स्वास्थ्य विभागमा अनियमितताः योग्यता नै नपुगेका कर्मचारीको कार्यसम्पादन नम्बर सच्याएर स्तरवृद्धि

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा ऐनअनुसार न्यूनतम योग्यता नै नपुगेका कर्मचारीको कार्यसम्पादन मूल्यांकन नम्बर सच्याएर स्तरवृद्धि गरिएको तथ्य भेटिएको छ।

आवश्यक कार्यसेवा अवधि, दुर्गममा काम गरेको न्युनतम अवधि र कार्यसम्पादन नपुगेका स्वास्थ्यकर्मीलाईसमेत नक्कली कागजात खडा गरेर धमाधम स्तरवृद्धि दिने गरिएको छ।

स्वास्थ्य सेवा विभागको स्तरवृद्धि फाँटका अधिकारीको मिलेमतोमा यस्तो किर्ते गरिएको पाइएको हो। दर्जनौं स्वास्थ्यकर्मीको यसरी नै स्तरवृद्धि गरिएको गुनासा र उजुरीपछि विभागमा छानविनको माग उठ्न थालेको छ।

सम्बन्धित अधिकारीहरु भने छानबिनको डरले प्रमाण नष्ट गर्न लागिपरेको विभाग स्रोतको भनाइ छ। स्तरवृद्धि समितिमा रहेका विभागका उपसचिव महेश पाण्डे र अधिकृत एकनाथ नेपालको मिलेमतोमा यस्ता किर्ते भइरहेको विभाग स्रोत दावी छ।

पछिल्लोपटक हेल्थपोस्टलाई यस्तै एउटा किर्तेको प्रमाण फेला परेको छ। सुर्खेतकी एक अहेबको बढुवाका लागि यस्तै किर्ते गरिएको फेला परेको हो। उनको बढुवाका लागि सुरुमा पेश गरिएको निवेदन, कार्यसम्पादन मूल्यांकन अंक लगायतका कागजातको प्रतिलिपि हेल्थपोस्टसँग सुरक्षित छ।

उनको स्तरवृद्धिका लागि आवश्यक कार्यसम्पादन मूल्यांकन आवश्यक न्यूनतम अंकभन्दा कम भएपछि सच्याइएको भेटिएको छ।

आर्थिक वर्ष २०७६–०७७को सुरुमा कार्यसम्पादन मूल्यांकनमा २९ दशमलव ३४ अंक दिइएकोमा पछि सो कागज हटाएर अंक ४० बनाएर स्तरवृद्धि गरिएको छ।

 

स्रोतका अनुसार सुरुमा स्तरवृद्धिका लागि कागजात पेश भएपछि अंक नपुग्ने भन्दै पाण्डे र नेपालले नै सच्याएर ल्याउन लगाएका थिए।

कार्यसम्पादनका आधारमा कुनै अंक दिएपछि सोही अवधिको नम्बर फेरि सच्याउँदा सिंगो राज्य प्रणालीको विश्वासनीयतामा प्रश्न उठ्छ ।

प्रत्येक स्तरवृद्धि गरिएपछि ती कर्मचारी विभिन्न वहानामा काज लिएर ‘पैसा उठाउन’ जाने गरेको कर्मचारीहरु बताउँछन्। हाजिर रेकर्डबाटै प्रमाणित हुने यस्तो प्रवृत्तिलाई विभागका कर्मचारीहरु ‘बाली उठाउने भ्रमण’को संज्ञा दिन्छन्।

एकपटक नम्बर दिएपछि नयाँ कार्यसम्पादन पेश हुँदा कार्यसम्पादन मूल्यांकन समितिका सदस्यको समेत मिलेमतोको आशंका पैदा भएकाले छानविनको माग उठेको छ ।

स्तरबृद्धिका लागि योग्यता नपुगेका कर्मचारीको स्तरवृद्धिले राज्यको ढुकुटीमा अनावश्यक भार पारिएको छ।

सुर्खेतकी ती अहेबको कार्यसम्पादन मूल्यांकन फारममा परशुराम खड्का जनस्वास्थ्य अधिकृत सातौं, ललितविक्रम सिंह र टिकाराम ढकालको हस्ताक्षर छ। नम्बर सच्याएर तयार पारिएको कागजमा पनि तिनै व्यक्तिहरुको हस्ताक्षर छ ।

स्वास्थ्य सेवा ऐनले स्वास्थ्य सेवाका कार्यरत कर्मचारीलाई प्रोत्साहनका लागि स्तरवृद्धिको प्रावधान राखेको छ । प्राविधिकतर्फ चौथोदेखि ९ तहसम्मका कर्मचारीको विभाग र मन्त्रालयबाट प्रत्येक वर्ष पुस र असारमा स्तरवृद्धि गरिन्छ। स्तरवृद्धिका सम्बन्धित तहमा न्युनतम ५ वर्ष कार्य गरेको सेवा अवधि हुनुपर्छ ।

त्यसैगरी माथिल्लो तहका लागि आवश्यक शैक्षिक योग्यता नपुगेको हकमा ८ वर्ष सेवाअवधि हुनुपर्छ । सेवाअवधिसँगै अति दुर्गममा १ वर्ष र दुर्गममा २ वर्ष कम्तिमा सेवा गरेको हुनुपर्छ।
यीसँगै बढुवाका लागि पछिल्ला दुई अर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा उत्तम अंक ९कम्तिमा ३०० प्राप्त गरेको हुनुपर्छ। तर, यसरी विभिन्न योग्यता नपुगेका कर्मचारीसँगसमेत रकम असुलेर फर्जी कागज खडा गरेर स्तरवृद्धि गर्ने गरिएको विभागका अधिकारीहरु बताउँछन् ।

यसले राज्यकोषमा अनावश्यक लुटका साथै कर्मचारीसमेत कामभन्दा किर्तेतर्फ प्रोत्साहित भइरहेको विभागका कर्मचारीहरु बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *