युद्धले गिजोलेको यमनी मरूभूमिमा शरणार्थी सेवामा खटिँदा…

हेल्थपोस्ट नेपाल

३० मार्च २०२१ मा काठमाडौंबाट दोहा हुँदै मस्कट उत्रिएँ।

मैले पहिल्यै कोरोना खोप लगाइसकेको थिएँ। तर त्यहाँको एयरपोर्टमा महंगो पिसिआर परीक्षण गरेर अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्‍यो, जुन महंगो होटल थियो। ८ दिनसम्म त्यहाँ बसेँ।

क्वारेन्टिनको समय सकिएपछि मैले यमनको तीन महिनाको भिसा लिएँ। त्यसका लागि यमनस्थित नेपाली दूतावासले मलाई मद्धत गर्‍यो। जमिनको सिमाना ‘अल–मज्युना–सिहेन’ बाट यमन प्रवेश गरेँ।

यमनमा म जम्माजम्मी ३ महिना बसेँ। सो अवधिमा मैले चारवटा अस्पताल तथा स्वास्थ्य केन्द्रहरुबाट सेवा दिएँ।

तरिम जनरल अस्पताल, तरिम हद्रामाउतमा ५ हप्ता बिताएँ भने कबुज स्वास्थ्य केन्द्र सिहेन, अल मर्वामा ३ हप्ता, मिजार अल जाफ्रे अस्पताल मरिबमा ७ हप्ता र अल गेदह जेनरत अस्पतालमा ४ दिन बिताएँ।

त्यहाँ गएर मैले ट्रमामा रहेका विरामीहरुलाई उपचार गरेँ। सडक दुर्घटना तथा फुटबल खेल्दा, बम पड्केर तथा गोली लागेर घाइते भएका बिरामी, भवन खसेर लागेका, घरका कामकाजका क्रममा घाइते भएकालाई उपचार गरेँ।

त्यस्तै भाँचिएका हड्डीहरु जस्तै, पाखुरा, हात, औंला, रिप, खुट्टा र अन्य अंगहरुको उपचार गरेँ।

त्यस्तै डिस्लोकेट भएका हड्डीहरु, बालबालिकाका कुम, हिप, हातका औंला, खुट्टाका औंलाका जोर्नी, घुँडाहरुको उपचार गर्न मद्धत गरेँ।

घाइतेहरुले उपचार नपाएका, राम्रोसँग उपचार नगरिएका कारण फ्रयाक्चर हुने, जोर्नीहरुलाई राम्रोसँग उपचार नगरिएकै कारण शरीर नै राम्रोसँग जोडिन नपाएका जस्ता कारणले गर्दा कैयौं मानिसहरु अपांग हुनुपरेको पाएँ।

धेरै जसो किशोरकिशोरी, युवा तथा बालबालिकाहरुले यस्ता समस्या भोगिरहेको पाइयो।

त्यहाँको बसाइअवधिभर ६७० जनालाई हाडजोर्नीको उपचार गरेँ। आकस्मिक कक्षमा ३४० जनालाई परीक्षण गरेँ र ३९० जनाको शल्यक्रिया गरेँ।

मैले उपचार गरेका क्षेत्रमा हाडजोर्नीको अस्पताल नजिक कहीँ पनि थिएन। धेरैजसो युद्धका कारण घाइते भएका व्यक्ति, सोमालिया र इथोपियाबाट भागेर आएका शरणार्थीहरु उपचारका लागि आएका थिए।

मैले अरबिक भाषा बुझिनँ। तर त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल असिस्टेन्ट, कर्मचारीले अंग्रेजी बुझ्ने भएकाले उपचार गर्न सहज भएको थियो।

तरिम जनरल अस्पतालमा उपचार गर्ने क्रममा मुस्लिमहरुको चाड रमादान चलिरहेको थियो। त्यसैले मैले रातको ९ बजेदेखि ३ बजेसम्म उपचार गरेँ भने दुई दिन शल्यक्रिया पनि गरेँ।

आकस्मिक कक्षमा बिहान कुनै पनि फोन आउँदैनथे। दिउँसो र बेलुका भने सधैं व्यस्त रहन्थ्यो। यमनको परिस्थिति र मेरो बानीमा निकै फरक पर्‍यो।

मैले सेवा दिएका ठाउँ सबै मरुभूमि थिए। तापक्रम ४५ देखि ४७ डिग्री सेल्सियससम्म हुन्थे।

बिरामीहरुसँगको मेरो अनुभूति

एकपटक १२ वर्षका एक बालक अस्पतालमा उपचारका लागि आए। एउटा घुँडा दुख्दा पनि कसैको पनि सहारा लिएका थिएनन्। तर जब उनलाई एक्सरे गर्न भनियो, उनी दुई महिनासम्म देखा परेनन्।

सरकारी अस्पतालमा कार्यरत एक ३५ वर्षीय सुरक्षाअधिकृतको खुट्टा दुई वर्षदेखि बांगो भएको थियो। सडक दुर्घटनामा परेर उनको खुट्टा भाँचिएको थियो। शल्यक्रिया गर्ने पैसा नभएका कारण उनी त्यसै बस्न बाध्य भएका थिए।

त्यहाँ धेरैसँग सामान्य ल्याब परीक्षण गर्न, औषधि किन्न, अस्पताल आउनसमेत पैसा हुँदैन रहेछ।

यमनमा सरकारी अस्पतालमा पनि निःशुल्क स्वास्थ्य सेवा रहेनछ। जबकि छिमेकी राष्ट्रमा गुणस्तरीयदेखि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध छ।

युद्धका कारण सरकारले सामान्य स्वास्थ्य सेवा पनि दिन सकेको रहेनछ।

यमन विश्वविद्यालयका एक नाम चलेका प्रोफेसरले मलाई पत्र लेख्दै मलाई विदेशमा काम खोजिदिन आग्रह गरेका थिए। उनी युद्धका कारण हैरान भइसकेका थिए। अन्य स्वास्थ्यकर्मीहरु पनि उत्तिकै आजित थिए। तर ममा उनीहरुलाई सान्त्वनाबाहेक काम दिन सक्ने हैसियत थिएन।

मैले जति समय यमनमा सेवा दिएँ, निःशुल्क दिएँ। त्यो सबै मेरो व्यक्तिगत खर्चबाट हो।

म सधैं मानवता र अहिंसामा विश्वास राख्छु, यमनका मानिसहरु मलाई इमानदार, दयालु, मैत्रीपूर्ण लागे। तर उनीहरु द्वन्द्व र हिंसा सहन बाध्य छन्।

यमन, सिरिया, सोमालिया, इथोपिया, दक्षिणी सुडानमा बस्ने मानिसहरु तथा बालबालिकाहरुले शन्तिसँग बस्न, खान पढ्न र खेल्न पाउनु, यही कामना गर्दछु।

मेरा गतिविधिहरुले त्यहाँका मानिसहरुले दक्ष चिकित्सकबाट निःशुल्क उपचार सेवा पाए। ठूला अस्पतालहरुमा वास्ता नगरिएका विरामीहरु र उपचार नपाएकाहरुले पनि उपचार पाए। अनि, यमनीहरुमा नेपालप्रति राम्रो छाप परेको छ।

यस्तो देश हो यमन

यमन खाडी मुलुककै गरिब देशमा पर्छ, जहाँ आधा जनसंख्याले पेटभरि खान पाउँदैनन्। यहाँ ७४ लाख मानिसहरु कुपोषणले ग्रस्त छन् भने २० लाख बालबालिकाहरु चरम कुपोषणले ग्रसित छन्।

यहाँ १० प्रतिशत बालबालिकामा अपांगता छ भने ३३ प्रतिशत मानसिक तथा शारीरिक समस्याले ग्रस्त छन्। वर्षौंसम्मको युद्धले गर्दा ४ जना यमनीमध्ये एक जनामा कुपोषण रहेको छ भने कयौं मानिस स्वास्थ्य सेवा नपाइकन नै मर्न बाध्य छन्। ८० प्रतिशत मानिसहरु खाना, पानी, इन्धन तथा स्वास्थ्य सेवाबाट वञ्चित छन्।

विश्वको एउटा आम नागरिकका रुपमा म अहिंसा र मानवतामा विश्वास गर्छु। मैले महसुस गरेअनुसार यमनका मानिस निकै दयालु, इमान्दार छन्। खासगरी खाडी राष्ट्रहरूमध्येकै गरिब र पिछडिएको यो देशमा युद्धले मानिसको जीवन निकै भयावह स्थितिमा पुर्‍याएको छ। मैलाई लाग्यो बेअर्थको यो हिंसा र युद्ध किन गरिरहेछन्रु तर मैले कुरामात्रै गर्नसक्छु र यहाँको युद्धको अन्त्य अनि मानवताका लागि प्रार्थना गरेँ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *