पूर्वप्रधानमन्त्री झलनाथ खनालको डायलाइसिस सुरू, प्रत्यारोपण गर्ने तयारी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौलाको डायलाइसिस सुरू गरिएको छ।

तीन साताअघि ‘पोस्ट कोभिड’बाट स्वास्थ्य समस्या जटिल बन्दै गएपछि खनाल अपोलो प्रस्थान गरेका थिए। खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र पोस्टकोभिडका समस्या देखिएको थियो।

करिब एक बर्ष अगाडिदेखि उनको मिर्गौलामा समस्या देखिएको थियो। लामो समयदेखि खनालको उपचारमा संलग्न नेपालका एक चिकित्सकका अनुसार अपोलो अस्पतालमा डायलाइसिस सुरू गरिसकिएको छ।

प्रत्यारोपणको तयारी भइरहेको पनि उनले बताए। यद्यपि प्रत्यारोपण भारत वा नेपालमा कहाँ गर्ने भन्ने यकिन भएको छैन।

‘डायलाइसिस गरेपछि स्वास्थ्य अवस्था राम्रो भएको छ। तर, उहाँ प्रत्यारोपण नै गर्नुपर्ने स्थितिमा पुग्नु भएको छ,’ ती चिकित्सकले भने।

खनालले पनि डायलाइसिस गरेर बस्नुभन्दा प्रत्यारोपण नै चाहेको पारिवारिक स्रोतले जनाएको छ। अझ उनले नेपालमै प्रत्यारोपण होस् भन्ने चाहेको जनाइएको छ।

‘मसँग कुरा हुँदा नेपालमा नै प्रत्यारोपण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो। तर, उपचारको सबै प्रक्रिया गरिरहेकाले अपोलो अस्पतालमा नै प्रत्यारोपण गर्न सजिलो भने हुन्छ,’ उनी भन्छन्।

तर, उनको अस्पताल बसाई कति लामो समय हुन्छ भन्ने अझै निश्चित भएको छैन। ‘गम्भीर अवस्थामा व्यक्तिको डायलाइसिस गर्नु भनेको प्रत्यारोपणमा नै जानुपर्ने हुन्छ,’ ती चिकित्सकले भने।

कोभिड हुनुभन्दा अगाडि खनालको मिर्गौलाले २५–३० प्रतिशतको हाराहारीमा काम गरेको थियो। त्यससमयमा औषधिबाट स्वास्थ्य अवस्था स्थिरमा राखेका थिए।

तर, कोभिडले थप समस्या निम्त्याउँदा ‘डायलाइसिस’ मा नै जानुपर्ने अवस्था भएपछि नर्भिक अस्पतालबाट असार ३ मा डिस्चार्ज लिएर अपोलो गएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय