जिका भाइरसको जोखिममा नेपाल

भारतको केरला प्रान्तमा देखिएको जिका भाइरस संक्रमणले भारतमा मात्र नभई नेपालमा पनि जोखिम बढाएको छ। जुलाई १२ सम्मको तथ्याङ्कअनुसार एक गर्भवती महिलासहित १८ जनामा जिका भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतसँग खुला सीमाका कारण रोग फैलिने सम्भावना त छँदैछ, तर नेपालमा पनि रोग फैलन मद्दत गर्ने भेक्टरहरु पनि प्रशस्त मात्रामा रहेका कारण यस विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।

जिका भाइरस लामखुट्टेबाट सर्ने रोग हो। यो रोग ‘एडिस इजिप्टाई र एडिस अल्बापिक्टस’ प्रजातिको लामखुट्टेबाट सर्छ। यो प्रजातिका लामखुट्टेहरुले चिकेनगुनियाँ, डेंगु र यलो फिभर पनि गराउँछ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९४७ मा बाँदरमा जिका भाइरस देखिएको थियो। पछि १९५२ मा युगान्डा र युनाइटेड रिपब्लिक अफ तान्जानियामा मानिसमा देखिएको थियो। त्यसपछि पहिलो लहर माइक्रोनेसियामा सन् २००७ मा देखिएको थियो।

जिका भाइरसको एक हप्तादेखि १४ दिनमा लक्षणहरु देखा पर्न थाल्छ। जसका कारण बिरामीमा ज्वरो आउने, जोर्नीहरु दुख्ने, आँखा रातो हुने, मांसपेशीहरु दुख्ने, रातो डाबरा आउनेजस्ता लक्ष्ण देखिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले बताए।

जिका भाइरस सामान्य रोग भएपनि यसले भ्रुणलाई एकदमै असर गर्दछ।

‘गर्भवती महिलामा यो संक्रमण देखिए यसले पेटमा भएको बच्चाको दिमागी विकासमा नराम्रो असर गर्दछ। बच्चाको टाउको सानो हुनेदेखि नसा सम्बन्धी समस्याहरु देखिन्छन्,’ डा. पुनले भने।

जिका भाइरसका कारण बच्चामा माइक्रोसिफाली–बच्चाको टाउको राम्रोसँग विकास नहुने तथा ब्रेन ड्यामेज हुने तथा ‘गुलियान–बेर–सिन्ड्रोम’ रोगसँग लड्ने क्षमता (इम्युन सिस्टम)  ले नसाहरुलाई अक्रमण गर्ने विभिन्न अध्ययनले देखाएको छ।

हालसम्म यो भाइरसको कुनै खोप वा औषधी उपलब्ध हुन सकेको छैन।

नेपालमा यो भाइरस फैलाउन सक्ने लामखुट्टे सबै जिल्लामा पाइने भएकाले झनै सर्तकता अपनाउनुपर्ने उनी बताउँछन्।

ब्राजिलमा जिका भाइरस महामारीकै रुपमा फैलिएपछि विश्वभरि नै यसलाई गम्भीर महामारीको रुपमा हेरिएको थियो।

विश्व स्वास्थ्य संगठनले यसलाई पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्नका रुपमा घोषणा गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा.गुणनिधि शर्माले बताए।

त्यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको टेक्निकल सपोर्टमा ‘जिका रिस्क एसेसमेन्ट सर्भिलियन्स’ गरेको थियो।

‘त्यति बेला हामीले सर्भिलियन्स गरेका पनि थियौं। नेपालमा जिका आउने सम्भावना कति छ, छ भने कसरी पहिचान गर्ने, सर्भिलियन्स सिस्टम कस्तो छ भनेर विज्ञहरु राखेर छलफल गरेको थियौं,’ उनले भने।

तर, हाल त्यस्ता खालका कुनै सर्भिलियन्स नभएको डा. पुन बताउँछन्।

‘पहिलो केही स्याम्पलहरु परीक्षण गर्न राष्ट्रिय प्रयोगशालामा पठाइन्थ्यो भने परीक्षण पनि हुने गरेको थियो। तर, हाल यस्ता कुनै परीक्षण नभएको र रोकिएको अवस्थामा छ। सर्भिलियन्स पनि के भएर रोकियो थाहा छैन,’ पुनले भने।

उनले एन्टिबडी परीक्षण गर्ने विधि र पिसिआरबाट जिका भाइरस पत्ता लगाउन सकिने बताए। उक्त विधिबाट चिकेनगुनियाँ, डेंगु र जिका भाइरस पनि पत्ता लगाउन सकिन्छ। नेपालमा जुनै समयमा पनि जिका आउट ब्रेक हुनसक्ने भएकोले सतर्क रहन र परिवार योजना गरिरहेकालाई ध्यान पुर्‍याउन डा. पुनले आग्रह गरे।



Leave a Reply

Your email address will not be published. Required fields are marked *