स्वास्थ्य मन्त्रालयको विजोग : परिसर वरपर झाडी, छुच्चा कर्मचारी
आइतबार बिहान ९ बजे।
स्वास्थ्य मन्त्रालयका दोस्रो तत्लामा एक कर्मचारी ट्वाइलेट सफा गर्दै थिइन।
‘जति सफा गरे पनि हुँदैन। कति फोहोर गर्न सकेका, यस्तै–यस्तै शब्द भन्दै उनी बरबराई रहेकी थिइन्।
चर्पी सफा गरेर बाहिर निस्कन लाग्दा एकजना मानिसले प्रवक्ताको कोठा कता हो भनेर सोधे।
उनले ठाडो जवाफ फर्काइन् – भूइँ तल्लामा लिष्ट टाँसिएको छ। हेर्ने सक्नुहुन्न।
ति मानिस न्याउरो मुख लगाएर हिँडे।
कर्मचारीले उनीमाथि रिस पोखिन्, ‘कस्ता-कस्ता मान्छे आउँछन्। जो पनि अनेक बहाना पारेर मन्त्रालय छिर्छन्। फोहोर गर्यो हिँड्यो। हामीलाई सफा गर्नुको हैरान।’
शौचालय दुर्गन्धित
मन्त्रालयको शौचालय दुर्गन्धित छ। साबुन कतै छैन।
दैनिकजसो सर्वसाधारणलाई कोरोनाबाट बच्न साबुन-पानीले छिनछिनमा मिचिमिचि हात धुन मन्त्रालयले अपिल गरिहेको हुन्छ। तर, मन्त्रालयकै शौचालयमा साबुन छैन।
मन्त्रालयमा दैनिक विभिन्न कामले हजारौं मानिस आउँछन्।
‘स्वास्थ्य मन्त्रालय आफैं अस्वस्थ देखिन्छ। शौचालय गयो हात धुन साबुन पनि छैन,’ एक सेवाग्राहीले भने।
परिसर वरपर थोत्रा सामानको थुप्रो र झाडी
मन्त्रालयको वरपर थोत्रा सामानको थुप्रो छ। टेबुल, कुर्सी, दराजलगायतका फर्निचरदेखि गाडीसमेत थुपारिएको छ। पुरानो ट्वाइलेटका सिट पनि बेवारिसे अवस्थामा छ।
मोटरका टायरमा पानी भरिएर जमेका छन्। त्यहाँ लामखुट्टेले लार्भा पारिरहेको देखिन्छ। तर, सरसफाईमा कुनै चासो छैन।
कवाडी सामान लिलामी गर्दा रित पुर्याएर गर्नुपर्ने र त्यसको लागि प्रोसेस अगाडि बढाएको प्रशासन महाशाखा सम्हालिरहेकी शैलेजा रेग्मीले बताइन्।
‘नियमअनुसार लिलामी गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले प्रोसेस अगाडि बढाएका छौं,’ रेक्मीले हेल्थपोस्टसँगको कुराकानीमा भनिन्, ‘चाँडै हामी ती सामानलाई व्यवस्थापन गर्छौं।’
थुपारिएका धेरै सामान मर्मतपछि प्रयोगमा आउने खालका छन्। तर, मन्त्रालयले त्यसको सदुपयोग गर्न सकेको छैन।
‘कमिसन खाने लोभमा मर्मत गरेर प्रयोगमा ल्याउन सकिने सामानलाई फोहोरमा फ्याँकिएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘नयाँ सामान किन्नको लागि होडबाजी नै चल्छ।’
वर्षायामसँगै काठका ती फर्निचर कुहिँदै गएका छन्।
राम्रो समानको किन सदुपयोग गर्न नसकेको भन्ने प्रश्नमा रेग्मीले ठाउँ अभाव भएको जवाफ दिइन्।
‘स-सानो कोठा छन्। सामान राख्ने ठाउँको एकदमै अभाव छ,’ रेग्मीले भनिन्, ‘कुनै संस्थाले मागेको खण्डमा ती सामान दिन तयार छौं।’
मन्त्रालयले सरसफाईको लागि कम्पनीलाई जिम्मा दिएको छ।
करिब १५–२० जना सरसफाईकर्मी छन्। तर, मन्त्रालय फोहोरको थुप्रोले भरिएको छ।
रेग्मीले फोहोर भएको कुरा स्वीकार गर्दै त्यसतर्फ ध्यानाकर्षण भएको बताइन्।
‘यो विषयमा हाम्रो ध्यानाकर्षण भयो। अहिले नै बोलाएर सरसफाई गर्न लगाउँछु,’ उनले भनिन्।