डा. गोविन्द केसी बीपी प्रतिष्ठानमा , केहीबेरमा पत्रकार सम्मलेन गर्दै

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले उठाएको माग समर्थन गर्दै धरान पुगेका छन्।

प्रतिष्ठानको हलमा डा. केसीले केहीबेरमा पत्रकार सम्मलेन गर्न लागेको संयुक्त संघर्ष समितिका सह–संयोजक एवम प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले जानकारी दिए।

डा. केसीले पटक–पटक प्रतिष्ठानका चार पदाधिकारीलाई बर्खास्त गर्ने माग राखेका छन्।

दलीय वफादारिताका आधारमा पदमा पुग्ने नालायक र भ्रष्ट पदाधिकारीहरुले गर्दा प्रतिष्ठान अहिले धराशायी हुने संघारमा पुगेको डा. केसीले बताउँदै आएका छन्।

बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेकाले तत्काल पद खाली गर्नुपर्ने र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार दलीय वफादारिता नभई वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने केसीको माग छ।

प्रतिष्ठानमा बढ्दै गएको अनियमितता विरुद्ध र आर्थिक, प्रशासनिक र शैक्षिक शुद्धीकरणको माग राख्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।

प्रतिष्ठान शुद्धीकरण अभियान चलाइरहेको संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लिखित रुपमा माग राखेको छ । संघर्ष समितिले आज एक विज्ञप्ति जारी गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विगत ३० दिनदेखि आन्दोलनमा रहेकाहरुको माग सम्बोधन गरी कार्यकाल सुरुवात गर्न अपिल गरेको छ ।

प्रधानमन्त्री नियुक्त भएको ४८ घण्टाभित्र आफ्ना मागहरू पूरा नगरिए साउन १ गतेदेखि आकस्मिक र कोभिड उपचार नगर्नेलगायत कार्यक्रम गर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।

प्रतिष्ठानमा भएको बेथिति तत्काल रोकिनुपर्ने, प्रतिष्ठानका हरेक दिनको आयव्यय लगायतको कोरोबारको विस्तृत विवरण वेवसाइट मार्फत सार्वजनिक गर्नुपर्ने, बिरामी उपचार सम्बन्धि सम्पूर्ण सेवाहरु अनलाइन मार्फत हुनेगरी व्यवस्था गर्नुपर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मिलाई गत वर्षको जोखिम भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, प्रतिष्ठानका ल्याबहरुको क्षमता, गुणस्तर र प्रविधिको विकास गर्नुपर्ने लगायतका माग गरेका छन्।

त्यसैगरी, आवासीय चिकित्सकहरु र विद्यार्थीको छात्राबास निर्माण, छात्राबासको शुल्क, इन्टरनेट सर्भिस, बिद्युत, पानी लगायत समस्या तत्काल समाधान गर्नुपर्ने, प्रतिष्ठानसँग गाँसिएका अनियमितता र भ्रष्टाचारको मुद्दाहरुलाई छिटो टुंग्याउन प्रतिष्ठान, दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्नका लागि प्रतिष्ठानमा आवश्यक उपकरणहरु, डेन्टल चेयर, डिजिटल एक्सरे, सिटिस्क्यान, एमआरआई लगायतका अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणको तत्काल व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय