त्रिविमा प्रदर्शन, विद्यार्थीहरुको स्वास्थ्यको जिम्मेवारी त्रिविले लिन माग
त्रिभुवन विश्वविद्यालयले आफूहरुको स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने माग गर्दै विद्यार्थीहरुले बिहीबार शिक्षाध्यक्षको कार्यालयमा प्रदर्शन गरेका छन्। त्रिविले स्वास्थ्य सुरक्षामापदण्डविनै स्नातक परीक्षाको तयारी गरिरहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
‘परीक्षा तोकिएको समयमै हुनुपर्छ, तर, विद्यार्थीहरुको स्वास्थ्यको जिम्मेवारी त्रिविले लिनुपर्छ,’ उनीहरुले भनेका छन्, ‘त्रिविले जिम्मेवारी लिन सकेन भने बरु क्याम्पसलाई जिम्मा दिनुपर्छ।’
संक्रमणदर ५ प्रतिशतभन्दा तल झरेको अवस्थामा मात्र परीक्षा लिनुपर्ने सिसिएमसीको निर्णयविरुद्ध त्रिविले गरेको उनीहरुको भनाइ छ। परीक्षा सञ्चालकहरुलाई खोपको व्यवस्था गरे पनि विद्यार्थीहरुका लागि भने कुनै सुरक्षाको व्यवस्था नगरिएको उनीहरुको गुनासो छ। आफ्ना मागबारे त्रिवि प्रशासनलाई यसअघि नै ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाई नगरिएको उनीहरुको भनाइ छ।
आफ्ना माग पूरा नभए त्रिविमा तालाबन्दी गर्ने विद्यार्थीहरुको चेतावनी छ।
साउन पहिलो साताबाट परीक्षा
त्रिविले स्नातक पहिलो वर्षको नियमित परीक्षा साउन १० बाट तथा दोस्रो वर्षको स्थगित भएको परीक्षा ८ गतेबाट लिने तयारी थालेको छ।
विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धिसमेत गरेको छ। सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३ सय ५० वटा परीक्षा केन्द्र तोकेको छ। यसअघि स्नातक तहको परीक्षामा जम्मा २ सय १० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो।
यस वर्ष स्नातक परीक्षामा २ लाख ५० हजारभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा भौतिक रूपमा सञ्चालन गर्न सरकारले स्वीकृति दिएपछि स्वास्थ्य सावधानी अपनाउँदै अगाडि बढ्ने योजनामा रहेको विश्वविद्यालयले जनाएको छ।
विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर परीक्षा लिइने र सबै खालको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी परीक्षा संचालन हुने त्रिविले जानकारी दिएको छ।