कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा मृत्युका सबैभन्दा बढी केश छन्। अमेरिकामा मात्र ६ लाख ६ हजार २१६ संक्रमितको निधन भएको छ। यो कुल संख्याको १५ प्रतिशत हो।

सबैभन्दा बढी मृत्यु हुने संख्याको आधारमा ब्राजिल दोस्रो नम्बरमा रहेको छ। ब्राजिलमा संक्रमणकै कारण ५ लाख २८ हजार ५४० ले ज्यान गुमाएका छन् भने तेस्रो नम्बरमा रहेको भारतमा ४ लाख ४ हजार २११ जनाले ज्यान गुमाएका छन्।

अमेरिकी र युरोपियन मुलुकमा कोरोनाका नयाँ भेरियन्टको संक्रमण र मृत्युदरमा कमी आइरहेको बताइएको छ। यसको एक कारण अधिकांशले कोरोनाविरुद्धको खोप लगाइसक्नु पनि रहेको छ। तर, केही विकाशशील मुलुकमा भने संक्रमण अझै भयावह रुपमा नै रहेको छ।

जस्तो कि, इन्डोनेसिया। जहाँ दिनहुँ संक्रमणको दैनिक तथ्यांकले रेकर्ड कायम गरिरहेको छ। बुधबारमात्रै ३४ हजार ३७९ नयाँ संक्रमित थपिएका छन् भने १ हजार ४० संक्रमितले ज्यान गुमाएका छन्। यो इन्डोनेसियाका लागि हालसम्मकै उच्च हो।

इन्डोनेसियामा अक्सिजन, बेड, आवश्यक स्वास्थ्य सामाग्रीको अभाव देखिएको छ। स्वास्थ्य विज्ञले इन्डोनेसियामा केही दिनमै दैनिक संक्रमणको तथ्यांक ६० देखि ७० हजारसम्म पुग्ने चेतावनी दिएका छन्।

विश्वमा संक्रमितको संख्या ह्वात्तै बढाउनुमा कोरोनाको डेल्टा भेरियन्ट कारक हो। यसलाई निकै संक्रामक र खतरनाक मानिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार नयाँ भेटिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढीमा यसै भेरियन्टको संक्रमण देखिएको छ।

जोन हप्किन्स विश्वविद्यालयकाअनुसार अहिले विश्वमा औसतमा दैनिक ७ हजार ९ सय बढीको संक्रमणकै कारण ज्यान गइरहेको छ। यो गत जनवरी ४६ प्रतिशतले कम हो। किनकि, जनवरीमा यो संख्या १४ हजार ७०० रहेको थियो।

गत सेप्टेम्बर १८, २०२० मा मृतकको कुल संख्या १० लाख पुगेकोमा त्यसको ११५ दिनपछि नै सो संख्या २० लाख पुगेको थियो। २० लाख पुगेको ८८ दिनपछि ३० लाख पुगेको थियो भने ३० लाख पुगेको ८९ दिनपछि ४० लाख पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय