झापामा २५ वर्षीया युवतीको हत्या
झापाको बिर्तामोडमा एक युवतीको हत्या भएको छ। उनको शव बिर्तामोड नगरपालिका-५ को सुगम पेट्रोलपम्प नजिक अर्धनग्न अवस्थामा सोमबार बिहान फेला परेको छ। उनको ढाडमा चोट लागेको देखिएको छ। हत्या नै भएको प्रहरी आशंका छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यका अनुसार सो शव २५ वर्षीया युवती सिर्जना बस्नेतको हो। पूर्व-पश्चिम राजमार्गको सुगम पेट्रोलसँगै रहेको एकघरको आँगनमा सिर्जना मृत फेला परेकी प्रहरीले जनाएको छ।
सिर्जना आमासहित सानीमाको घरमा बस्दै आएकी थिइन्। उनले बिर्तामोडकै एक सहकारीमा काम गर्ने गरेकी प्रहरीले जनाएको छ। घटनाको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको छ।