खोप लगाएका व्यक्तिमा कोरोनाको लक्षण, दुई–तीन हप्ता भित्रै आइसियूमा भर्ना

हेल्थपोस्ट नेपाल

पछिल्लो समय निषेधाज्ञा खुकुलो हुँदै गएपछि विभिन्न समस्या लिएर बिरामीहरू अस्पताल आउने क्रम बढेको छ। त्यसमा कोरोना लक्षण र कोरोना प्रमाणित भएका बिरामीको संख्या पनि उल्लेख्य छ।

टेकु अस्पतालमा प्रत्येक दिन १५ देखि २० संक्रमितहरू लक्षण लिएर आकस्मिक कक्षमा आइरहेका छन्। तीमध्ये ७ देखि १० जनाको हाराहारीमा बिरामीलाई भर्ना गर्नुपर्ने स्थिति हुन्छ।

अस्पतालको आइसियू २४ बेडको छ। त्यसमा अहिले पनि २१ जना गम्भीर संक्रमितको उपचार भइरहेको छ। कोभिड एचडियूमा ४० शय्या छ। जसमा ३५ जना बिरामीले उपचार गराइरहेका छन्।

त्यसैगरी, स्पेशल कोभिड आइसोलेसनमा ५ जनाको उपचार भइरहेको छ। यो संख्या पछिल्लो समय यसरी बढ्दै जानुको पछाडि निषेधाज्ञा हट्दै जाने र आम नागरिकहरूले आवश्यक मापदण्ड नअपनाउनु नै प्रमुख कारण हो।

सुरूमा भारतमा देखिएको डेल्टा भेरियन्ट, डेल्टा प्लस भेरियन्ट नेपालमा अझै रहेको अवस्था छ। हामी जोखिमयुक्त रहिरहेको अवस्थामा निषेधाज्ञा हट्दै गएपछि जनस्वास्थ्य मापदण्ड नअपनाएकाले संक्रमित बढेर गएको छ।

राजधानीलगायत अन्य जिल्लाबाट सिकिस्त संक्रमित भएर आउनेको संख्या उत्तिकै रहेको छ।

अस्पतालका आइसियूका बेडहरू खासै खाली हुन पाएका छैनन्। मानिसहरु खोप लगाएको ५–७ दिनमै कोरोनाका लक्षण लिएर अस्पताल आइरहेका छन्।

खोप अभियान चल्दै गर्दा ती ठाउँहरूमा आमसर्वसाधारणले सुरक्षा मापदण्ड नअपनाएका कारणले यस्ता व्यक्तिहरू खोप लगाए पनि ५–६ दिनमा कोरोनाका लक्षण लिएर अस्पताल आउने क्रम जारी छ।

त्यसकारण खोप केन्द्रमा जाँदा व्यवस्थित रुपमा लाइनमा बसेर दुरी कायम गरेर आफूलाई जोगाउनु अपरिहार्य छ। खोप लगाइसकेपछि मलाई केही हुँदैन भनेर विभिन्न स्थानमा अपनाउनुपर्ने मापदण्ड नअपनाएका कारण खोप लगाएका व्यक्तिहरू पनि २–४ हप्तामा सिकिस्त भएर अस्पतालको आइसियूमा भर्ना हुने क्रम जारी छ।

धेरै लक्षण भएका व्यक्तिहरू परीक्षणको दायरामा आउनु भएको छैन। सरकारले विभिन्न स्थानहरूमा कोरोना परीक्षण निःशुल्क गराएको छ। तै पनि, यस्ता व्यक्तिहरू ढिलो अस्पताल पुग्दा निमोनियासम्बन्धी जटिलता हुन्छन्। तर, उहाँहरूको परीक्षण नभएको अवस्था छ।
त्यसकारण कोरोनाको कुनै पनि लक्षण देखिएका व्यक्तिहरूले नजिकको परीक्षण केन्द्रमा गएर जाँच गर्नुपर्दछ।

अहिलेको अवस्थामा हामी जोखिममा छौं। मापदण्ड तोडेको खण्डमा आउँदा दिनहरू हाम्रा लागि धेरै कठिन हुने अवस्था छ। तेस्रो लहरको पनि जोखिममा पर्न सक्ने अवस्था देखिएको छ।
त्यसकारण खोप केन्द्रमा जाने आमनागरिकले लाइनमा बस्दा मापदण्ड अपनाउनु जरूरी छ। जति पेशा–व्यवसाय खोलिएको छ। त्यहाँ मापदण्ड अपनाउनु उहाँहरूको जिम्मेवारी हुन्छ।

कोरोनाको दोस्रो लहरपछि समयमा पोस्ट कोभिड लक्षण लिएर आउनेहरुको संख्या पनि धेरै छ। निमोनिया वा कोभिड पुष्टि भएका व्यक्तिमा विभिन्न किसिमका समस्या देखिन सक्छ। खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, गन्ध थाहा नहुने, मांसपेशी दुख्ने लक्षण रहन सक्छन्। त्यस्ता व्यक्तिहरूले चिकित्सकले दिएको औषधि सेवन गरेर लगातार फलोअपमा बस्न जरूरी हुन्छ।

केही व्यक्तिमा लामो समयसम्म कोरोनाको कारणले गर्दा मुटु, मिर्गौलामा असर गर्न सक्छ। यस्ता किसिमका लक्षण देखिएमा तुरून्तै स्वास्थ्यकर्मीसँग परामर्श लिनपर्छ।

कोरोना निको भएका व्यक्तिमा मानसिक समस्या पनि देखिनसक्छ। निन्द्रा नलाग्ने, तनाव हुनेजस्ता पनि समस्या देखिन्छ। उहाँहरूले मानसिक परामर्श लिन जरूरी हुन्छ।

जो व्यक्तिहरू कोरोनाबाट सञ्चो भएर घरमा बसिराख्नु भएको छ, उहाँहरूमा एक्कासी हात–खुट्टा नचल्ने, खोकी बढ्ने, छाती दुख्नेजस्ता समस्या देखिएमा तुरून्तै अस्पतालको आकस्मिक कक्षमा गएर चिकित्सकलाई देखाउनुपर्छ।

कोरोना संक्रमणको तेस्रो लहर आउने आशंका गर्दैगर्दा हामी सम्पूर्ण आमनागरिक जुन स्थानमा बाहिर निस्कन्छौं, त्यहाँ एक कुरा सोच्न जरूरी हुन्छ– म संक्रमित भएँ भने आइसियू जानु पर्ने अवस्था सिर्जना हुनसक्छ, मैले घर–परिवारमा लगेर संक्रमण सारेँ भने घरका सदस्य संक्रमित भएर अस्पताल जानुपर्ने अवस्था आउनसक्छ। त्यसकारणले मेरो जिम्मेवारी भनेको म आफू सुरक्षित हुन्छु। परिवारलाई सुरक्षित राख्छु। अहिलेको अवस्थामा खोप लगाए पनि नलगाए पनि सरकारले तोकेका मापदण्ड पालना गर्छु भन्दै आत्मसाथ गरेर घर बाहिर निस्कनुपर्दछ। अनि, हामी सबै मिलेर कोरोनाको तेस्रो लहरबाट जोगिनेछौं।

(शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले स्वास्थ्य मन्त्रालयको प्रेस बिफ्रिङमा व्यक्त गरेका विचारमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *