कोभिसिल्ड खोप आउँदै, दोस्रो मात्रा केही दिनभित्रै दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिसिल्ड’ पहिलो मात्रा लगाएका लागि दोस्रो मात्राको व्यवस्था भइसकेको जनाएको छ।

शुक्रबार मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले एक विज्ञप्ति जारी गर्दै केही दिनभित्रैमा दोस्रो मात्रा उपलब्ध गराइने जनाएका छन्।

‘कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनु भएका ६५ बर्षभन्दा माथिका सम्पूर्ण व्यक्तिहरूका लागि दोस्रो मात्राको खोपको व्यवस्था भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘केही दिनमै ती खोपहरू प्राप्त भई प्रतिक्षामा रहनुभएका सबैलाई दोस्रो मात्रा उपलब्ध गराइनेछ।’

कोभिसिल्डको दोस्रो मात्रा लगाउने करिब १४ लाखको हाराहारीमा छन्।

त्यसैगरी, केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने खोप आउन लागेको मन्त्रालयले जनाएको छ।

१८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

‘खोप आपूर्तिको समस्या समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकका लागि निशुल्क खोप लगाउने योजना तयार भइसकेको छ। हामी सबैले खोप पाउँछौं। सबैले संयमित भइ खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ।

नेपालमाहालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।

हाल भेरोसेल खोप ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरुलाई दिइरहेको छ ।

अधिकारीले जारी गरेको विज्ञप्तिमा केही जिल्लाहरुले खोप अभियान शुरु गरेर अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी पनि उल्लेख छ।

‘केही दिनदेखि भेरोसेलको खोपहरु विभिन्न प्रदेशका जिल्लाहरुमा पुगी खोप अभियान शुरु भएका छन्। रोकिएको अभियान भोलीरपर्सिबाट शुरु हुने र जोन्सनको खोप पनि अभियान सञ्चालन हुने गरी विभिन्न जिल्लाहरु पुगिसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले अमेरिकी खोप साउन ४ बाट देशभर लगाउन सुरु गर्ने जनाएको छ।

जोनसनको खोप ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु पुर्ण र अति अशक्त (वर्ग क र ख) अपांगता भएकाहरु हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय