उपत्यकामा भारी वर्षा, शनिबारसम्मै देशभर मनसुन सक्रिय

आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आगामी शनिबारसम्मै अहिलेको मनसुनी वायुको प्रभाव रहिरहने प्रक्षेपण गरेको छ। जसले देशभर वर्षाको सम्भावना रहेको छ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैले उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय