कोरोनाकाे नयाँ मोडः बढ्न थाल्यो आइसियूमा भर्ना हुने संख्या, तेस्रो लहरको खतरा

हेल्थपोस्ट नेपाल

 

निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागको छ। पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको देखाउँछ।

सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो। निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले संक्रमणको दर बढेको पाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि संक्रमणदर पनि बढिरहेको बताए। निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन्। यसबाट संक्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ।

‘खुकुलो भएसँगै संक्रमण हुने दर बढिरहेको छ। विगत एक हप्तादेखि संक्रमित हुने दर बढ्दो रहेको छ’, उनले भने, ‘संक्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्य मापदण्ड लागू नगर्दा संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन।’

सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो। कोभिड–१९ को संक्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो।

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी-नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लंघन भइरहेको जनाएको छ। उनका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा संक्रमणदर रहेको छ। नेपालमा सुरुदेखि अहिलेसम्मको संक्रमणदर भने १९.३ प्रतिशत रहेको छ।

संक्रमणको दोस्रो लहर आएसँगै दैनिक १ हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ। अहिले त्यो संख्या बढेर ३ हजार पुगेको छ। साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा २ हजार ९३६ मा संक्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा २ हजार ७१४ पुगेका छन्।

यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा १ हजार ८७५, ३ गते ९ हजार ६२८ परीक्षण गर्दा १ हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा २ हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा ३ हजार १०८ र साउन ६ गते २ हजार ८३८ जना संक्रमित भएका छन्।

मन्त्रालयकाअनुसार मृत्यु हुने संख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको संक्रमणबाट निधन भएको छ। यसैगरी सबभन्दा बढी संक्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन्। ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुईजनामा एकजना संक्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए।

डा. सागरराज भण्डारी निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताउँछन्। उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा संक्रमणको जोखिममा अझै रहेको बताए। ‘मानिस घरमै बसेर संक्रमणलाई लुकाइरहेका छन्। संक्रमण भए पनि आइसोलेसनमा बसेका छैनन्’, उनले भने, ‘जसले गर्दा घरपिच्छै सबै मानिसमा संक्रमण हुने डर छ।’

उनले खोप लगाएका मानिसमा पनि संक्रमण सर्ने जोखिम उत्तिकै रहेको बताउँछन्। ‘खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यका मापदण्ड लागू गरिएको देखिएको छैन’, उनले भने, ‘खोपले संक्रमणलाई नै रोक्ने होइन। संक्रमणको लक्षणलाई मात्र कमी गराउने हो।’

नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो हप्तादेखि संक्रमणको दोस्रो लहर आएको थियो। दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो। संक्रमणको दोस्रो लहरले फोक्सोमा असर पुर्याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए। जनस्वास्थ्यविद भण्डारीका अनुसार भारतमा संक्रमणको दर बढिरहेकाले नेपालमा जोखिम छ। भारतसँगको खुला सीमाका कारण भारतबाट संक्रमण फैलने डर छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले निषेधाज्ञा खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्दा जोखिम रहेको बताए। ‘खोप लगाएको चारदेखि ६ हप्तासम्म काम गर्दछ’, उनले भने, ‘खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड लागू नगर्दा त्यो बीचमा जोखिम नै हुन्छ।’ उनले केही समय अस्पतालमा संक्रमित भएका बिरामीमा कमी आए पनि अहिले उपचार गर्नेको संख्या बढेको बताए।

१० जिल्लामा ५०० भन्दा बढी

अहिले ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १० वटा रहेका छन्। तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व) र रुपन्देही रहेका छन्। यही साउन ६ गते मात्र ५०० भन्दा बढी संक्रमित हुने नवलपरासी (पूर्व), रुपन्देही र कास्की जिल्ला थपिएका हुन्। यसैगरी २०० भन्दा बढी संक्रमित हुने जिल्ला २६ पुगेका छन्। मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी संक्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ।

तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय

सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ। नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ। अस्पतालका निर्देशक डा. बाँस्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम सुरु भइसकेको बताए। उनले डेल्टा प्लस भेरियन्ट निकै संक्रामक रहेकाले त्यसबाट बच्नुपर्ने बताए।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै संक्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने बताए। उनले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेका छन्।

उनले तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको बताए। ‘सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं’, उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेको छौं।’ उनले तेस्रो लहर बालबालिकाका लागि बढी जोखिम रहेकाले सबै स्वास्थ्य संस्थालाई बालबालिकाका लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिइसकेको जानकारी दिए।

उपत्यकामा पनि बढ्यो संक्रमण

काठमाडौं उपत्यकामा पनि संक्रमणदर बढ्दो रहेको छ। उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै संक्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ। साउन १ गते उपत्यकामा संक्रमित संख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ। साउन १ गते काठमाडौंमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा संक्रमण देखिएको थियो। साउन ७ गते काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जनामा संक्रमण देखिएको छ।

काठमाडौं जिल्लामा संक्रमितको संख्या २ लाख १२ हजार १५२ पुगेको छ भने हाल ५ हजार ९१६ सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी ललितपुरमा ३९ हजार ५९६ संक्रमित र १ हजार ६१ सक्रिय संक्रमित तथा भक्तपुरमा २३ हजार ४४२ संक्रमित र ९३५ सक्रिय संक्रमित रहेका छन्।

बढ्न थाल्यो आइसियूमा भर्ना हुने संख्या

आइसियु र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै जान थालेको छ।

मन्त्रालयको तथ्याङक अनुसार काठमाण्डौ उपत्यकामा हालसम्म १७४ संक्रमित आईसियुमा भर्ना छन् भने ७१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

त्यस्तै ५५३ जना एचडियु सेवामा भर्ना भएका छन्। सबै प्रदेशमा रहेको आईसियुमा ६३५ संक्रमित उपचाररत रहेका छन् भने १७२ भेन्टिलेटरमा छन्।

उपत्यकाका सबै अस्पतालका शैया तथा आइसियुहरु पुन भरिन थालेको चिकित्सकहरुको भनाई छ। तेस्रो लहर शुरु नै भएको आशंका पनि गरिन थालिएको छ।

उपत्यकाका अस्पताहरुमा फेरी पनि आइसियू भरिन थालेका छन्। कोरोना संक्रमितहरुको उपचार गरिरहेको शसस्त्र प्रहरी बल अस्पतालमा ८ जना आईसियुमा उपचाररत छन् भने ४ जना भेन्टिलेटरमा छन्।

त्यस्तै, श्री विरेन्द्र अस्पतालमा जम्मा ६ वटा आईसियु र ४ वटा भेन्टिलेटर मात्र खाली छन्। अस्पतालमा २० वटा आईसियु र ८ वटा भेन्टिलेटरको मात्र क्षमता रहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि विरामीको चाप बढ्दै गएको बाँस्तोलाले बताए।

हाल १६ जना आईसियुमा भर्ना भएका छन् भने १६ जना भेन्टिलेटरमा उपचाररत छन्। यो संख्या अझै बढ्दै जाने अनुमान गरिएको छ। यसैगरी पाटन अस्पतालमा २२ जना आईसियु र १० जना भेन्टिलेटरमा उपचार लिइरहेका छन्।

भक्तपुर अस्पतालको सन्दर्भमा ६ वटा आईसियस र ३ वटा भेन्टिलेटरको सेवा उपलब्ध छ तर ती मध्य तीन वटा आईसियु र एउटा भेन्टिलेटर भरिसकेको छ। काभ्रे स्थित धुलिखेलमा पनि गम्भीर रुपमा विरामी हुने संख्या बढ्दै गएका छन्। अस्पतालमा ३० जना विरामी आईसियुमा उपचाररत छन् भने जम्मा ८ वटा भेन्टिलेर मध्य ४ वटा भरिसकेका छन्।

फेरि पनि दोस्रो लहको जस्तो अभाव हुन सक्ने भन्दै मन्त्रालयले तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिइसकेको छ।

‘अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना गरिएन भने तेस्रो लहर आउन सक्ने सम्भावना नजिक  रहेकाे कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले बताए।

वीर अस्पतालमा हाल ८६ कोरोना संक्रमित उपचाररत छन् भने २४ जना आईसियुमा छन्।तेस्रो लहर शुरु भइनसकेपनि सम्भावना भएका कारण मानिसहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन सुझाउँदै उनले भने अस्पतालहरु तयारी अवस्थामै छन् तर मानिसहरु आफै सजग रहनु आवश्यक छ।

निको हुने पनि स्थिर

संक्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ। साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो। साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ। अहिले निको हुने दर बढ्न सकेको छैन। साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो। साउन २ गते ९४.७ प्रतिशत, ३ गते ९४.७ प्रतिशत, ४ गते ९४.७ प्रतिशत, ५ गते ९४.६ प्रतिशत र ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ।

खोप नियमित

नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएको छ। ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमितरूपमा नागरिकलाई लगाइरहेको छ। कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप नेपालमा लगाइएका छन्। अहिलेम्म नेपालमा ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ। सरकारले साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट ल्याउने भएको छ।

पहिलो मात्रा लगाउने ३३ लाख ८ हजार ७३० र दोस्रो मात्रा लगाउने १२ लाख ८१ हजार २४० जना पुगेका छन्। नेपालमा अहिलेसम्म ७ लाख २७ हजार १६९ संक्रमित पुगेका छन्। अहिले सघन उपचारकक्षमा ६३५ र भेन्टिलेटरमा १७२ जना रहेका छन्। यस्तै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ। यस्तै संक्रमणबाट हालसम्म ९ हजार ६६१ जनाको निधन भइसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *