ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार

कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ। पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आउँदो असार २५ र २६ गते लगाउन लागिएको हो।
पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पनि पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए।
गोदावरीमा शुक्रबार लगाइने
गोदावरी नगरपालिकाका १४ वडामा उक्त खोप शुक्रबार लगाइने भएको छ। खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नं १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय तथा आनन्दवन अस्पताल एवं वडा नं ११ कार्यालयबाटसमेत सेवा दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।