प्रचण्डपत्नी सीताकाे एउटा भावुक तस्विर : कस्ताे रोगले थलिएकी छन् उनी?

हेल्थपोस्ट नेपाल

 

बुधबार साँझपख गंगा दाहालले सामाजिक सञ्जालमा एउटा तस्विर राख्दै लेखिन्–पुनर्मिलनको एउटा तस्विर। तस्विरमा उनकी आमा सीता दाहालको हात समातिरहेका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ थिए। सीता प्रचण्डकी श्रीमती हुन्। र गंगा उनीहरूकी छोरी।

निकै ‘भावुक’ त्यो तस्विर केहीबेरमै सामाजिक सन्जालहरूमा ‘भाइरल’ बन्यो। धेरैले सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन् भने कतिले विप्लव र प्रचण्डको राजनीतिक सम्बन्धको अतितलाई सम्झिएका छन्। कतिले उनीहरू सबैलाई मिलेर फेरि माओवादी केन्द्रलाई बलियो बनाउन सुझाव दिएका छन्।

 

बुधबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। त्यहीबेला एउटा दीर्घ रोगले थलिएकी सीता दाहाललाई पनि विप्लवले भेटेका थिए।

 

त्यही बेला सहयोगीको सहायताले सीता सकिनसकि उठ्दै गर्दा विप्लवले सीताको हात समाएका छन्। रोगले निख्रिसकेकी सीताको अनुहार र सुक्दै गइरहेको उनको शरीरले सबैको मन सिरिङ्गै बनाउँछ।

सीतालाई भेट्न पुगेका विप्लवले सुरुमा ‘भाउजु–भाउजु’ भनेर बोलाएका थिए। तर सीताले उनलाई चिन्नै सकिनन्। सहयोगीको सहारामा उठ्न खोज्दै गर्दा विप्लवले फेरि ‘म हुँ भाउजु’ भनेपछि सीताले बल्ल विप्लपलाई ठम्याएकी थिइन्।

त्यहाँ देखिएका विप्लव थिए तर, त्यो एउटा तस्विरले भयानक ‘भावुकता’ बोकेको छ। त्यसमा प्रचण्डको सिङ्गो राजनीतिक जीवन जोडिएको छ। देशले दश वर्षसम्म भोगेको जनयुद्धको एउटा कहाली लाग्दो कथा पनि जोडिएको छ।

थलिएकी सीता र विप्लवको साइनो
पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे जिन्दगीसँग गाँसिएको एउटा सिङ्गो कथा हो, सीता। अनि ‘प्रचण्ड’ छाँयामा सधै बिलुप्त पारिएकी एउटा पात्र हुन् सीता।

कास्कीबाट चितवन बसाइ सरेका पुष्पकमल दाहाल जब काठमाडौं छिरेर ‘प्रचण्ड’ भए त्यसपछि देशले दश वर्ष लामो जनयुद्ध भोग्नुपर्‍यो।
जनयुद्धदेखि अहिलेसम्मै प्रचण्ड पूरै देशको राजनीति ‘प्रचण्ड’कै केन्द्र वरिपरि घुमिरहेको छ।

तर प्रचण्डका हरेक पाइलामा ‘अनवरत’ साथ दिएकी सीताको जीवन कथा भने अलि फरक छ। पुष्पकमल दाहालले कक्षा १०मा पढ्दा पढ्दै सीतासँग विवाह भएको थियो। पुष्पकमलको जीवन गाँसिएपछि सीता पौडेलबाट ‘दाहाल’मात्रै भइनन्, राजनीतिक जीवनमा साँच्चिकै ‘प्रचण्ड’ स्थापित गर्नका लागि सीताले आफ्नो जीवनको हरेक पल उनमै समर्पण गरेकी छिन्।

सीताको पौडेल परिवार र पुष्पकमलको दाहाल परिवार कास्कीबाट सँगसँगै चितवन झरेका थिए।

त्यहीँ उनीहरूको विवाह भयो। ‘पढेलेखेको र टाँठोबाँठो केटो’ खोजिरहेका सीताको परिवारले उनका लागि पुष्पकमल दाहालसँग कुरा छिनिदियो। त्यसपछि सीताले आफूभन्दा ६ महिना कान्छो पुष्पकमलसँग जीवन गाँसिन्। त्यो बेला पुष्पकमल कक्षा १०मा पढ्थे।

दश कक्षा पास गरेपछि उनी पढ्नका लागि काठमाडौं आए। सीता एक्लैले ठूलो त्यो दाहाल परिवार सम्हाल्दै बुहार्तन भोगिन्। पढ्नका लागि काठमाडौं छिरेका पुष्पकमल दाहाल पञ्चायतविरोधी आन्दोलनमा जोडिइसकेका थिए। केही वर्ष बित्यो सीता दम्पतीका तीन छोरी जन्मिए। त्यसपछि फेरि अर्का एकजना छोरा पनि जन्मिए।

त्यो बेलासम्म प्रचण्डको राजनीतिक यात्रा झन् गाँजिइसकेको थियो। पञ्चायती सरकारले उनलाई खोजिरहेको थियो। सरकारबाट परिवारलाई समेत ‘डर’ हुन थालेपछि बाबु मुक्तिराम दाहालले प्रचण्डलाई छुट्याइदिए।

केही समय चितवनको भरतपुरमै सीता र आफ्ना चार छोराछोरी छोडेर फेरि काठमाडौं छिरेका दाहालले २०४६ सालपछि बल्ल उनीहरूलाई काठमाडौं ल्याए।

तर जनआन्दोलनपछिको राजनीति पनि धेरै समयसम्म शान्तिको बाटोमा हिँड्न सकेन। त्यो बेलासम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेर जनयुद्धको घोषणा गरिसकेका थिए।

छोराछोरी ठूला भइसकेका थिए। छोरीहरूको विहे भइसकेको थियो। दुई छोरीको त उनले भारतमा सँगसँगै(एकैदिन) बिहे गरिदिएका थिए।
२०५२ साल फागुन १ गतेदेखि त जनयुद्ध सुरु नै भयो। २५ वर्षभन्दा धेरै बुहारी जीवन बिताएकी सीताका लागि फेरि ‘बनबास’को यात्रा सुरू भयो।

२०६२-६३ सालको आन्दोलनसँगै प्रचण्डहरूले बन्दूक बिसाएर शान्तिपूर्ण आन्दोलनमा आए।

दशवर्ष जनयुद्धमा प्रचण्डका ‘सारथी’ बनेका विप्लव शान्ति प्रक्रियापछि भने फरक किनारामा उभिए। प्रचण्ड–बाबुरामहरूले ‘क्रान्ति’को सपना पूरा नगरेको भन्दै उनी प्रचण्डले लिएको शान्तिपूर्ण राजनीतिक बाटोमा हिँड्न चाहेनन्।

र, मोहन बैद्य ‘किरण’ अनि रामबहादुर थापा ‘बादल’हरूलाई लिएर अलग यात्रा रोजे।

युद्धकालमा प्रचण्डका नजिक भएर जनयुद्ध हाँकेका विप्लव युद्धका बेला कालिकोट प्रहरी चौकी आक्रमणका बेला सिधै प्रहरीको हातबाट राइफलहरू खोसेर झन् चर्चित भएका थिए।

पछि मोहन वैद्य पनि अलग भए। बादल पनि फेरि प्रचण्डसँगै फर्किए। नेकपाको एकता र बिग्रहसँगै ‘केपी ओली’ कित्तामा गएका बादलले फेरि माओवादीको त्यो विरासतको बाटो छोडेका छन्।

जनयुद्धका बेला बादल-विप्लवको ‘हेट एण्ड लभ’को सम्बन्ध सत्तायात्रापछि यतिधेरै ‘दुश्मनी’मा बदलियो कि, उनै बादल गृहमन्त्री भएका बेला उनकै प्रस्तावमा २०७५ साल फागुन २८ गते विप्लव समूहमाथि ‘प्रतिबन्ध’ लाग्याे।

त्यसको करिब ३ वर्षपछि गत फागुनमा ओली सरकारले नै विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवा गर्‍याे। पहिलो संविधानसभाको चुनावदेखि नै लगभग ‘भूमिगत’ भइरहेका विप्लव यही फागुनदेखिमात्रै खुल्ला जीवनमा फर्किएका छन्।

र, यो राजनीतिक परिस्थिति(ओलीको बहिर्गमन)सँगै विप्लवले फेरि राजनीतिक भेटघाटलाई तीब्र बनाएका छन्। सीता दाहालसँग पनि विप्लवको त्यही जनयुद्ध साइनो हो।

राजनीतिक भेटघाटकै क्रममा प्रचण्डलाई भेट्न पुगेका विप्लवले बुधबार सीतालाई पनि भेटेका हुन्।

गंगाले त्यो फोटोसँगै लेखेको ‘पुनर्मिलन’को कथा जनयुद्धको त्यही कथा अनि राजनीतिक मोडको संकेत पनि हो। तर उनीसँगै त्यहाँ पुगेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले भने त्यो विशुद्ध ‘पारिवारिक’ भेटघाट भएको बताए।

विप्लवमात्रै होइन लगभग सबैजसो माओवादी नेताले सीतालाई एक आदर्श पात्रका रुपमा लिन्छन्। प्रचण्डसँग ‘रिसाए’पनि सीताप्रति लगभग सबैको आदरभाव उस्तै छ।

जीवन र जनयुद्धका हरेक कठीन अनि हरेक संघर्षपूर्ण यात्रामा प्रचण्ड पथलाई साथ दिँदै आएकी सीता जीवनको उत्तरार्द्धमा उनी एउटा घातक रोगसँग लडिरहेकी छिन्।

कस्तो रोगसँग जुधिरहेकी छिन् सीता?
शान्तिपूर्ण राजनीतिमा फर्किएपछि जिन्दगीले एउटा लय समातिसकेको थियो। ‘बनबास’को जीवनबाट बाहिरिएपछि सीताको जीवन उज्यालिँदै थियो।

तर २०७० साल चैत १३ गते उनकी जेठी छोरी ज्ञानु दाहाल केसीको निधन भयो। स्तन क्यान्सरले थलिएकी उनको उपचारको क्रममा काठमाडौंमै मृत्यु भएको थियो।

जीवनको त्यो ‘एक टुक्रा’ खस्दा सीताको ज्यान अलिअलि खलबलिन थालिसकेको थियो। त्यसको चार वर्षपछि अर्थात् २०७४ मंसिर ३ गते उनका छोरा प्रकाश दाहालको पनि हृदयघातबाट निधन भयो। त्यो पीर सीताको ज्यानमाथि झन् भारी बनेर आइदियो।

त्यसपछि थलिएकी उनलाई प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पी.एस.पी.) भयो। यही रोगबाट उनी यसरी गाँजिइन् कि अब यसको कुनै निदान छैन। चिकित्सकहरूका अनुसार यो रोगलाई ‘नियन्त्रण’मात्रै गर्न सकिन्छ।

उनमा ‘प्रोग्रेसिभ सुप्रान्युक्यिर पाल्सी’ को समस्या भएको भनेर नेपालमै पत्ता लागेको थियो। त्यसपछि प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका, सिंगापुर र भारतमा गइसकेका छन्।

प्रोग्रेसिभ सुप्रान्युक्यिर पाल्सी मस्तिष्कमा लाग्ने रोग हो। न्यूरोलोजिस्ट बाबुराम पोखरेलका अनुसार यो रोग लागेपछि दिमागको नशा सुक्दै जान्छ र विभिन्न खालका लक्षण देखा पर्न थाल्छ। यो समयसँगै झन् बढ्दै जान्छ।

‘यो पार्किन्सन जस्तै खालको रोग हो। यो निको हुने खालको बिमारी होइन,’ उनले भने। नशा सुक्दै जाने भएकाले मानिसको चाल कम हुँदै जाने, बोल्न गाह्रो हुने, दिसा कब्जियत हुने, हात काँप्नेजस्तो हुन्छ। उस्तै खालका लक्षण देखिने भएकाले यसलाई पार्किन्सन प्लस सिन्ड्रोम पनि भनिन्छ।

सीताका सन्दर्भमा आफै अडिएर बस्न नसक्ने, हिँड्दा लड्न र ठोकिन सक्ने, स्मरणशक्तिमा ह्रास आउनेजस्ता लक्षण देखिएका छन्।

यो रोगको लक्षणलाई रोक्ने उपचार मात्र छ भने, पूरै निको बनाउन सक्ने कुनै प्रविधि वा औषधि हालसम्म विश्वमा विकास नभएको उनी बताउँछन्।

पिएसपी विस्तारै गम्भीर भएर जान्छ र कति लामो समयसम्म विरामी बाँच्छ भन्न पनि नसकिने उनी बताउँछन्।

यो रोगले गर्दा निमोनिया, सुगर कम हुने, युरिन इन्फेक्सन गराउँछ। लक्षणलाई नियन्त्रणमा राख्ने खालका उपचार बाहेक रोगलाई निर्मुल गर्न भने सकिन्न। यो रोग निको हुँदैन।

६० वर्ष नाघेका एक प्रतिशत व्यक्तिलाई पार्किन्सन देखिन्छ भने पिएसपी ज्यादै कमलाई देखिन्छ।

यही रोगको उपचारका लागि सीतालाई भारतको न्युरोजेन अस्पताल लगरिएको हो, जहाँ स्टेम सेलको थेरापी गरिन्छ।

सीतालाई तीन वर्षदेखि उपचार गर्दै आएका न्युरोलोजिष्ट पोखरेलले प्रचण्ड दम्पती स्टेम थेरापी वा प्रत्यारोणको सम्भावनालाई बुझ्न गएको हुनसक्ने बताए।

स्टेम सेल (स्टेम कोशिका) सबै कोशिकाको आमाका रुपमा लिइन्छ। यसबाट अन्य कोशिका पनि बन्ने गर्दछ। दिमागबाट यो कोशिका प्रत्यारोपण गर्न सके स्वास्थ्यमा सुधार आउँछ।

‘स्टेम सेल प्रत्यारोपण गरी दिमागलाई राम्रोसँग सञ्चालनमा ल्याउन सकिन्छ कि भनेर प्रचण्ड भारतमा गएका हुन्,’ उनले भने। उनका अनुसार नेपालमा यो प्रत्यारोपण सम्भव छैन।

सीताको उपचारका लागि प्रचण्ड परिवारले कुनै कसर बाँकी राखेको छैन। अस्पतालहरूमात्रै होइन उपचारका लागि प्रचण्डले सीतालाई लिएर रामदेवका आश्रम अनि तातोपानीका कुण्डहरूमा समेत पुगिसकेका छन्।

भारत, थाइल्याण्ड तथा अमेरिकाजस्ता देशमा पनि उनको उपचार भइसकेको छ। तर निदानको कुनै नामोनिशान छैन।

प्रचण्ड अहिले सीताको निकै ख्याल राख्ने भएका छन्। राजनीतिक समय कटाएर उनी केही समय सीतालाई पनि दिन्छन्। उनको मन बहलाउन ठाउँठाउँमा घुमाउन पनि लैजान्छन्। विहे वर्षगाँठमा ‘केक’ पनि काट्छन्।

तर, पनि सीता बौँरिएकी छैनन्। झनझन् गलिरहेकी छिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *