एउटी नर्सको महामारी भोगाई : कोही बेडमा छटपटाउँदै प्राण त्यागे, कसैले आइसियु कुर्दाकुर्दै

हेल्थपोस्ट नेपाल

 


भक्तपुरदेखि गंगालाल हृदय केन्द्र जाँदा बाटैमा पर्छ पशुपतिनाथ।

सधैं हतारोमा कुद्ने उनको स्कुटर एकदिन तिलगंगाको पुलमा पुगेर टक्क रोकियो।

भारतमा कोरोनाको दोस्रो लहर भयावह हुँदाको कहाली लाग्दो अवस्था–घाटकै हाहाकार, छरपस्ट लास, चितामा पुग्न कुरिरहेका शव, अनि आफन्तहरुको रोदन।

टेलिभिजनमा मात्र देखिएका यस्ता दृश्य उनले आफ्नै आँखाअगाडि देखिइरहेकी थिइन्।

आर्यघाटमा पनि शवका लाइन थिए। सैनिकहरु एकपछि अर्को गर्दै शव जलाइरहेका थिए।

तप्प आँसु झर्‍याे।

‘अहो १ म कुनै सपना देखिरहेकी थिइनँ। भारतको दृश्य नेपालमा पनि दोहोरिएको रहेछ।,’ रोशनी शाहीले भनिन्।

पेशाले उनी नर्स। आफ्नैअगाडि कैयौंको मृत्यु देखिन्। कैंयौंलाई बचाउन कोसिस गर्दागर्दै प्राण त्यागे भने कतिलाई चाहेर पनि अस्पतालमा उपचार दिलाउन सकिनन्।

हाल गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक कक्षमा कार्यरत शाहीले स्वास्थ्य सेवा बलियो नहुँदा र समयमै तयारी नहुँदा महामारीले कसरी तहसनहस बनाउँछ भनेर आफैँले महसुस गरिन्।

कोरोना संक्रमित बिरामीलाई अस्पतालमा शय्या तथा उपचारको अभाव त खट्कियो नै। तर स्वास्थ्यकर्मी भएर कसलाई बचाउने र कसलाई नबचाउने समेत निर्णय लिनुपर्ने अवस्थाले धर्म संकटमा पारेको थियो उनलाई।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत रहँदा आईसियु विभाग समाल्ने उनले दुई विरामी बीच पनि छनोट गर्नुपर्ने अवस्था आएको थियो।

‘हामीसँग एउटैमात्र भेन्टिलेटर थियो, तर दुई बिरामीलाई यसको आवश्यकता थियो। एक थिइन् भर्खरकी किशोरी, सडक दुर्घटनामा परेर गम्भीर घाइते। अर्को ७० वर्ष कटेको वृद्धा। दुवैको अवस्था नाजुक थियो। कसलाई उपचार गर्ने र कसलाई नगर्ने।
निर्णय लिन एकदमै गाह्ये भयो।

किशोरीलाई शल्यक्रिया गरेर भेन्टिलेटरमा केही दिन राख्दा बाँच्ने सम्भावना थियो भने वृद्धालाई आफन्तहरुले लामा घरमा लाने तरखर नै गरिरहेका थिए।

‘त्यसैले हामीले तुरुन्त निर्णय लियौं, किशोरीलाई भेन्टिलेटरमा राख्यौं भने वृद्धालाई चाहिने औषधि चलायौं। तर बिडम्बना दुवैलाई बचाउन सकिएन,’ उनले भनिन्।

किशोरीको आन्तरिक रक्तश्रावका कारण मृत्यु भयो। त्यसपछि उनी रहेको भेन्टिलेटर खाली गरेर वृद्धालाई राखियो। तर उनको पनि कही घण्टामै मृत्यु भयो।
०००
भनिन्छ नि, ‘द स्मलेस्ट कफिन्स आर द हेबियस्ट’

सानो उमेरका मानिसहरुको मृत्युले धेरै नै मन पोल्ने रहेछ।

युवाहरु धमाधम मृत्युको मुखमा पुग्दा नराम्ररी मन चिमोटिएको थियो उनको।

संक्रमणले भर्खरका युवालाई मृत्युको मुखमा पुर्‍याउँदा मन थाम्नै गाह्ये भएको थियो।

जिन्दगी बाँच्नै बाँकी थियो। धेरै कुरा सिक्नै बाँकी। तर कोरोनाले उनीहरुको सपना खोसेर लग्यो।

‘स्वास्थ्यकर्मी भएर पनि उनीहरु मृत्युको मुखमा परेको हेर्नुपर्‍याे,’ शाहीले भनिन्।

अस्पतालमा आइसीयू, भेन्टिलेटरको अभावमा मानिसहरुले अनाहकमै ज्यान गुमाईरहेका थिए।

‘संक्रमित बिरामीको आइसीयू कुर्दाकुर्दै मृत्यु भयो। न आफूले केही गर्न सक्थेँ, न बचाउन सक्थेँ। तर स्रोत अभावका कारण मेरो बिरामी मर्नुपर्‍याे। यो सोचेर नरमाइलो लागेको थियो। आफू बेहोसमै छु जस्तो भान भएको थियो,’ उनले भनिन्।

‘हामी दोस्रो लहरका लागि तयार नै थिएनौं, तयारी नपुगेकै कारण निर्दोष मानिसहरुले ज्यान गुमाउनुपर्‍याे।’
०००
हुन त विरामीहरुलाई जोगाउन स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीहरुले कुनै कसर छाडेका थिएनन्।

डर, भोक, पीडाका बीचमा पनि स्वास्थ्यकर्मी पेशाको इज्जत जोगाउन सकेको प्रयास नगरेको पनि होइन।

‘नर्सिङ पेशा सुरु गरेयता पहिलो पटक महामारीको सामना गर्नुपर्‍याे। त्यसमाथि पिपिई के हो भन्ने पनि जानकारी थिएन। अस्पतालमा न त पिपिई थियो, न त सुरक्षाका लागि अन्य साधन,’ उनले भनिन्।

पहिलो कोरोना संक्रमित नेपालमा भेटियो भन्ने खबरले मुटु काँपेदेखि पिपिईभित्र गुम्सिएर ७ दिनसम्म नसुती बिरामीको सेवा गरेको याद छ उनलाई।

‘भोक र प्यास त छँदै छ, महिनावारीको समयमा डाइपर लगाएर पनि काम गर्‍यौँ। अस्पतालले नर्सहरुका लागि मिन्सुरल कप (प्याड) को व्यवस्था गरेको थियो। तर १२÷१३ पिपिई, दुई वटा मास्क लगाउँदा हात बाफिने, निसासिने, गर्मीले शरीर पुरै भिज्दा महिनावारीको स्वच्छतालाई ध्यानै दिन सकेनौं,’ उनले सम्झिइन्।

आफ्नो काम सकेर आराम गर्न जाँदा हरेक दिन टाउको दुखाइ तथा अन्य शारीरिक पीडासँगै सुत्नुपरेका दिन अझै ताजा लाग्छन् उनलाई।
०००
आफ्नै इच्छा र घरसल्लाहमा उनले यो पेशा रोजेकी थिइन्।

बच्चैदेखि आमाबुबा विरामी हुने, अनि पटक–पटक अस्पताल लैजानुपर्ने, आइसीयू भर्ना गर्नुपर्दाको पीडा भुलाउन गाहाे थियो। ‘आफैं नर्स भएपछि आमाबुबाको उपचार गर्ने अठोटले नर्स बनायो मलाई,’ उनले भनिन्।

काठमाडौं विश्वविद्यालयको स्कूल अफ साइन्सबाट आइएस्सी गरिन्। नर्सिङको लागि राजिव गान्धी विश्वविद्यालयअन्र्तगत कृपानिधि कलेज अफ नर्सिङमा गइन्।

पढाई पूरा गरेर फर्किइन्। तर भारतमा नर्सिङ पढेर आएका विद्यार्थीहरुलाई मान्यता नदिने, प्रयोगात्मक शिक्षाको कमी तथा अस्पतालका नियमहरु अलग हुने जस्ता विवादमा फसिन्।

भारतको पढाइ नेपालको भन्दा गुणस्तर नहुने, इक्युभ्यालेन्ट फरक भएको हल्लाले उनको करिअरमा केही समय धक्का लाग्यो।

केही महिना अस्पतालहरुमा काम पाउन पनि गाहाे भयो। तर मिहिनतको फलस्वरुप हालसम्म यो पेशामा कुनै ब्रेक नलागेको उनी बताउँछिन्।
०००
सानैदेखि फिल्म, टेलिभिजनमा हेरेकी थिइन्–नर्सले बिरामीलाई हेर्ने, औषधि दिने, रगत लिने, सिपिआर दिने, भेन्टिलेटरमा राख्ने जस्ता काम गर्थे।

तर नर्सिङ पेशासम्बन्धी उनको सोच र वास्तविकतामा धेरै भिन्नता पाइन्।

‘विद्यार्थी नर्स रहँदा पहिलो पटक प्रयोगात्मक शिक्षाका लागि वृद्धाश्रम लगियो। जहाँ बिरामीलाई नुहाईदिने, नङ काटिदिने, अस्पतालका ट्रलीहरु पुछ्ने, टेबुल पुछ्ने काम दिइयो, लौ १ नर्सहरुको काम यस्तो पोरु कतै मैले गलत पेशा त चुनिनँ। मैले सोचेको पेशा नै होइन यो, भन्ने लागेको थियो मलाई,’ साहीले भनिन्।

तर सिक्दै जाने क्रममा उनले बुझिन्–खासमा यी सबै काम सिकाइको एउटा पाटो रहेछ।

‘पछि बुझ्दै गएँ। विरामीको हेरबिचार गर्ने, सरसफाइ गर्ने पनि त नर्सकै काम रहेछ। शुरुमै दौडिन सकिँदैन रहेछ। हामीलाई बामे सर्न पो सिकाइएको रहेछ,’ उनले भनिन्।

विस्तारै उनले पर्सनल केयर, मेडिकल तथा लाइफ सपोर्टका विधि सिक्न पाइन्। अहिले त आईसीयूकै बिरामीको हेरचाह गर्न सक्छिन्।

‘अब पो रमाइलो लाग्न थाल्यो। नर्सको जिम्मेवारी एउटैमा मात्र सीमित रहेनछ। हाम्रो काँधमा त सिंगो जिवन रहेछ,’ उनले भनिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *