नयाँ प्रधानमन्त्रीलाई माग पूरा गर्न स्वास्थ्यकर्मीकाे ४८ घण्टे अल्टिमेटम

हेल्थपोस्ट नेपाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले  प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त भएको ४८ घण्टाभित्र माग पूरा गर्न अल्टिमेटम दिएका छन्।

संयुक्त संघर्ष  समितिले सो अवधिभित्र माग पूरा नभए साउन १ गतेदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

विगत ३० दिनदेखि भ्रष्टाचार तथा स्वास्थ्य प्रतिष्ठानमा अनियमितता भएको भन्दै आन्दोलन गर्दै आएका स्वास्थ्यकर्मी तथा विद्यार्थीले शुक्रबारबाट हरेक दिन बिहान ८ देखि १० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार र पूर्वनिर्धारित परीक्षाका कार्यक्रमबाहेकका सम्पूर्ण सेवामा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, विद्यार्थीलगायत सबै कर्मचारीको उपस्थित नहुने निर्णय गरेका छन्।

समितिले विज्ञप्ति जारी गर्दै यस कदमलाई पनि नजरअन्दाज गरिए निकट भविष्यमै आकस्मिक सेवाबाहेक सबै सेवा पूर्णरुपले ठप्प पार्ने चेतावनी दिएका छन्।

त्यस्तै, अप्रिय घटना भए त्यसको जिम्मेवारी कुलपति तथा प्रधानमन्त्रीले लिनुपर्ने समितिले जनाएको छ। समितिले पाँच बुँदे माग राख्दै ४८ घण्टाभित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटी गठन गर्न पनि आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *