निजामती अस्पताल पुग्दा जे देखियो…

१० बजी सक्दा पनि कोरोना खोप लगाउन सुरसार छैन। आफूलाई निक्कै टाढा जानु छ। लौ न चाँडो गरौं।

यस्तै भन्दै बरबराउँदै थिइन् भण्डै ६० पुग्न लागेकी जस्तो देखिने महिला।

सरकारले अमेरिकाबाट अनुदानमा ल्याएको जोनसन एन्ड जोनसन खोप लगाउन साउन ४ गते देखि ६ गते सम्मको मिति तोकिदिएपछि उपत्यकाका सबै खोप केन्द्रमा भिडभाड छ।

बानेश्वर चोकको छेउमा रहेको निजामती कर्मचारी अस्पतालमा बिहानको ३ बजेदेखि लाइन बसेका मानिसहरू खोप लगाउनका लागि आतुर थिए।

अस्पतालभित्र छिर्नु अगाडि नै अस्पतालका सुरक्षा गार्ड र नेपाल प्रहरीहरु गेटमैबसेर परिचयपत्र हेर्दै कुपन बाँडिरहेका थिए।

५० वर्ष भन्दा माथिका व्यक्तिहरु, अपाङगता भएका व्यक्ति, खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सफाईकर्मी, विदेशजान लागेकालाई यो खोप प्रदान गरिँदै थियो।

खोप लगाउन आउने व्यक्तिहरु सोही समूहमा पर्छ पर्दैन हेर्दै कुपन दिइरहेका थिए।

बल्ल बल्ल कुपन पाउँदा पनि रोलैसँग बस्न पाएनन्। कुपन त बाँडियो तर अस्पताल परिसर भित्र छिरेपनि फेरी अर्को लाइन। लाइन कुपनको आधारमा होइन पहिलो जो आयो त्यही अघि।

धेरैले आफ्नो कुपनको नम्बर अनुसार अरुको कति भन्दै हेरे। पालो आएपछि मात्र अगाडि जान्छु भन्ने सोचेकाहरुलाई सुरक्षा गार्डले कुपन अनुसार नभई पहिले आउनेलाई पहिले लगाउने भनेपछि सबै लाइनमै उभिए।

चर्को घाममा उभिन बाध्य भएका मानिसहरु न त बस्नलाई केही सुविधा नै थियो न त कुपन अनुसार नै व्यवस्था मिल्यो।
कुपन अनुसार नै नहुने भए किन बाँडेको, एक व्यक्तिले सुरक्षागार्डलाई कराए।

त्यसैबिच हिजो कुपन बाँड्दा सोही अनुसार पालो नपाउँदा झडप नै भयो, एक सुरक्षाकर्मी भने।

‘कुपन अनुसार पालो आउँछ भनेर कुपन बोकेर घर गएछन्। लाइनमा बसेर खोप लगाउन आउनेलाई खोप लगाइयो, पछि कुपन बोकेर आउँदा खोप सकिएपछि झडप नै भयो,’ उनले भने।

तर कुपन प्रिन्ट गर्दा नम्बर अगाडि पछाडि भएका कारण कुपन नम्बर यताउता परेका कारण लाइन सिस्टम नै गरेको बताए।

खोप लगाउन आउने अधिकाशं युवा नै थिए। खाडी मुलुक तथा अन्य मुलुक जानका लागि जोनसन एन्ड जोनसन खोप नै अनिवार्य गरेको कारण हालमा हरियो पासपोर्ट र विदेश जान लागेको प्रमाणपत्र बोक्दै लाइन लागेका थिए।

धेरैसमय कुरेपछि बल्ल खोप लगाउन पाइने भयो, साउदी अरब हिँड्न लागेका सिसिर राईले भने।

अबको पाँच दिनमा उनको उडान छ। इलाममा बस्ने उनी काम भनेको ड्राइभिङ मात्र जानेका छन्। देशमा काम गरेर पैसा नपुग्ने भएपछि विदेशमै मेहेनत गर्ने सोचले जान लागेका थिए।

यतिकैमा उनीसँगै खोप लगाउन पुगेका ५÷७ जना युवाको हुलबाट २४ वर्षिय यकेश लिम्बुले बोले, एउटा खोप लगाउन त यति मेहेनत गर्नुपर्ने देशमा के बस्नु।

ब्यचलर पास गरेका लिक्बु कतारमा क्यासियरको काम गर्न जान लागेका थिए। उनले अब त्यहाँ गएपछि नेपाल कहिले नर्फकने विचार गरे।

घरि यता घरि उता गर्दै खोप लगाउन कुरीरहेका उनीहरु खाना नै नखाई कुर्दा पनि खोप लगाउने सुरसार नै कसेको थिएन।

खोप लगाउन तयारी गरिरहेका स्वास्थ्यर्मी, काठमाण्डौ महानगरपालिकाका कर्मचारीहरु समय नाघिसक्दा पनि यताउता गरिरहेका थिए।

महानगरपालिकाका क्लिनिकल इन्चार्ज सृजना जिसीले ३ बजेपछाडि जति नै मानिसहरु भएपनि कुपन नबाँड्न भनिरहेक थिए। मानिसहरु बाँकी नै रहेपनि खोप बाँड्न रोक्ने भन्दै अर्डर दिइरहेकी थिइन्।हेल्थपोष्टले कति खोप लगाउने भन्ने प्रश्नमा खोप नपाएर फर्कनुपर्ने अवस्था आउँदैन भनिन्। उनले साउन ४ गते पाँच सय भन्दा बढिले खोप लगाएको जानकारी दिइन्।

खोपका लागि अस्पतालमा अशक्क्त तथा अपाङगता भएका व्यक्तिहरु पनि थिए। उनीहरुलाई प्राथमिकता अनुसार नै सुरुकै खोप लगाउने व्यवस्था गरिएको थियो। १ घण्टा घाममा कुरेर कोरोना विरुद्धको खोप लगाइन रनमाया न्यौपाने। खोपको सुईले बेस्सरी दुखेपनि लगाउन पाउँदा अब बाचिने भइयो भनेर खुसी थिइन्।

पेप्सिकोलामा बस्ने उनी ह्विल चियरको सहायताले एक्लै खोप लगाउन आइपुगेकी थिइन्। घरमा छोराछोरी भएपनि सबै आफ्नो काममा व्यस्त भएका कारण एक्लै खोप लगाउन आएकी बताइन्। पोलियो र टाइफाइड बिग्रीएपछि दुई वर्ष अघिदेखि हिँड्न नसकेकी उनले ह्विलचिएरको सहायताले आवतजावत गर्ने गरेकी छिन्।

‘अपाङगता भएकालाई कोरोनाले गम्भीर विरामी बनाउने डरले पाएको बेलामै खोप लगाउन आएको हुँ। यति लगाए पछि दुक्कसँग बस्न पाइने भयो,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय