जन्मिएको दुई महिनाभित्र दुई पटक अपहरणमा परे यी शिशु

भारतको पश्चिमी राज्य गुजरातमा दैनिक ज्यालादारी काम गर्ने दम्पतीका एक दुईमहिने शिशु दुई पटक अपहरणमा परे।

बीबीसी गुजरातीका भार्गव पारिखले त्यसको कारण खोतलेका छन्।

“अब म मेरो छोरालाई एक छिन पनि छाड्दिनँ,” गुजरातको गान्धीनगरमा बस्ने एक गरिब श्रमिक मीना वादीले भनिन्।

ती पच्चीस वर्षीया महिला दुई महिनाअघि आफ्नो छोरा दुई पटक अपहरणमा परेको कुराले अझै त्रस्त छिन्।

अबोध शिशुलाई लिएर अस्पतालबाट घर फर्किएकै दिन एप्रिल १ मा मीनाका छोरा हराए।

उनका अनुसार सुत्केरी भएको अस्पतालमा आफूलाई नर्स बताउने एक महिला घरमा आएर शिशुले खोप लगाउनुपर्ने बताएकी थिइन्।

त्यसपछि मीना छोरालाई लिएर उनीसँगै अस्पताल गइन्। ती महिलाले फोटो खिच्नुपर्छ भन्दै मीनालाई पर्खिन आग्रह गरेर बच्चालाई कतै लगिन्।

घण्टौँ बित्दा पनि ती महिला नआएपछि मीना अत्तालिएर उनलाई खोज्न थालिन्।

“म अत्तालिएको देखेर सुरक्षा गार्डले कारण सोधे। मैले बताएपछि उनीहरूले प्रहरीलाई खबर गरे,” उनले भनिन्।

महिला तथा बालविकास मन्त्रालयका अनुसार गत वर्ष भारतमा ४३,००० भन्दा धेरै बालबालिका हराएका थिए।

सरकारी विवरणअनुसार गुजरातमा ३,५०० जति बालबालिका बर्सेनि हराउँछन्।

विपन्न अभिभावकहरूले हराएको उजुरी बिरलै दर्ता गर्ने भएकाले सङ्ख्या अझ बढ्ता हुनसक्ने बालअधिकारकर्मीहरू बताउँछन्।

तर मीना र उनका श्रीमान् कानुले तत्कालै प्रहरीमा उजुरी दिए।

कसरी गरियो खोजी?

खोजबिनको अनुसन्धान गरेका प्रहरी निरीक्षक एचपी जला भन्छन्, “मीनालाई ती महिलाबारे केही पनि थाहा थिएन, उनको नाम समेत थाहा थिएन। उनले बच्चा लैजाने महिला कस्ती थिइन् भनेर पनि भन्न सकिनन्।”

प्रहरी टोलीले अस्पताल आसपासका सीसीटीभी फुटेज हेर्‍यो। त्यहीँबाट सबैभन्दा पहिले उनीहरूले सन्दिग्ध अपहरणकर्ताबारे केही सुइँको पाए।

एउटी महिला आफ्नो सारीमा केही लुकाउँदै मूल बाटोतर्फ लम्किरहेको देखियो।

के त्यसमा मीनाका छोरा थिए? त्यो सहजै भन्न सकिने अवस्था थिएन।

झन्डै ५०० जना रिक्साचालकसँग सोधपुछ गरेपछि उनीहरूले के भएको थियो भन्ने हेक्का पाए।

दृश्यमा देखिएकी तिनै महिलाले एउटा रिक्सालाई नजिकैखो गाउँमा लगेकी थिइन्।

प्रत्यक्षदर्शीका अनुसार उनको साथमा एक शिशु पनि थियो।

त्यसपछि पुन: प्रहरीले गाउँको सीसीटीभी फुटेज हेर्‍यो र राजमार्ग पुग्दासम्ममा पर्ने बाटोमा रहेका पसलेहरूसँग सोधपुछ गर्‍यो।

अनेक सङ्केत पछ्याउँदै जाँदा उनीहरू अर्को गाउँसम्म पुगे जहाँ ती महिला अन्तिम पटक देखिएकी थिइन्।

त्यसरी खोज्ने क्रममा उनीहरू एउटा खेती नगरिएको ठाउँसम्म पुगे जहाँ उनीहरूले ती महिलाका कपडा र एउटा आधारकार्ड भेटे।

उनीहरू त्यसकै भरमा त्यसमा उल्लेख गरिएको ठेगानासम्म पुगे। त्यहाँ उनीहरूले ती शिशुसहित एक महिलालाई भेटे तर ती शिशु मीनाका छोरा भने थिएनन्।

ती महिलाले प्रहरीलाई बताएअनुसार उनका श्रीमान् अर्कै महिलासँग भागेका थिए।

उनले बताएअनुसार ती पुरुषले उनका सबै सामानहरू चोर्ने क्रममा प्रहरीले भेटाएको उक्त परिचयपत्र समेत लगेका थिए।

ती सन्तान उनको दोस्रो विवाहबाट भएको उनले बताइन्।

मीनाका श्रीमान् जलाले भने, “हामीले ती महिलाका श्रीमान्‌लाई खोज्न थाल्यौँ र ती जोडी सुरुकी महिलाले दिएको ठेगानामा फेला परे।”

एउटा डीएनए परीक्षणमा त्यहाँ भएका शिशु मीनाकै भएको पुष्टि भयो। ती दम्पती पक्राउ परे पनि जमानतमा रिहा भए।

ती महिलाले मीनाको बच्चा चोरेको स्वीकारेको तथा ती पुरुषकी पहिली श्रीमतीले गलत ढङ्गले लुगा र परिचयपत्र फ्याँकेर फसाउन खोजेको दाबी गरेको बताइएको छ।

तर ती व्यक्तिले प्रहरीलाई त्यस्तो केही थाहा नभएको र उक्त बालक आफ्नै भएको ठानेको बताए।

ती महिलाले भने आफूले मृत शिशु जन्माएको र घरमा छोराबिना गए आफ्ना श्रीमान्‌ले छाड्लान् भन्ने डर लागेको बताइन्।

प्रहरीले उनको कथा अस्वाभाविक नभएको बताए।

प्रहरीसेवाबाट निवृत्त भएका दीपक व्यास भन्छन्, “अभिभावकहरूमा छोरीभन्दा छोरा पाउने लालसा छ। जेजसरी भए पनि उनीहरू छोरा चाहन्छन्। तसर्थ उनीहरू गरिब परिवारका सन्तान चोर्न चाहन्छन्।”

कसरी भयो दोस्रो पटक अपहरण?

मीना र कानु हराएको छोरा फेला पर्दा फुरुक्क परेका थिए। तर उनीहरूको हर्ष लामो समय टिकेन।

छोरा सामु फर्किएको दुई महिनापछि जुन ९ मा उनी फेरि हराए।

उसलाई रूखमुनि टोकरीमा सुताएर मीना कबाडी सामान सङ्कलन गरिरहेकी थिइन्।

फर्कँदा छोरा नदेखेपछि उनी अत्तालिएर प्रहरी चौकी पुगिन्। उनलाई त्यो अवस्थामा देखेर प्रहरी निरीक्षक जला अचम्भीत भए।

जासुसी क्यामरामा हेर्दा एक सन्दिग्ध पुरुष त्यसैदिन एउटा शिशुलाई बोकेर बाइकमा गएको देखियो।

प्रहरीले मोटरसाइकल धनीलाई फेला पार्दा उनले छिमेकी राज्य राजस्थानमा बस्ने आफ्नो साथीले त्यो दिन आफ्नो मोटरसाइकल लगेको बताए।

जलाको टोलीले छापा मारेर ढुङ्गाका मूर्ति बनाउने ती सन्दिग्ध व्यक्तिको घरमा शिशु फेला पर्‍यो।

प्रहरीले पत्नीसहित ती व्यक्तिलाई पक्राउ गर्‍यो। उनीहरूले अपराध स्वीकार गर्दै आफूहरू निःसन्तान भएकाले बच्चा चोरेको बताए।

जला भन्छन्, “अपरहरणकर्ता मीनाका श्रीमान्‌सँगै एउटा निर्माणस्थलमा काम गर्थे। उनले ती शिशुलाई देखेपछि चोर्ने जुक्ति निकालेका रहेछन्।”

चार दिनपछि मीनाको फेरि आफ्नो छोरासँग मिलन भयो।

हिजोआज प्रहरीहरू पनि नियमित ती शिशुलाई हेर्न पुग्छन्।

मीना प्रहरीले पनि आफूहरूले जत्तिकै आफ्नो छोरालाई माया गर्ने बताउँछिन्।

जलाले त्यसलाई अस्वीकार गर्दैनन्। उनी भन्छन्, “हाम्रो आँखाबाट ती शिशुलाई हटाउन हामी सक्दैनौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय