकै कारण १ लाख २९ हजार २६६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ८ करोड ३७ लाख २२ हजार ५१४ जनालाई खोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *