यसकारण आवश्यक कोरोनाविरुद्ध ‘तेस्रो डोज’ खोप

हेल्थपोस्ट नेपाल

अमेरिकाको औषधी कम्पनी फाइजरले कोरोना भ्याक्सिनका लागि ‘बुस्टर डोज’ को अनुमति माग गरेको छ। यसको मतलव थप प्रतिरोधात्मक शक्त्तिका लागि अब कोरोनाविरुद्ध भ्याक्सिनको तेस्रो डोजको पनि आवश्यकता छ।

अहिलेसम्म विश्वका बनेका धेरैजसो भ्याक्सिनहरू दुई डोजलाई नै पूर्णमात्रा मानिँदै आएका छन्। अमेरिकाको जोन्सन एन्ड जोन्सन भने एक डोज लगाए पुग्छ। तर अरु सबैजसो भ्याक्सिनका दुई मात्रा लगाउनैपर्छ।

तर फाइजरले भने नयाँ नयाँ भेरिअन्टहरूको प्रतिरक्षाका लागि अर्को पनि डोज थप्नुपर्ने माग गरेको छ। त्यसलाई उसले ‘बुस्टर डोज’ भनेको छ।

कम्पनीले आफूले बनाएको भ्याक्सिनलाई अझ प्रभावकारी बनाउन थप एक डोज (बुस्टर डोज) का लागि अनुमति मागेको हो।

फाइजरले आगामी अगस्टमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) सँग तेस्रो डोजका लागि आपतकालीन अनुमति माग गर्नेछ।

फाइजर र बायोएनटेक कम्पनीले सबैभन्दा पहिला कोरोनाविरुद्ध खोप तयार गरेका थिए।

कम्पनीले १२ महिनाभित्र तेस्रो डोज लगाए इम्युनिटीलाई यसले नाटकीय रुपमा बढाउने दाबी गरेको छ। उसले खतरनाक बनेको डेल्टा भेरियन्टविरुद्ध यो सबैभन्दा बढी प्रभावकारी हुनेसमेत बताएको छ। त्यसो त यसअघि गरिएका थुप्रै अध्ययनमा पनि फाइजरको खोपले डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी रहेको देखाइएको थियो।

अहिले डेल्टा भेरियन्टले विश्वभर आतंक मच्चाइरहेको छ। अमेरिकामा पनि यसका सबैभन्दा बढी संक्रमित फेला परेका छन्।

अहिले उपलब्ध अधिकांश खोप दुई डोज लगाउनुपर्ने भनिएको छ। जुन कोरोनाका सबै भेरियन्टका लागि प्रभावकारी हुने बताइएको छ। सबै खोपले कोरोनाविरुद्ध लड्न शरीरमा एन्टिबडी तयार गर्छन्। तर, विस्तारै हाम्रो शरीरमा खोपका कारण विकसित एन्टिबडी कम हुँदै जान्छ। तसर्थ फाइजरले नयाँ-नयाँ भेरियन्टविरुद्ध खोपलाई अझ प्रभावकारी बनाइराख्न बुस्टर डोजको आवश्यकता महसुस गरेको र यसका लागि एफडिएसँग अनुमति माग गर्ने निर्णय गरेको हो।

फाइजरका डा. मिकेल डोलस्टेनले तेस्रो डोजले दोस्रो डोज लगाइसकेकाहरुमा पाँचदेखि १० प्रतिशतसम्मले एन्टिबडी बढाउने दाबी गरे।

तेस्रो डोज कति आवश्यक छ?

‘अहिले नै यसको अनुमति भने आश्चर्यजनक छ’ नेशनल फाउन्डेसन फर इन्फेक्सियस डिजिजका निर्देशक तथा प्रध्यापक डा. विलियम सेफनर भन्छन् ‘यो हामीलाई कुनै पनि बेला चाहिनसक्ने हुनसक्छ तर मलाई लाग्छ अहिले नै हामीलाई यसको जरूरी छ।’

भ्याक्सिन निर्माताहरूले भविष्यमा के होला? भनेर हेरिरहेका छन्। तर जनस्वास्थ्य विज्ञहरू भने अहिलेको अवस्थामा सबैभन्दा जरूरी कुरा भनेको सबै मानिसलाई भ्याक्सिन लगाइसक्नु हो।

‘खोप निर्माण गर्ने कम्पनीहरूले यो खोपले कहिलेसम्म काम गर्नसक्ला? भनेर हेरिरहेका छन्’ ट्रम्प प्रशासनमा काम गरेका एकजना डाक्टर जेरोम आडम्स भन्छन् ‘तर हामीलाई लाग्छ, पूर्ण खोप लगाएको मानिसमा निकै राम्रो एन्टिबडी बन्छ र नयाँ भेरिअन्टका लागि पनि त्यसले काम गर्छ। त्यसैले अहिलेको काम भनेको जसरी हुन्छ पूर्ण भ्याक्सिन लगाउने नै हो।’

विज्ञहरूले पर्याप्त अध्ययन र अनुसन्धान बिना थप ‘बुस्टर डोज’ दिँदा त्यसले क्षति निम्याउन पनि सक्नेतर्फ सचेत हुन आग्रह गरेका छन्। उनीहरूले संक्रमणका विभिन्न प्रभाव तथा भाइरसका भेरिअन्टहरूका बारेमा धेरै भन्दा धेरै अध्ययन अनुसन्धान भइसकेपछि मात्रै त्यसबारे योजना बनाउन सुझाव दिएका छन्।  एजेन्सीहरूको सहयाेगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *