चीनबाट आएको ८ लाख खोप तीन प्रदेशमा जाँदै, क–कसले पाउँछन्?
चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आज बिहान खोप नेपाल ल्याइर्पुयाएको हो।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो। जसमध्ये पहिलो खेपमा ८ लाख डोज खोप आएको हो।
नेपाल ल्याइएको खोप त्रिभुवन विमानस्थलको चिस्यान भण्डारणमा राखिएको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका उपेन्द्र ढुंगानाले ८ लाख मात्रा खोप तीन प्रदेशमा लैजाने तयारी भएको बताए।
आज नै तीन प्रदेशमा खोप लगिने
उनले पोखरा, हेटौडा र बुटवलामा आज नै खोप पुर्याइने बताए।
‘आज नै तीन प्रदेशमा लैजाने तयारी भएको छ। एर्यरर्पोटबाट नै वितरण हुनेछ,’ उनले भने। अहिले आएको खोप कसलाई दिने भन्ने निर्णय नभइसकेको उनले बताए।
भण्डारण केन्द्रमा खोप पुर्याइसकेपछि जिल्ला–जिल्लामा खोप लगाउन सुरु गरिने सरकारको योजना छ ।
विज्ञहरले भने ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिन सुझाव दिएका छन्।
चिनियाँ भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । नखोली राखिएको यो खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
भेरोसेल खोप दुई डोज लगाउनुपर्छ ।
‘अहिलेको खोप ५५ वर्ष माथिकालाई दिन पुग्छ। उमेर समूहबाट नै खोप दिँदै जानुपर्छ,’ खोप विज्ञ डा. श्यामराज उप्रेतीले भने ।
भेरोसेल खोप ननडिस्क्लोज एग्रिमेन्टमा खरिद गरिएकाले मात्रा र मूल्य गोप्य राखिएको छ । नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ ।