तीन महिनाअघि मात्रै भएको थियो डा. अर्यालकाे विवाह, प्रारम्भिक अनुसन्धानमा के भेटियाे?

मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्यालले विष सेवन गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार डा. अर्यालले विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक अध्ययनले देखाएको हो।

उनी बूढानीलकण्ठस्थित एक होटलमा आइतबार मृत फेला परेका थिए।

मृत्युको कारण पत्ता लगाउनका लागि उनको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।

‘हाम्रो प्रारम्भिक अनुसन्धानमा विष सेवनबाट मृत्यु भएको देखिन्छ। थप अध्ययन गरिहेका छौं। पोष्टमार्टमको रिपोर्ट बेलुकासम्म आइपुग्छ। अनि केही थप भन्न सकिएला,’ एसपी बस्नेतले हेल्थपोस्टसँगको कुराकानीमा भने।

उनका अनुसार मृतकको कोठामा विष फेला परेको थियो।

डा. अर्याल गत असोजमा नवौं तहमा बढुवा भएर मानसिक अस्पतालमा पुगेका थिए।

कन्सल्ट्यान्ट साइक्यास्ट्रिकका पदमा कार्यरत डा. अर्याल अस्पतालमा शुक्रबारसम्म काम गरेर फर्किएका उनका सहकर्मी डा. वासुदेव कार्कीले जानकारी दिए।

‘सधैं हाँसी-मजाक गरिरहनुहुन्थ्यो। उहाँको सबैसँगै मिलनसार व्यवहार थियो। सँगै काम गरिरहँदा केही व्यवहारमा फरक भएको अनुभूति पाएका थिएनौं। शुक्रबार पनि अस्पतालमा काम गरेर घर फर्किनु भएको थियो,’ डा. कार्कीले भने।

डा. अर्यालको तीन महिनाअघि मात्रै विवाह भएको थियो। बबरमहलमा घर भएका उनको परिवारमा बुवा, आमा र श्रीमती छन्। भाइ र भाइबुहारी विदेशमा बस्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय