स्वास्थ्यकर्मी माथि कुटपिट भएमा ५ लाख जरिवाना र पाँच बर्ष कैद सहितको अध्यादेश संसदमा पेश

हेल्थपोस्ट नेपाल

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी बनाइएको अध्यादेश संसदमा पेश भएको छ।

सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना भएपछि आइतबार बसेको संसदको बैठकमा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा अध्यादेश पेश गरेका हुज्।

‘आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुनेः कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन’ भनिएको छ।

कसूर र सजाय सम्बन्धी व्यवस्थामा ‘कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसूर गरेको मानिने अध्यादेशमा भनिएको छ।

के कसूरमा कस्तो दण्ड ? 
यो अध्यादेशअनुसार स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरे, बिरामीको उपचारमा बाधा पुर्याए वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा व्यवस्था छ ।

साथै स्वाथ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थामा कुनै हानि–नोक्सानी भए कसुरदारबाट क्षति बराबर क्षतिपूर्ति रकम भराउन पनि सकिनेछ ।

स्वास्थ्य संस्थामा आगजनी वा तोडफोड तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपातको मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिए वा कसुरदार हो भन्ने विश्वास गर्ने आधार भएमा मुद्दा हेर्ने अधिकारीले पुर्पक्षका लागि थुनामा राख्न सक्ने अध्यादेशमा व्यवस्था छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *