नेपालमा कोभ्याक्स मार्फत कति खोप आयो, कतिले लगाए?

नेपालका ६० लाख जनसंख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन्। अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन्।

नेपालले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो। यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्डको ३ लाख ४८ हजार मात्रा खोप प्राप्त भएको थियो। यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ। नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ।

यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए। कोभ्याक्समार्फत ३ लाख ५० हजार खोप आउन थालेको हो। मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाउँदै छ।

चीनबाट प्राप्त भएको खोप असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो। भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने छ। नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ व्यक्तिले लगाइसकेका छन्। सरकारले १८ वर्षभन्दा माथिका कूल २ करोड २० लाख जनसंख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय