के कारणले आउछ लुतो? के छन् बँच्ने उपाय र उपचार?

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ साउन १ गते १४:३६

साउन १ अर्थात् आज लुतो फाल्ने दिन। असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउन परापूर्वकालदेखि नै यो संस्कार नेपाली समाजमा चल्दै आएको छ।

साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाउने शास्त्रीय विश्वास छ।

तर, लुतो के कारणले हुन्छ? यसबाट बँच्ने उपायहरू के हुन? हामीले वीर अस्पतालको वरिष्ठ यौन तथा छालारोग विशेषज्ञ डा. अनुपमा कार्कीलाई लुतोको विषयमा सोधेका छौं।

यौन तथा छालारोग विशेषज्ञ डा. अनुपमा कार्की

लुतो मानव शरीरको छालामा लाग्ने चर्मरोग हो। जुन ‘सारकोप्टस स्क्याबी’ नामक किटाणुका कारण आउँछ। यसलाई हाम्रो आँखाले देख्न सक्दैन। जसले गर्दा छालामा साना–साना फोका वा दागहरू देखिने र चिलाउने गर्छ।

शरीरमा चिलाउने समस्यामध्ये लुतो मुख्य रूपमा पर्छ। ‘सारकोप्टस स्क्याबी’ किटाणु जिउ, कपडा तथा बेडको तन्नामा बस्छ।

लुतो जाडो महिनाको सुरूवाततिरबाट बढेर आउँछ, किनभने जाडो महिनामा मानिसहरूले नुहाउन अल्छी गर्दा वा सामान्य सरसफाइमा पनि ध्यान नदिँदा छालासम्बन्धी विभिन्न समस्याले सताउँछ। जाडोमा न्यानोका लागि सँगै सुत्ने, लुगा धेरै समयसम्म लगाउने गर्दा किटाणु बढी सक्रिय हुन्छ।

लुतो एक सरूवा रोग हो। घरको एक सदस्यलाई भएपछि अन्य व्यक्तिलाई पनि सर्दछ। समयमै उपचार नगर्ने हो भने छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ। लुतो छिटो र सजिलै सर्छ। रातिको समयमा बढी चिलाउने गर्छ।

खासगरी, काखी, कुहिनो, तिघ्रा, नाइटो वरिपरि, यौनांग लगायतका शरीरका विभिन्न भागमा लुतो आउन सक्छ। जुनसुकै उमेरका व्यक्तिलाई लुतो हुन सक्छ। शरीरको एक ठाउँमा आएको लुतो अन्य ठाउँमा पनि फैलँदै जान्छ।

उपचार
लुतोलाई समयमा उपचार नगरेको खण्डमा पछि छालाको धेरै समस्या देखिन्छ। घरपरिवारमा अन्य सदस्यलाई सर्ने हुन्छ।
लुतोको उपचार गर्दा खासगरी छालारोग विशेषज्ञको सल्लाह अनुसार नै गर्नुपदर्छ।

उपचारका लागि बिरामीले घाँटी देखि पैतालासम्म कतै नछुटाई झोल औषधिसम्पूर्ण भागमा दल्नुपर्ने हुन्छ। खासगरी शरीरका कापमा लगाउनुपर्छ। बेलुका औषधि लगाएर बिहान तातो पानीले नुहाउनुपर्छ।

लुतो भएको व्यक्तिलाई छुँदा, लुगा लगाउँदा लुतो सर्छ। त्यसकारण लुगा कपडा तातोपानीले धोएर सुकाउनुपर्छ। खटिँरा धेरै छन् भने चिकित्सकले लगाउने मलमको साथै खाने औषधि पर्ने दिनुहुन्छ।

यसमा बिरामीको मात्रै उपचार गरेर हुँदैन। लुतो चाडैं फैलिने हुँदा बिरामीको साथ–साथै अन्य परिवारका सदस्यको पनि एकैसाथ उपचार गर्नुपर्दछ।बिरामीमात्रै उपचार गर्दा केही दिनलाई कम भएको जस्तो देखिन्छ। केही दिन पुनः समस्या दोहोरिन्छ। त्यसका साथै सरसफाइमा ध्यान दिनुपर्छ। समय–समयमा नुहाउन पर्छ।

बालबालिकाका हकमा भने पैताला, हत्केलामा स–साना फोका आउँछ। बालबालिका लागि लगाउने छुट्टै औषधि हुन्छ।
नेपालमा छालासम्बन्धि देखिने समस्यामा लुतो प्रमुखमा स्थानमा पर्छ। छालासम्बन्धी समस्या देखिनासाथ सम्बन्धित विज्ञ चिकित्सकसँग परामर्श लिनु आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय